+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

युट्युबका नेपाली ‘भान्सा’हरू, जहाँ पाक्छ हजारौं दर्शकका लागि खाना

रेसिपीबाट नेपाली खानाको प्रवर्द्धन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते १४:००

food_1140 copy

तपाईँको भान्सामा आज के पाक्दै छ ? खाजामा के बनाउने योजना छ ? अनि स्न्याक्स के बनाए गज्जब होला ? केही नयाँ प्रयास गर्ने सोच भए पनि अल्मलिनुभएको छ भने युट्युब तपाईँका लागि उपयोगी हुन सक्छ । जहाँ आफ्नै अभ्यासले खारिएकादेखि एक से एक नेपाली भान्सेहरू पाककला सिकाउन तम्तयार छन् ।

त्यसो त युट्युवमा भारतीय र अन्य विदेशी खानाको रेसिपी सिकाउने थुप्रै च्यानल नभएका हैनन् । तर, नेपाली च्यानलहरूको विशेषता के भने, चाट्टचुट्ट जिब्रो फड्कार्न बाध्य पार्ने मौलिक नेपाली स्वाद सबैसामु ल्याएका छन् ।

खानाको स्वादलाई माथ दिने प्रस्तुति

भर्चुअल दुनियाँका यी भान्सेहरू युट्युब भिडियोमा खानाको रेसिपी पस्किएर संसारलाई नेपाली स्वाद चिनाइरहेका छन् । भिडियोमा कोही रेसिपी मात्र लेख्नेहरू छन् त कोही अंग्रेजी भाषाबाट रेसिपी बुझाउनेेहरू छन् । कोही भने खानाकै स्वाद झल्काउने गरी सरल नेपाली भाषामा मीठो शैलीमा पकाउने तरिका सिकाउँछन् ।

YUMMY NEPALI KITCHENयस्तै स्वादिलो शैलीमा रेसिपी सिकाउँछिन् काठमाडौंकी एक गृहिणी । युट्युबमा ‘यम्मी नेपाली किचेन‘ नामक च्यानल चलाउने उनी आफ्नो नाम खुलाउन रुचाउँदिनन्, च्यानलको नामलाई नै आफ्नो सिंगो परिचय मान्छिन् । कतिपय भ्यूअरले उनको भिडियोमा कमेन्ट लेख्ने गरेका छन् – ‘कति मीठो स्वर ! तपाईंले त जाउलो पकाएको रेसिपी ल्याउँदा समेत मीठै लाग्दो हो ।’

अहिलेसम्म भिडियोमा अनुहारसमेत नदेखाएकी उनको सोच छ, पाँच सय इपिसोडपछि राम्रो सेटअप बनाएर आफैं भिडियोमा आउने । भ्यूअरहरू भनिरहन्छन्, यति मीठो बोली भएको मान्छेलाई भिडियोमा देख्न पाए हुने । अहिले भने उनले बनाएका परिकार मात्र भिडियोमा देख्न पाइन्छ । विभिन्न रेसिपीका एक सयभन्दा बढी भिडियो छन् । च्यानलका करिब १३ हजार सब्सक्राइबर छन् ।

एक वर्षदेखि रेसिपीको भिडियो राख्न थालेकी उनले यस्तो च्यानल किन सुरु गरिन् त ?

‘युट्युबमा रेसिपीका सबै च्यानल कि त अंग्रेजीमा थियो कि त हिन्दीमा’, उनले सुनाइन् – ‘नेपाली भाषामा भयो भने कस्तो राम्रो हुन्छ होला भनेर सुरु गरेँ । छोटो समयमै धेरै सपोर्ट र माया पाएकोले नयाँ-नयाँ रेसिपीको भिडियो बनाउँदै आएकी छु ।’

सबै भिडियोमा गरी दैनिक २० देखि २५ हजारसम्म भ्यू रहेको उनले तीन महिनादेखि च्यानलको मनिटाइज पनि सुरु गरेकी छन् । आफ्नै रुचिले रमाउँदै सुरु गरेको रेसिपीको भिडियोबाट मासिक एक सय डलर कमाउन थालेकी छिन् । तर, पैसाका लागि नभई आफ्नो रुचि भएकाले रेसिपीको भिडियो बनाउने गरेको उनको भनाइ छ ।

Yummy-Food-Worldअर्की छिन् ‘यम्मी फुड वर्ल्ड‘ च्यानलबाट परिकारको मज्जा चखाउने मृस्टिना महर्जन । काठमाडौं थानकोटकी उनी नर्सिङ अध्ययनका क्रममा तीन वर्षयता जर्मनीमा बस्छिन् । आफैं खानाको पारखी भएकाले जानेको कुरा अरुलाई बाँड्न उनले नेपाली भाषाको च्यानल सुरु गरेकी हुन् ।

