६ जेठ, काठमाडौं । मन्दारिन चिनियाँ भाषामा लेखिएको उपन्यास ‘ताइवान ट्राभलग’ ले यस वर्षको बुकर प्राइज जितेको छ। मूल रूपमा मन्दारिन भाषामा लेखिएर विश्वकै प्रतिष्ठित इन्टरनेसनल पुरस्कार जित्ने यो पहिलो पुस्तक बनेको छ।
मङ्गलबार साँझ लन्डनको टेट मोडर्नमा आयोजित एक विशेष समारोहमा ताइवानी लेखिका याङ सुआङ जी र ताइवानी-अमेरिकी अनुवादक लिन किङलाई विजेता घोषणा गरिएको हो। उनीहरूले झन्डै ८५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार राशि प्राप्त गरेका छन्, जुन लेखक र अनुवादकबीच बराबर बाँडिनेछ। यो पुरस्कार जित्ने उनीहरू पहिलो ताइवानी र ताइवानी-अमेरिकी नागरिक हुन्।
सन् १९३८ को जापानी शासनको अधीनमा रहेको ताइवानको पृष्ठभूमिमा लेखिएको यस उपन्यासमा एक जापानी लेखिकाको कथा छ। ती लेखिका ताइवानको पाककलाको यात्रामा निस्कन्छिन् र त्यही क्रममा आफ्नी दोभाषेसँग प्रेममा पर्छिन्।
यो उपन्यासलाई एउटा पुरानो यात्रा संस्मरणको अनुवाद जस्तो गरी प्रस्तुत गरिएको छ। यसमा पुस्तकका पात्रहरूका काल्पनिक फुटनोट र अनुवादक किङका ‘वास्तविक’ फुटनोटहरू पनि समावेश छन्। जुरी प्यानलकी अध्यक्ष तथा उपन्यासकार नतासा ब्राउनले यो लेखन शैलीको तारिफ गर्दै भनेकी छन्, ‘यो पुस्तकले रोमान्स र औपनिवेशिक उत्तरार्धको तीखो उपन्यासको रूपमा दोहोरो सफलता प्राप्त गरेको छ।’
बुकर प्राइजको वेबसाइटलाई दिएको अन्तर्वार्तामा लेखिका याङले उपन्यासको प्रेरणाबारे भनेकी छन्, ‘कोरिया र ताइवान दुवै एक समय जापानी साम्राज्यका उपनिवेश थिए। तर, कोरियालीहरू उक्त इतिहासप्रति एकसमान रूपमा असन्तुष्टि व्यक्त गर्छन् भने ताइवानीहरू यसलाई घृणा र नोस्टाल्जियाको मिश्रित र द्वन्द्वात्मक दृष्टिकोणले हेर्छन्। म समकालीन ताइवानी दृष्टिकोणबाट यही जटिल परिस्थितिलाई केलाउन चाहन्थेँ।’
याङ उपन्यासका साथै निबन्ध, मङ्गा र भिडियो गेमका स्क्रिप्टहरू पनि लेख्छिन्। नब्बेको दशकमा ताइवानी रोमान्स उपन्यासहरूको बढ्दो लोकप्रियताबाट प्रभावित भएर उनले लेख्न सुरु गरेकी थिइन्। त्यसैगरी, अनुवादक किङ पनि मौलिक आख्यान लेख्छिन् र उनको पहिलो उपन्यास ‘वीब’ छिट्टै प्रकाशित हुँदैछ।
प्रतिक्रिया 4