+
+

सन्नी लियोनीसँग दाँजेको मन परेन ‘मिस्ट्री गर्ल’ अदितीलाई

यस्तो रहेछ, अनमोल केसीसँगको सम्बन्ध

शिव मुखिया शिव मुखिया
२०७४ माघ ८ गते १३:४३

 काठमाडौं । कश्यप ऋषिकी दोस्री पत्नी एवं देवताकी माता अदितीका बारेमा पुराणहरुमा व्यापक चर्चा पाइन्छ । ऋग्वेदका २० वटा श्लोक त अदितीकै बयानमा खर्चिइएको छ ।

पौराणिक कालकी देवी अदितीको चर्चा अचेल खासै हुँदैन । ग्ल्यामर क्षेत्रमा धमाका मच्चाइरहेकी अदिती बुढाथोकीको भने मिडियामा भरमार चर्चा छ । मिडियाले उनलाई रहस्यमयी पात्र बनाएको छ । मानौं, उनी ‘अर्कै लोककी परी’ हुन् ।

युट्युबलगायत सामाजिक सञ्जालमा अभिनेतृ अदितीलाई खोजियो भने उनको ‘निजी कुरा’देखि ‘लाइफस्टाइल’सम्मका अनेक मसालेदार सामग्री फेला पर्छन् । तीमध्ये कतिपय सामग्री त अतिरञ्जितसमेत छन् । अतिरञ्जनाको यो चक्करमा भारतीय मिडियासमेत फसेका छन् । भारतीय मिडिया लेख्छन्, ‘सनी लियोनीजस्ती बोल्ड एक्ट्रेसलाई पनि मात दिइरहेकी छन्, यी नेपालकी हिरोइन ।’

भर्चुअल संसारले आफूलाई कुनैबेलाकी पोर्न स्टारसँग दाँज्न थालेपछि ‘मिस्ट्री गर्ल’ अदितीले मुख खोल्नैपर्‍यो, ‘सनी लियोनीसँग तुलना गरेकामा म दुःखी छु ।’ सनी पोर्न उद्योगबाट बलिउडमा अवतरण गरेकी हुन् । अदितीको पृष्ठभूमि एकदम भिन्न छ । उनी मोडलिङ हुँदै रजतपटमा पदार्पण भएकी हुन् ।

पछिल्लो पटक अदितीको चर्चाको सन्दर्भ बेग्लै छ । उनको पहिलो फिल्म ‘कृ’ माघ अन्तिम साता प्रदर्शनमा आउँदैछ, जसमा उनले अनमोल केसीसँग स्त्रिmन सेयर गरेकी छन् । यही कारण फिल्म रिलिजअघि नै अदितीले ‘नेम र फेम’ पाइसकेकी छन् ।

फिल्म उद्योगमा आफ्नै ‘स्टारडम’ भएका चकलेटी हिरो अनमोलसँगको अनस्क्रिन रोमान्सलाई लिएर अदितीको चर्चा हुने नै भयो । त्यसबाहेक उनी त्यो रिक्त स्थानमा छिन्, जहाँ नेपाली हिरोइनहरुको उपस्थिति छैन । पछिल्लो छिमलमा खोजिने ‘ग्ल्यामर हिरोइन’मा अदिती फिट छिन् ।

बदलिएकी ‘गाउँले केटी’

छोटो स्कर्ट, हाई हिलमा ठाँटिएकी । कपाल खुला छाडेकी । अनुहारमा हेभी मेकअप त थिएन, ओठमा रसिलो लिपस्टिक दलेकी । अनलाइनखबर कार्यालयमा आउँदा अदितीको सौन्दर्य बान्की यस्तै थियो ।

आमासँगै आएकी अदितीसँग हामीले फिल्म ‘कृ र अनमोल प्रसंगबाटै कुराकानी थाल्यौं । फिल्ममा गाउँले केटीको भूमिकामा रहेकी उनले खुलाउनासाथ हामीले सोध्यौं, ‘तपाईं शहरीया ठाँटकी, कसरी गाउँले केटी बन्नुभयो ?’

‘अनमोल मेरो बेस्ट फ्रेण्ड हुन् । सुपरस्टार भएर पनि उनमा दम्भ छैन । सहयोगी, मिलनसार र समझदार छन् ।’

हुन पनि, अदिती परिवारकी एक्ली छोरी । शहरमा सुख सयलमा हुर्किएकी । कहिले कालिम्पोङ त कहिले काठमाडौंमा बाल्यकाल बिताएकी । घाँस-दाउरा र चुलो-चौका सम्हालेको ख्याल छैन । गाउँले जीवन नै नभोगेकी शहरीया केटीले कसरी आफ्नो भूमिकालाई न्याय गरिन् होली ?