मृस्टिना आफूलाई युट्युबमा उदाउँदै गरेकी भान्से भनेर चिनाउँछिन् । भर्खर चार महिनाअघि भिडियो राख्न थालेकी हुन् । उनको च्यानलमा अहिलेसम्म विभिन्न परिकारका ४९ वटा भिडियो छन् । बल्ल तीन हजार तीन सय सब्सक्राइबर रहेको च्यानलमा यो संख्या बढाउन उनी नयाँ-नयाँ रेसिपी पस्किन हतारिइरहन्छिन् ।

रेसिपी बनाउने क्रममा उनी सोच्छिन्, सबैले बुझ्ने सरल भाषा होस् । भन्छिन् – ‘मान्छेहरूले राम्रोसँग बुझ्ने गरी हरेक महत्वपूर्ण स्टेपलाई प्रस्टसँग भन्ने गर्छु । अहिले नेपाली खानाको रेसिपी मात्र राखे पनि भ्यूअर्सहरूको रुचिअनुसार विस्तारै अरु पनि राख्छु । जुन खानेकुराको रेसिपी बनाउन धेरै रिक्वेस्ट आउँछ, त्यसैको बनाउने गर्छु ।’

युट्युबकै कमाइबाट क्यामेरादेखि ल्यापटपसम्म

च्यानलको नाममा ‘यम्मी’ झुन्ड्याएर परिकारको भिडियोबाटै स्वादले हुरुक्क पार्ने युटुयुब लोकमा नेपाली भान्सेहरू यी दुई मात्र हैनन् । अरुको च्यानलको लोकपि्रयता देखेर नयाँ भान्से पनि देखिँदै छन् र यो क्रम बढ्दो पनि छ । हातको मीठो सीप देखाएर नेपाली खानाको प्रवर्द्धनमा तिनले सघाउ पनि पुर्‍याइरहेका छन् ।

अमेरिकामा बस्ने अनुप बज्राचार्यले ‘अनुप किचेन‘ च्यानलबाट सिकारुहरूलाई सजिलो सिकाइ विधि उपलब्ध गराउँदै आएका छन् । करिब ८ हजार सब्सक्राइबर रहेको उनको च्यानलका भिडियोहरू साढे ९ लाख पटकभन्दा बढी हेरिएको छ ।

अनुप किचेनमा चिकेन छोयला, योमरी, चटामरी, ग्वारामरी जस्ता नेवारी परिकारका साथै अन्य परिकारका ५० वटा रेसिपी छन् । भिडियोमध्ये मःमको झोल अचार, चना चटपटे, नेपाली स्टाइलको चिकेन करी जस्ता रेसिपी बढी रुचाइएको छ ।

हाल अमेरिकामा बस्ने ममता गुरुङले ‘ममताजी फुड एन्ड ब्युटी‘च्यानलमा खानाका रेसिपीसँगै मेकअप, ड्रेसअपदेखि हेयरस्टाइलसम्म सिकाउँछिन् । गत वर्षको जनवरीदेखि भिडियो अपलोड गर्न थालेकी उनले ९१ वटा भिडियो बनाइसकेकी छिन् । अंग्रेजीमा रेसिपी बताउने उनले खीर र थिचेको मुलाको अचारदेखि एग बिरयानीसम्मको भिडियो पस्किएकी छिन् ।

ममताकै शैली अपनाएकी छिन् यूके बस्ने सुनिता गुरुङले । ‘चियरफुल स्यानु‘ च्यानलमा फुड र डि्रङ्क रेसिपी, ब्यूटी टिप्स, नेल आर्ट लगायतका छुट्टाछुट्टै प्लेलिस्ट छन् । सौन्दर्यसम्बन्धी भिडियो हेर्नका लागि युट्युब एकाउन्ट खोले पनि पछि उनको सोचले फड्को मारेको रैछ ।

उनले लेखेकी छिन् – ‘अरुका भिडियो हेर्दै जाँदा आफू पनि क्रिएटिभ भएको महसुस भएर आफैंले भिडियो बनाउन सुरु गरेँ ।’ पाँच वर्षदेखि Anup-Kitchenनिरन्तर विभिन्न विधाका रेसिपी पस्किने क्रममा उनले अहिलेसम्म ३० हजार नौ सय ५० सब्सक्राइबर पाइसकेकी छिन् । तीन सय ९६ वटा भिडियो छन् । ती भिडियोहरू ८३ लाख भन्दा बढी पटक हेरिएका छन् । अझ खुसीको कुरा, युट्युब भिडियोकै कमाइबाट सुनिताले डीएसएलआर क्यामेरा र म्याकबुक एयर समेत जोडेकी छन् ।

यूकेमै बस्ने रश्मी गुरुङले कुकिङ, ब्यूटी र लाइफस्टाइलका भिडियो अपलोड गर्छिन् । भिडियोमा अघिल्लो दिन शृंगारको कुरा गरिरहँदा भोलिपल्ट मु्लाको अचार, सिस्नुको तरकारी, राज्मा करी, चिप्स चिल्लीको गफ गर्छिन् ।

