+
+

मतदाता नामावली टुंग्याउने डेडलाइन प्रभावित

दुई नम्बर प्रदेशका कारण निर्वाचन तालिका तलमाथि हुने डर

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २० गते १०:५२

 

२० चैत, काठमाडौं । दुई नम्बर प्रदेशमा मधेसी मोर्चाबाट अवरोध भइरहेको र यसको समाधानका लागि राजनीतिक सहमति जुट्न नसक्दा निर्वाचन कार्यतालिकामा असर पर्न थालेको छ ।

वैशाख ३१ हुने हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आज चैत २० गतेसम्म मतदाता नामावली टुंग्याउने कार्यतालिका थियो ।

तर, मतदाता नामावली टुंगो लगाउन २ नम्बर प्रदेशको अवरोधका कारण समस्या परेपछि मतदाता परिचयपत्र छाप्ने कार्य पनि अन्यौलमा परेको छ ।

स्थानीय तहका साथै जिल्ला निर्वाचन कार्यालयमा मधेसी मोर्चाको अवरोध तथा तालाबन्दीका कारण दुई नम्बर प्रदेश अन्र्तगतका ८ जिल्लाको मतदान केन्द्रहरु अहिलेसम्म तोक्न सकिएको छैन । जसका कारण त्यस क्षेत्रको मतदाता नामावली समेत टुंग्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ ।

हरेक मतदाताको मतदान केन्द्र तोक्ने र त्यसलाई परिचय पत्रमै राख्नु पर्नेछ । तर, आयोगले दुई नम्बर प्रदेशमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसक्दा त्यहाँको नामावली समेत टुंग्याउन नसकेको हो ।

यससँगै मतदाता परिचय पत्र छपाइको काममा समेत अन्यौल आएको छ ।

अब के हुन्छ ?

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न र नामावली टुंग्याउन नसकेको स्वीकार गर्छन् । त्यहाँको सन्दर्भमा सरकारबाट राजनीतिक असमझदारी चाँडै हल हुने खबर आएकाले केही दिनमै त्यहाँ बाँकी रहेका कामहरु गर्ने उनले बताए ।

आयुक्त दाहालले भने, ‘६८ जिल्लाको मतदान केन्द्र टुंगिएको छ, त्यहाँको नामावली पनि करिब-करिब टुंगीयो । अब त्यहाँको काम गर्दै गर्छौं ।’

मतदाता परिचय पत्र छपाइका लागि निर्वाचन आयोग परिसरमै छपाइ मेशिन जडान गरी तयारी अवस्थामा राखिएको छ । तर, अहिलेसम्म मतदाता नामावली नै नटुंगिएकाले आयोगको कार्यतालिका नै प्रभावित बन्नसक्छ । आयुक्त दाहालले भने, ‘निर्वाचन आउन अझै ४२ दिन बाँकी छ, आत्तिहाल्नु पर्ने स्थिति छैन ।’

तर, आयोगकै अर्का एक आयुक्तले भने बैशाख ३१ गतेको निर्वाचन गराउन आयोगसँगै सरकारबाट पनि पर्याप्त प्रयास नदेखिएको टिप्पणी गरे । उनले भने, ‘केही दिनअघिको भेटमा प्रधानमन्त्रीले तुरुन्तै राजनीतिक असमझदारी हल हुन्छ भन्नुभएको थियो तर, अहिले अझै राजनीतिक तरलता बढेको छ । यसले हामीलाई सशंकित बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?