२७ माघ, हेटौंडा । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ दिएका छन् ।
शनिबार दिउँसो हेटौंडामा बसेको प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा एमालेका रामेश्वर फुयाल थिए ।
एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका श्रेष्ठ काठमाडौं २ को कबाट निर्वाचित भएका थिए । उनी मुख्यमन्त्रीको दावेदार थिए । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।
उपसभामुखको चुनाव भोलिलाई तोकिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादीकी राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।
प्रतिक्रिया 4