प्रश्न सुनेर उनले पुलुक्क एक पटक आफ्नी आमातर्फ हेरिन् । र, मुसुक्क हाँस्दै स्वाभाविक लयमा भनिन्, ‘गाउँले केटी भन्दैमा अहिले त्यसरी कहाँ अन्डरस्टिमेट गर्न मिल्छ ? शहरीयाजस्तै सभ्य छन् । स्टाइलिस पनि छन् । फेसनेबल छन् । शहर र गाउँका केटीमा अहिले कुनै भिन्नता छैन ।’

अदितीले खुलाएअनुसार फिल्म ‘कृ’मा देखिने गाउँले केटी पनि पुराना फिल्ममा देखाइनेजस्ती पूरै ‘गाउँले टाइपकी’ छैनन् । पहिले-पहिले नेपाली फिल्ममा गाउँले केटा वा केटी देखाउनु पर्दा अनपढ, अशिक्षित, सोझा देखाइन्थ्यो । गुन्यू-चोली लगाएर डोकोमा घाँस बोकिरहेकी वा गाग्रो बोकेर खोलातिर दगुरिरहेकी गाउँले केटी देखाइन्थ्यो ।

‘यस्तो नाटकीय गेटअप अहिलेका दर्शकले पचाउँदैनन् । उनीहरु स्वाभाविक पात्र र चरित्रमा रुझ्न चाहन्छन्,’ अदितीको बुझाइ छ, ‘गाउँले भन्दैमा उहिलेकोजस्तो दुःख पाएको, अबुझ केटी कहाँ अहिले हुन्छन् र ?’

फिल्ममा आफू गाउँले केटी भए पनि अहिलेको परिवेश सुहाउँदो भएको उनले स्पष्ट पारिन् । आफूले उक्त भूमिका पाएपछि गाउँले परिवेश बुझ्ने, त्यहाँको हावापानी अनुभव गर्ने काम भने उनले छुटाइनन् ।

अदितीकै को-स्टार अनमोल केसीले ‘कृ’का लागि आफूलाई सम्पूर्ण रुपमा रुपान्तरण गरेका थिए । बलियो-बांगो देखाउनका लागि उनले दैनिक सेड्युलमा फिटनेस र वर्कआउटलाई बढी समय दिएका थिए । त्यसबीचमा अनमोलले आफ्नो हुलियालाई गोप्यसमेत राखेका थिए ।

के अदितीले पनि यस्तै मिहेनत गरिन् ?

‘अवश्य,’ अदितीको छोटो जवाफ, ‘आफ्नो क्यारेक्टरलाई नेचुरल बनाउन मैले सक्दो मिहिनेत गरें ।’

चाहन्छिन्, ‘लाउड’ भूमिका

सम्भवत ‘कृ’मा त्यही दशा दोहोरिनेछ, जुन यसअघिका फिल्ममा देखिएको थियो । अर्थात्, हिरोको लभ-रोमान्समा साथ दिन मात्र हिरोइनको उपस्थिति । अचेल हिरोइन फ्रन्टलाइनमा छैनन् । उनीहरु फिल्मको ‘स्ट्राइकर’ होइन, ‘डिफेन्स’ लाइनमा सीमित छन् । त्यसैले फिल्ममा हिरोले आफ्नो भूमिकाका लागि जति मिहिनेत गर्छन्, हिरोइनले त्यसअनुरुप गरेको पाइँदैन ।

‘हिरोइनलाई बोल्ड क्यारेक्टर नै दिइएको छैन, जहाँ थप मिहिनेतको जरुरत होस् । लाउड भूमिका दिने हो भने हामी पनि क्यारेक्टरका लागि मिहिनेत गर्छौं नि,’ अदितीले भनिन् ।

‘हिरोइनलाई बोल्ड क्यारेक्टर नै दिइएको छैन, जहाँ थप मिहिनेतको जरुरत होस् । लाउड भूमिका दिने हो भने हामी पनि क्यारेक्टरका लागि मिहिनेत गर्छौं नि’

अदिती गाउँले, शहरिया वा जुनसुकै केटीको भूमिकामा पनि अभिनय गर्न तयार छिन् । उनलाई अभिनय र भूमिकामा विविधता चाहिएको छ ।

‘हरेक फिल्ममा म भिन्नै रुपमा पेश हुन चाहन्छु,’ भन्छिन्, ‘एउटा फिल्ममा मलाई जुन रुपमा देखिन्छ, अर्को फिल्ममा त्यो नदोहोरियोस् ।’

अनमोल कनेक्सन

अदितीको चर्चा हुन्छ, अनमोलसँग जोडिएर । भर्चुअल संसारमा उनीहरुको जोडी हिट छ । यर्थाथमा ?

‘अनमोल मेरो बेस्ट फ्रेन्ड हो,’ अदिती यसभन्दा बढी बोलिनन् ।

अनस्क्रिन पार्टनर अनमोललाई उनले साथीको रुपमा बुझेकी छन् । अझ, हितैषी । उनीहरुबीच फोनमा कुराकानी हुन्छ । भेटघाट हुन्छ । निजी अनुभव सेयर हुन्छ ।

‘अनमोल एकदम राम्रो एक्टर हुन्,’ अदितीको बुझाइ छ, ‘सुपरस्टार भएर पनि उनमा दम्भ छैन । सहयोगी, मिलनसार र समझदार छन् । मलाई उनको यही कुरा मन पर्छ ।’


अद्वितीय अदिती

ग्ल्यामर बजारमा अदितीको चर्चा व्यापक छ भनेर सुनाउँदा उनले आश्चर्य मानेझैं आमातर्फ हेरिन् ।

‘त्यस्तो छ र ?’ आमाले उल्टै प्रतिप्रश्न गरिन् ।

ग्ल्यामर बजारले अदितीलाई अहिले जसरी डिमान्ड गरिरहेको छ, त्यसबारे उनलाई खास हेक्का छैन । वा, वास्ता छैन । करिअरको पूर्वार्द्धमा अदितीले जुन चर्चा पाएकी छन्, त्यो दुर्लभ छ ।

भारतको चर्चित म्युजिक कम्पनी ‘टी सिरिज’को म्युजिक भिडियोमा पनि अदितीले अभिनय गरेकी छन् । युट्युबमा अरु पनि हिन्दी म्युजिक भिडियो देख्न सकिन्छ, जहाँ अदितीलाई फिचरिङ गराइएको छ । भर्चुअल संसारमा अदितीका तस्बिरहरु पनि छ्यापछ्याप्ती छन् । कामुक गेटअपका तस्बिरले पनि धेरैको ध्यान भंग गर्नसक्छ । उनको ‘बिकिनी पोज’ भाइरल भएको छ ।

अदितीको काठमाडौं-मुम्बई आउजाउ चलिरहन्छ । उनी मुम्बईमा आफन्तकहाँ बस्छिन् । आफन्तको एजेन्सी छ, जसमार्फत् उनी म्युजिक भिडियोहरुमा अनुबन्धित हुने गर्छिन् । के उनले बलिउड ताकेकी हुन् ?

‘अहिले यसै भन्न सकिन्न,’ अदितीले भनिन् ।

‘अफर आइहाल्यो भने ?’ हाम्रो प्रश्न ।

उनले संकोच मानिन् यसो भन्दै, ‘ल्यांग्वेज प्रोब्लम छ, हिन्दी स्मुथ्ली बोल्न आउँदैन ।’

अदितीका आनीबानी

हामीले अदितीको आनीबानी, दिनचर्या, रुची, खानपानबारे चासो राख्यौं । उनले हामीलाई बिहानदेखि साँझसम्मका आहार-विहारबारे बताइन्, जुन उहाँ उनकै शब्दमा प्रस्तुत छः

ढिलो उठ्छु

म चाँडै उठ्न सक्दिन । बिहान उठ्दा सात बजेको हुन्छ । अझ जाडो याममा त बिहान आठ बजेसम्म सुत्छु । उठ्नासाथ दुई गिलास मनतातो पानी पिउँछु । बाथरुम जान्छु । बाथरुममा आधा घण्टा बिताउनुपर्छ । फ्रेस हुन टाइम लाग्छ । फ्रेस भइसकेपछि भगवानको नाम जप्छु । पहिला पूजा पनि गर्थें । अचेल रेगुलर छैन ।

मुम्बईमा जिम, यहाँ योग

मुम्बईमा बस्दा र यहाँ मेरो रुटिन अलि मिल्दैन । मुम्बईमा म रेगुलर जिम जान्छु । यहाँ जिम गएकी छैन । बिहान फ्रेस भइसकेपछि योग गर्छु । योग भन्नाले नर्मल योग । पतञ्जली सूत्रबमोजिमका केही आसन प्राणायाम गर्छु । म फिटनेसमा त्यति धेरै सचेत छैन । फिटनेसमा ध्यान त दिनुपर्ने हो तर सकेकी छैन ।

