Comments Add Comment

वैद्य, विप्लव र गोपाल किरातीको लाइन मिलेन !

आपसमा नमिल्ने पूर्वराजावादी र पूर्वमाओवादीको एउटै रोग


१६ फागुन, काठमाडौं । प्रचण्डको नेतृत्वमा रहेको माओवादीको मूल भंगालो एमालेसँग एकीकृत भए पनि माओवादीका तीनवटा समूह बाहिरै छुटेका छन् ।

तीमध्ये एउटाको नेतृत्व मोहन वैद्यले गरिरहेका छन् भने दोस्रो समूहको नेता नेत्रविक्रम चन्द विप्लव छन् । तेस्रो अर्थात कान्छो माओवादी समूहमा गोपाल किराती, लोकेन्द्र विष्ट र आहुतिलगायत छन् ।

हुन त नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई हुन् । तर, उनले माओवादी धार र कम्युनिष्ट लाइन नै परित्याग गरिसकेका छन् । यही कारण बाबुरामको पार्टी अब पूर्वमाओवादीका रुपमा रहेन ।

कतिपय मानिसलाई लाग्न सक्छ कि पूर्वमाओवादी नेता मोहन वैद्य, विप्लव र गोपाल किरातीहरुको समूहबीच अब एकता हुनेछ र पुनर्गठित माओवादी धार कम्युनिष्ट विकल्पमा रुपमा अगाडि आउनेछ । तर, मानिसहरुको यो अनुमान तत्कालका लागि सही सावित नहुने भएको छ । किनभने वैद्य, विप्लव र किरातीब्ीच आपसमा राजनीतिक लाइन मिल्न सकेको छैन ।

कहाँ मिलेन लाइन ?

माओवादी र एमालेब्ीचको एकताको विरोध गर्दै माओवादी पार्टीको पुनर्गठन गरेका गोपाल किराती -साइँला) लाई हामीले सोध्यौं ‘अब तपाईहरु र मोहन वैद्य अनि विप्लव समूहब्ीच एकता हुने सम्भावना कत्तिको छ ?

जवाफमा पुनर्गठित माओवादीका नेता किरातीले अनलाइनखबरसँग भने- ‘उहाँहरुसँग तत्काल कार्यगत एकतामात्रै हुने भो, पार्टी एकता गर्ने वा मिसिने कुरा अहिले सम्भव भएन ।’

किन नि ?

अनलाइनखबरको प्रश्नको जवाफमा किरातीले अगाडि भने ‘हाम्रो लाइन मिलेन । वैद्यजी नौलो जनवाद नछाड्ने, विप्लवजी पहिचानको मुद्दा स्वीकार नगर्ने, अनि कसरी पार्टी एकता हुन्छ ? हामी माओवाद र पहिचानलाई साथै लिएर अघि बढ्न चाहन्छौं ।’

तर, तत्काल पार्टी एकता नभए पनि विप्लव र वैद्यहरुसँग संयुक्त मोर्चा बनाएर अघि बढ्ने किरातीले बताए ।

पूर्वराजावादी र पूर्वमाओवादीको एउटै रोग

त्यसो त गणतन्त्र आइसकेपछि राजतन्त्र फर्काउने भन्दै पूर्वराजावादीहरुले धेरैवटा पार्टी र समूह बनाए । तर, उनीहरु कहिल्यै आपसमा मिलेनन् ।

भरतकेशर शाहदेखि कमल थापासम्म, अनि लोकेन्द्रबहादुर चन्ददेखि केशरबहादुर विष्टसम्म सबैले राजतन्त्रकै वकालत गर्थे । तर, उनीहरु आपसमा मिल्न सकेनन् र नयाँ संविधान निर्माणपछिको पहिलो चुनावसम्म आइपुग्दा राजावादीहरु समाप्त भए ।

पूर्वमाओवादी समूहमा पनि पूर्वराजावादीमा जस्तै रोग देखिएको छ । उनीहरु विभिन्न ‘जार्गन’ का आधारमा मतभेद देखाउँदै फुट्ने गरेका छन् ।

जस्तो कि वैद्य र विप्लव आफैं मिल्न नसकेर चोइटिएका छन् । अब गोपाल किराती, लोकेन्द्र विष्ट र आहुतिहरु पनि माओवादीको पुनर्गठन गर्ने भने पनि लाइन नमिलेको बताउँदै अर्कै चुल्हो चौको जोरजाम गर्ने तयारीमा लागिसकेका छन् ।

अखिल क्रान्तिकारीबाट ‘पुनर्गठन’ सुरु

यसैवीच गोपाल किराती समूहले बुधबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय भेला बोलाएको छ । माओवादी केन्द्रमा रहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले एमालेसँगको एकतालाई अस्वीकार गर्दै राष्ट्रिय भेलाको आयोजना गरेको किरातीले बताए ।

किरातीले उनले भने- ‘माओवादी केन्द्रको पुनर्गठन विद्यार्थीबाट सुरु गरियो । आजको भेलाले अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्व निर्माण गर्छ । त्यसपछि क्रमशः अरु जनवर्गीय संगठनहरु पनि बन्दै जानेछन् ।’

किराती समूहले अर्घाखाँचीका आलोक रायमाझीको नेतृत्वमा समानान्तर अखिल क्रान्तिकारी बनाएको छ । काठमाडौंको होटल प्लाटिनममा आयोजित विद्यार्थी संगठनको समानान्तर भेलामा वैद्य समूह र विप्लव समूहका नेताहरुलाई समेत निम्त्याइएको छ ।

एमाले र माओवादी केन्द्रवीचको एकतापछि आफूसँग देशैभरीबाट माओवादी कार्यकर्ताले सम्पर्क गरिरहेको किरातीले बताए । उनले उत्साही हुँदै भने- सुरुमा त पुनर्गठनको पक्षमा दुई/चारजना मात्रै भइएला भन्ने लागेको थियो, तर हाम्रो पार्टी पनि अहिले नै वैद्यजीको जत्रै पो होलाजस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment