२७ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।
ज्ञवालीले साँझ ६ बजेतिर बर्खास्ती पत्र बुझेका छन् । मन्त्रिपरिषदको बुधबारको बैठकले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । साथै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ सीईओमा गोविन्द पोखरेल नियुक्त गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा एकपछि अर्कै गर्दै नतिजा आइरहेको भन्दै ज्ञवालीले आफूलाई हटाउने निर्णयले आश्चर्यमा परेको बताए ।
हालै सरकारले सोधेको स्पष्टीकरणमा आफूले जवाफ दिएको भन्दै उनले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘त्यसमा गम्भीर छलफल गरी पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुलाई अघि बढाउनु पर्नेमा प्रमुख कार्यकारी पदबाट हटाउने गरी आज मिति २०७३ पौष २७ गतेका दिन भएको निर्णयले समग्र पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरुलाई प्रभावित गर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक छ ।’
भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र आफू पाँच वर्षका लागि नियुक्ति भएको भन्दै उनले बर्खास्त गर्ने निर्णयलाई अन्यायपूर्ण भनेका छन् । साथै उनले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।
प्रतिक्रिया 4