खानाकी सौखिन

मलाई खानेकुरा एकदम मनपर्छ । बिहान योग गरेपछि ब्रेकफास्ट लिन्छु । ब्रेकफास्टमा फलफूल हुन्छ । खासगरी सिजनल प|mुट्स । आज मात्र ओरेन्ज र एप्पल खाएर आएकी । मोस्ट्ली योगार्ट खान्छु, ओट्स खान्छु ।

घरमा बसेका बेला मलाई दिनभर खानेकुराको तलतल लागिरहन्छ । दिउँसो १२ बजे लन्च लिन्छु । माछामासु खान्न । भेजिटेरियन हुँ । खानामा पनिर भने धेरै मनपर्छ । मटर पनिर, पालक पनिर खाइन्छ । ह्वाइट राइस लिने गरेकी छैन, सधैं ब्राउन राइस हुन्छ । खानामा दाल, भात, तरकारी, अचार, साग भए अझ राम्रो । सलाद पनि लिने गरेकी छु ।

दिउँसो घरमै हुँदा खानेकुरा खाइरहेकी हुन्छु । खाना बनाउन जाँगरचाहीं चल्दैन, ममीले बनाइदिनुहुन्छ । कहिलेकाहीं मात्र हो, करले खाना बनाउनुपर्ने । नभए म खाना बनाउँदिनँ । खान मात्र जाँगर चल्ने हो ।

५/६ बजेतिर खाजा खान्छु । खाजा नर्मल हो । जे पाइन्छ, त्यही । घरमा हुँदा ममीले बनाइदिनुहुन्छ, बाहिरचाहीं रेस्टुराँकै खाने हो ।

राति प्रायः हल्का खाना खाइन्छ, ८/९ बजेतिर । हाम्रोमा रोटी खाने चलन छ । राति सबैले रोटी खान्छौं ।

रोमान्टिक फेमेली

मेरो फेमेली एकदमै रमाइलो, हँसीमजाक गर्नुपर्ने खालको छ । ममी, ड्याडी र म तीन जना नै एकदम रमाइलो गर्छौं । एकअर्कालाई हँसाइरहेका हुन्छौं । अहिलेसम्म हाम्रोमा कोही रिसाएको वा उदास भएको थाहा छैन ।

घरमा बसेको बेला हामी रमाइलो गरेर बिताउँछौं । म प्रायः फिल्म हेर्छु । मेरो सानो कुकुर पनि छ । त्यो हाम्रो फेमेली मेम्बर नै हो भने पनि हुन्छ । त्यसैसँग धेरै समय बित्छ ।

मलाई कोठाहरु मिलाउन, चिटिक्क पार्न जाँगर चल्दैन । तर, ममीले मिलाइदिनुहुन्छ । मलाई सबैकुरा चिटिक्क होस् भन्नेचाहीं लाग्छ ।

ड्रेसअप छोटो र छरितो

मलाई स्कर्ट सुहाउँछजस्तो लाग्छ । प्रायः स्कर्ट, वानपिस लगाउने गर्छु । धेरैजसो क्याजुअल । कहिलेकाहीं र्फमल पनि लगाइन्छ । तर, अकेजनल्ली ।

म सपिङकी क्रेजी हुँ । सातामा एक पटक त केही न केही किनिरहेकी हुन्छु । कति लुगा त किनेर लगाएकी पनि छैन । लुगा, जुत्ता त टन्नै छन् । मलाई लुगा लगाउन समय लाग्दैन । एकदमै छिटो छु । १५ मिनटमा रेडी हुन्छु ।

मेकअप खासै गरिन्न

मेकअप गर्न पनि समय लाग्दैन । ५/७ मिनटमै सक्छु । खास मेकअप गर्न आउँदैन पनि । मेरो स्किन टाइपअनुसार नै मेकअप किट्स युज गर्छु । तर, हेभी मेकअप गर्दिनँ । सिम्पल मेकअप गर्छु । आफैं गर्ने भएकाले धेरै मिलाइरहन आउँदैन ।

गहनामा खासै रुचि छैन । प्रायः ममीले नै किनिदिनुहुन्छ । उहाँले जस्तो सुहाउँछ भन्नुहुन्छ, त्यस्तै लगाउने हो ।

सुत्दा सफा लुगा

राति सुत्नुअघि मुख धुनैपर्छ, मलाई । मुख धोएर फ्रेस भएपछि सुत्न मन लाग्छ । सुत्नेबेला सफा लुगा लगाउनुपर्छ । राति लुगा चेन्ज गरेर मात्र सुत्छु । प्रायः ओछ्यानमा गीत सुन्दै निदाउने बानी छ ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?