२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको बताएका छन् ।
उनले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्ति भनेका छन् । तीनै शक्तिले अस्थिरता फैलाउने प्रयास गरेको उनको निष्कर्ष छ ।
विप्लव समूहः राज्यद्रोही
गृहमन्त्री बादलका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा राज्यद्रोही शक्ति हो ।
यद्यपि यो राजनीतिक प्रवृत्ति भएको उनले बताए । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’
चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु नै भएको बादलले बताए । उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको र प्रधानमन्त्रीले पनि मुलधारमा आह्वान गरेको उनले बताए ।
सीके राउतः विखण्डनकारी
गृहमन्त्री बादलले तराई मधेसमा विखण्डनकारी शक्ति सलबलाउन थालेको बताए । सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै उनले भने, ‘उनीहरु अलग मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउन पनि उनीहरु नै भएको गृहमन्त्रीले बताए ।
हिन्दुवादीः व्यवस्था विरोधी
हिन्दु र क्रिष्टियन धर्मका नाममा पनि अस्थिरता फैलाउने प्रयास भइरहेको उनले बताए । उनीहरु विखण्डनकारी नभई व्यवस्था विरोधी भएको गृहमन्त्रीको विश्लेषण छ ।
अस्थिरता फैलाउन चाहने शक्तिहरु कमजोर अवस्थामा रहेको भन्दै गृहमन्त्री बादलले अब उनीहरुलाई निस्तेज पारिने बताए । उनले भने, ‘उनीहरुले जुन नारा दिएका छन्, त्यो सफल हुने वस्तुगत र आत्मगत आधार छैन ।’
यो पनि पढ्नुस्
ठेकदारलाई गृहमन्त्रीको चेतावनी : जो कसैको घरधनी होस्, कारबाही गर्छौं
प्रतिक्रिया 4