नेपालीको खानपिन ट्रेन्डः मासु र स्न्याक्समा रुचि

‘यम्मी नेपाली किचेन’ की भान्सेले रेसिपी बनाउँदा नेपाली बजारमा सजिलै पाउने सामग्री होस् भन्नेमा जोड दिन्छिन् । ता कि आफ्नो भिडियो हेरेर सबैले आफ्नो घरमा सजिलै ट्राइ गरुन् । भिडियो हेर्नेहरू पनि नेपाली परिकार र त्यसमा पनि हरेक भान्सामा पाउने सामानबाट रेसिपी बनाउँदा बढी रमाउँदा रहेछन् । रेसिपी फलो गरेर पकाउँदा खानेकुरा सारै मीठो भएको जानकारी पाएपछि उनलाई निकै सन्तुष्टि मिल्छ ।

नेपाली परिकारका साथै उनी इन्डियन र चाइनिज खाना पनि बनाउँछिन् । उनको रेसिपी नेपाल र विभिन्न देशमा बस्ने नेपालीहरूका साथै विदेशीले समेत हेर्ने गरेका छन् । विदेशीले रेसिपी सबै लेखेर पठाउन र सबटाइटल राख्न आग्रह गर्दा रहेछन् ।

प्राप्त भएका कमेन्ट अनि मेसेजबाट हेर्दा आफ्नो च्यानलबाट नेपाली खानाको प्रवर्द्धन भइरहेको उनलाई लाग्छ ।

एक छोरा र एक छोरीकी आमा उनले रेसिपी च्यानल सुरु गर्नुको पनि कहानी रैछ । सुनाउँछिन् – ‘आमाबाट र टीभी हेरेर खाना बनाउन सिकेकी हुँ । घरमा सधैं रेसिपीहरू ट्राइ गर्थेँ, मीठो पनि हुन्थ्यो । त्यही भएर हस्बेन्डले च्यानल सुरु गर्न सुझाव दिनुभयो ।’

एक वर्षको युट्युब पाक शिक्षाबाट उनले नेपालीहरूको खानपिन ट्रेन्ड पनि बुझ्न पाएकी रैछिन् । भन्छिन् – ‘धेरैजसो मासु र स्न्याक्सको रेसिपी बनाउन अनुरोध आउँछ । विशेष गरी कुखुराको मासु आइटम बढी रुचाएको पाउँछु ।’ उनको च्यानलमा बढीजसो चिकेन मःमः र नेवारी आइटम सर्च गरेका छन् ।

Food

यम्मी फुड वल्र्डकी मृस्टिनाले अपलोड गरेका भिडियोमध्ये पनि ‘खसीको मासु’ रेसिपीलाई धेरैले रुचाएका छन् । नेपालदेखि अनेक समुद्रपारि भए पनि उनी जर्मनीबाट सुकुटी कसरी बनाउने र जुजुधौ कसरी जमाउने भनेर सिकाइरहेकी हुन्छिन् । गुन्द्रुक र सुकुटी जस्ता सामान जर्मनीमा नपाए पनि त्यहीँका नेपाली साथीहरूसँग ऐंचोपैंचो गरेर काम चलाउँछिन् । आफू नेपाल आएको बेला फेरि लगेर सबै साथीलाई बाँड्छिन् ।

रेसिपी बनाउँदा मज्जा लाग्ने कुरा के छ त ?

उनी खुसी साटि्छन् – ‘मीठो-मीठो खानेकुरा बनाउने, आफैं पनि खाने अनि त्यसमाथि पैसा पनि आउने । यो भन्दा राम्रो अरु के होला र !’

स्वादिलो रेसिपी बनाएको हेर्दा मुखमा पानी आए पनि भिडियो बनाउँदा लाग्नेे दुःख भने आफ्नै ठाउँमा छ । पकाएको भिडियो खिच्न मृस्टिनालाई २ देखि ३ घन्टा लाग्छ । भिडियो बनाएर इडिटिङ गर्दा कम्तीमा पनि ६-७ घन्टा लाग्दो रहेछ । पकाउने बेला धन्न उनलाई एकजना साथीले क्यामेरा मिलाउन सहयोग गर्ने रैछन् । इडिटिङ आफैं गर्छिन् । इन्टरनेटबाट हेरेर अभ्यास गर्दै अहिले पारंगत भइसकेकी छिन् ।

यी २५ वर्षे खाना पारखीलाई भिडियोको कमेन्टमा दिदीदेखि अन्टीसम्म सम्बोधन गर्नेहरू धेरै छन् । यसो हुनुको कारण उनको स्वर केही ‘बोल्ड’ छ । नेपाल छँदा आमा र बुवाबाट खाना बनाउन सिकेकी उनले जमलमा ६ महिना कुकिङ तालिम पनि लिएकी थिइन् । अहिले नेपाली खानाको रेसिपीमा केन्द्रित उनको सोच छ – ‘पछि भ्युअर्सको मागअनुसार विदेशी खानाहरूको पनि बनाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?