प्रिय काठमाडौं !
तिमी भेट्नुअघि –
बिना आकारको काँचो माटो थिएँ – म
जुँगाको रेखी बस्दै गरेको – किशोर
सबैको भाइ थिएँ – म
हेर त थाहै नपाई
साझा बसमा यात्रा गर्दागर्दै
म त धेरैको दाजु भइसकेछु
असन र नयाँ सडकको भीडमा हिँड्दाहिँड्दै
म त धेरैको काका भइसकेछु
अझ बाबुमा बढुवा भएर
बाजेमा पदस्थापन हुँदै छु
प्रिय काठमाडौं !
तिमी भेट्नुअघि
सपनाको रित्तो झोला मात्र थिएँ – म ।
आफैंभित्र बोकेर असन्तुष्टि
आफैंभित्र बोकेर पीडा
अहो ! कुन कष्टले गुजारेँ
मैले आफ्ना चार दशक लामा यात्राहरु
कुन अभाव र सङ्घर्षमा झेलेँ
मैले तिम्रा कुरुप निर्दयी समयहरु ।
म देख्दै छु
नजिक एकदमै नजिक
आउँदै छ एउटा दुर्घटना
तिमीसँग पारपाचुके गर्नुपर्ने सिमाना
प्रिय काठमाडौं !
एकदिन मैले नाता तोड्नैपर्छ तिमीसँग
थाहा छैन – कुन ठाउँमा –
कहाँ…
कसरी…
कुन समय तोडिन्छ त्यो नाता
आर्यघाटको दागबत्तीमा
या मेरो जन्मथलो भोजपुरको डाँडामा
या कर्मथलो इलामको चियाबारी पाखामा
प्रिय काठमाडौं !
तिम्रो गुणको आशिष् मेरो शिर
तिम्रो दुर्गुणको भारी मेरी पीर
म जहाँ जाऊँ
जता जाऊँ
मेरो अमर सम्झना छ तिमीलाई
मेरो अगाध माया छ तिमीलाई ।
(‘कवितामा काठमाडौं’ ०६० बाट साभार ।)
प्रतिक्रिया 4