Comments Add Comment

‘आन्दोलन गर्ने वीरगञ्ज, राजधानी पाउने जनकपुर ?’

४ माघ, वीरगञ्ज । प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगञ्जमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगञ्ज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रादेशिक राजधानीका लागि जारी आन्दोलनमा समर्थन बढ्दै गएको संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए । ‘आन्दोलन गर्ने वीरगञ्ज, सबै कुरा गुमाउने वीरगञ्ज तर राजधानी जनकपुर ? मधेसका मसिहा भन्नेहरुलाई वीरगञ्जलाई बर्बाद गर्न खोजेका छन् । हामी त्यसो हुन दिने छैनौं’ उनले भने ।

आन्दोलनमा बिहीबार उद्योग वाणिज्य संघले पनि समर्थन जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले वीरगञ्ज हरेक हिसाबले राजधानीका लागि सक्षम रहेकोले राजधानीको विकल्प खोज्न नहुने बताए ।

‘वीरगञ्ज जुनसुकै हिसाबले प्रादेशिक राजधानीका लागि योग्य छ, त्यसले यसको विकल्प खोज्नु मुर्खता हो’ उनले भने ‘बरु पर्सा, बारा, रौतहट टुक्र्याउन तयार छौं । तर वीरगञ्जलाई राजधानी बनाउनैपर्छ । यसको विकल्प अरु हुनै सक्दैन ।’

पर्सा कपडा सिलाई संघले पनि आन्दोलनमा समर्थन जनाएको छ । र्‍याली सहित घण्टाघरमा आएर पर्सा कपडा सिलाई संघले आन्दोलनमा समर्थन जनाएको हो ।

तरुण दलका बारा अध्यक्ष लुकेश सिंहले वीरगञ्ज राजधानी नभएसम्म आन्दोलन जारी रहने बताए । ‘वीरगञ्ज जनकपुर भन्दा सुरक्षित छ, आर्थिक हिसाबले सम्पन्न छ, यहाँ सबै अटाउन सक्छन्’ उनले भने ‘त्यतिमात्र होइन वीरगञ्ज आसपासमा राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छ ।’

उनले वीरगञ्जलाई राजधानी घोषणा गर्ने आन्दोलनको नेतृत्व निर्वाचित सांसद र प्रदेश सांसदहरुले लिनुपर्नेमा जोड दिए ।

आन्दोलनकारीहरुले बिहीबार बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगञ्जको घण्टाघरमा बा १२ च ७३६५ नम्बरको कार र ना ४ च ८०३१ नम्बर नम्बरको जिप बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment