+
+

सामाजिक सञ्जालले तपाईलाई कति रोगी बनाएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १३:३४

सामाजिक सञ्जाल संसारभर दिनानुदिन लोकप्रिय र शक्तिशाली बन्दै गएको छ । शहर मात्र होइन, गाउँका मानिसहरु पनि सामाजिक सञ्जालमा झुम्मिएका छन् ।

मानिसले आफ्नो व्यक्तिगत पीर-व्यथा र खुशी साट्ने थलो बनाएको सामाजिक सञ्जाल बौद्धिक बहस गर्ने चौतारीसमेत हो । यसका धेरै सकारात्मक पक्षहरु त छँदैछन् तर, पछिल्लो समय विभिन्न दुष्प्रभावहरु पनि उजागर हुन थालेका छन् ।

के हुन्छ सामाजिक सञ्जालको अत्यधिक प्रयोगले ?

सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ र कुन हद पार गर्दा यसको लतमा परेको मानिन्छ ?

यस विषयमा केही अनुसन्धान पनि भएका छन् तर, कुनै ठोस निश्कर्ष दिन सकेका छैनन् । तर, यो तथ्य चाहिँ पुष्टि भइसकेको छ कि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने मानिसहरु मानसिक रोगको शिकार बन्ने खतरा हुन्छ ।
उनीहरुमा प्रायः डिप्रेसन र निद्रा नलाग्ने समस्या देखिने गरेको छ ।

कुनै पनि कुराको लत लाग्नु त्यसमा आवश्यकताभन्दा बढी अभिरुची लिनु मात्रै दर्शाउँदैन । यसको अर्थ यो पनि हो कि तपाईं आफ्नो मानसिक एवं भावनात्मक आवश्यकताका लागि त्यसमा निर्भर हुनुभएको छ ।

यसमा लागेपछि उनीहरु आफ्नो वास्तविक संसारका सम्बन्धहरू नजरअन्दाज गर्छन् । त्यसपछि काम र बाँकी जिन्दगीको बीच जुन तालमेल हुुनुपर्छ, त्यो पनि धर्मराउँछ ।

यो रक्सी वा ड्रग्सको नशाजस्तै हो । अलिकति मुड बिग्रियो कि चुरोट सल्काइहाल्नेजस्तै ।

निद्राको समस्या बढ्छ

बीबीसीले गरेको एउटा सानो सर्वेक्षणमा पाइएको थियो कि यदि कोही व्यक्ति दुई घन्टा वा योभन्दा बढी सामाजिक सञ्जालमा बिताउँछ भने उ पछि गएर डिप्रेसनको शिकार हुन सक्छ र आफूलाई एक्लो महसुस गर्छ ।

हरदम सामाजिक सञ्जालमा बरालिँदा हाम्रो शारीरिक स्वास्थमा पनि नकारात्मक असर पर्छ । राति अबेरसम्म टि्वटर वा फेसबुक हेरिरहँदा निन्द्रा बिग्रन्छ ।

मोबाइल वा कम्प्युटरको स्क्रिनबाट निस्किने निलो प्रकाशले हाम्रो शरीरको ‘बडी क्लक’ लाई नियन्त्रण गर्ने हार्मोन मेलाटोनिनको उत्पादन रोक्छ । मेलाटोनिनले हामीलार्इ निद्रा लागेको महसुस गराउने हो । तर, यसको उत्पादन रोकिँदा अबेरसम्म जागा रहन्छौं । राम्ररी ननिदाउँदा स्वास्थ्यमा धेरै किसिमका समस्याहरु उत्पन्न हुन्छन् ।

लन्डनको सेन्ट थोमस हस्पिटलका डाक्टर चार्ल्स टियक भन्छन्, ‘यदि बेडरुममा मोबाइल वा ल्यापटप छ भने मानिसहरु राति सुत्ने बेलामा यही खेलाएर बस्छन् । परिणामस्वरुप उनीहरु आफ्नो निद्रासँग सम्झौता गर्छन् । यसबाट खासगरी युवाहरुमा नयाँ चिज सिक्न समस्या आउँछ ।’

कसले गर्छ सामाजिक सञ्जाल अत्यधिक प्रयोग ?

एक अनुसन्धानका अनुसार बढीजसो युवा, महिला र एक्ला व्यक्तिहरु सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्छन् । यसको बढी प्रयोगको कारण कम तालिम, कम आम्दानी र आफूमाथि भरोसाको कमी पनि हुन् । आत्मकेन्द्रित व्यक्तिहरु पनि सामािजक सञ्जालमा रमाउँछन् ।

मानिसहरु आफ्नो खराब मुडलाई ठीक गर्न सामाजिक सञ्जालमा पस्ने हो । तर, यसबाट उनीहरुले कुनै राहत नपाउने अनुसन्धानले देखाएको छ । लन्डनका मनोवैज्ञानिक डाक्टर जोन गोल्डिनकृो भनाईमा भर्चुअल संसारमा ती मानिसहरु साथी बन्न आउँछन्, जो वास्तविक जीवनमा अत्यन्तै दुखी र एक्ला हुन्छन् ।

भर्चुअल साथीहरु कहिलेकाहीँ काम लाग्न सक्छन् । तर, उनीहरु वास्तिवक साथीहरुको विकल्प बन्न सक्दैनन् । डा. गोल्डिनाको सल्लाह छ कि मानिसहरुले घरबाट बाहिर निस्केर वास्तविक संसारका मानिसहरुसँग गफ गर्ने, घुलमिल हुने गर्नैपर्छ ।

डिप्रेसनको कारक बन्यो सामाजिक सञ्जाल

पूर्वी यूरोपेली देश हंगेरीमा सामाजिक सञ्जालका लागि मिडिया एडिक्सन स्केल नामको मापदण्ड जारी गरिएको छ । यसका माध्यमबाट पत्ता लगाउन सकिन्छ कि कसको सामाजिक सञ्जालमा कति लत छ ।

यस स्केलको मद्दतबाट पत्ता लाग्यो कि हंगेरीका ४.५ प्रतिशत मानिसहरुमा सामाजिक सञ्जालको लत लागेको छ । यस्ता व्यक्तिहरुभित्र आफूमाथि विश्वासको कमी देखियो । उनीहरु डिप्रेसनको शिकार पनि भइरहेका छन् । उनीहरुलाई सल्लाह दिइएको छ कि स्कुल वा कलेजमा सामाजिक सञ्जाल डिएडिक्सन क्लासमा जाउन् र आफ्नो उपचार गराउन् ।

हंगेरीमा भएको यो सोध हामीलाई झक्झक्याउन काफी छ । सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्ने धेरै मानिसहरुलाई थाहा हुँदैन । हामीले यसको प्रयोगलाई लिएरु आफूमाथि केही बन्देजहरु लगाउनैपर्छ । अन्यथा हामीमध्ये धेरै मानिसहरु हंगेरीका ती ४.५ मानिसहरु जस्तै सामाजिक सञ्जालको लतको शिकार बन्न सक्ने सम्भावना धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?