१० वैशाख, काठमाडौं । भारतको सुप्रिम कोर्टका मुख्य न्यायाधीश दीपक मिश्राले दलका नेतासँग भेटघाट गरेपछि महाअभियोगको सामना गर्नुपर्ने स्थिति आएको छ । यता नेपालमा भने सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी न्यायालयको गरिमालाईसमेत भुलेर दलका नेताहरुको घरदैलोमा धाउन थालेका छन् ।
तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्ययापरिषदको सचिवले पदमुक्त गरेपछि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदले प्रधानन्यायाधीश बनाउने निर्णय गर्नमा ढिलाइ भइरहेका बेला जोशी नेताको निवासमा धाउन थालेका हुन् ।
अनलाइनखबरलाई प्राप्त सूचना अनुसार कामु प्रधानन्यायाधीश जोशीले हालै खुमलटार पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानन्याधीशले यसरी दलका नेतालाई भेट्नु लज्जास्पद विषय भएको कानूनका जानकारहरु बताउँछन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश एवं न्यायाधीशहरुले नेताका घरघरमा गएर भेट्दै हिँडेको घटनालाई कसरी लिने ? अनलाइनखबरको यो प्रश्नमा संविधानविद भीमार्जुन आचार्यले भने, ‘प्रधानन्यायाधीशको नियुक्तिको सिफारिसमा ढीला भइरहेको छ, यो दुःखद कुरा हो । तर, यस्तो बेलामा न्यायाधीशहरुले नेताहरुलाई भेट्दै हिँड्नु झनै दुःखद् कुरा हो ।’
दलका नेताहरुले पनि न्यायाधीशलाई भेटेर आफूप्रति बफादार बनाउन नहुने आचार्यले बताए । न्ययाधीशले मात्रै होइन, राजनीतिज्ञले पनि यसो गर्नु राम्रो होइन ।
यतिबेला न्यायालयको गरिमा र स्वतन्त्रतामाथि प्रहार भइरहेका बेला न्यायाधीशहरु नेताका घरमा धाउनु खेदजनक भएको बताउँदै आचार्यले प्रश्न गरे, ‘नियुक्तिका लागि भन्दै हुनेवाला प्रधानन्यायाधीशले नै नेताको घरदैलो चाहर्नुपर्ने अवस्था आउनुले न्यायालयको गरिमा र स्वतन्त्रता कहाँ पुग्ने ?’
प्रतिक्रिया 4