काठमाडौं । मानिसको शरीर कयौं प्रकारका कोशिकाबाट बनेको हुन्छ । शरीरलाई स्वस्थ राख्न यी कोशिकाहरुको उल्लेख्य भूमिका हुन्छ ।
शरीरलाई स्वस्थ राख्न यी कोशिका वृद्धि हुनुका साथै समय समयमा विभाजित समेत हुन्छन् । तर त्यही कोशिकामा जब क्षति हुन्छ वा उक्त कोशिका मर्छ, त्यसको ठाउँमा नयाँ कोशिका बन्ने गर्छ ।
क्यान्सर सुरुवात यही कोशिकाबाट हुने गर्छ । जब कुनै कोशिका क्षतिग्रस्त हुन्छ वा जीन खराब हुन्छ, शरीरमा उत्परिवर्तन (म्युटेसन)को समस्या पैदा हुन्छ, जसले सामान्य कोशिकालाई समेत प्रभावित बनाई आवश्यकताभन्दा बढी मात्रामा कोशिका उत्पादन हुन्छ । यही कोशिका पछि गएर क्यान्सरको रुपमा विकसित हुन्छ ।
क्यान्सर कयौं प्रकारका हुन्छन् । यो कुनै एउटा रोगमा सीमित हुँदैन । क्यान्सर रोग शरीरका कुनै पनि भागमा लाग्न सक्छ । जस्तै, फोक्सो, छाती, मलासय, रगत इत्यादि । यी सबै क्यान्सर प्राय एकै किसिमका हुन्छन् । तर यिनीहरुको बढ्ने तथा फैलने तरिका भने फरक हुन्छ ।
वंशाणुगत क्यान्सर
नेपालमा पछिल्लो समय क्यान्सर रोग भयावह बन्दैछ । गलत खानपान, बदलिँदो जीवनशैली, लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानी लगायतले मानिसमा क्यान्सर रोग बढाउँदैछ ।
वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ । क्यान्सर दश प्रतिशत वंशाणुगत र बाँकी ९० प्रतिशत विभिन्न कारणले हुन्छ । प्रायः क्यान्सर ५० वर्ष कटेपछि मात्र देखिने भएकाले धेरै मानिस यो रोग ५० कटेपछि मात्र हुन्छ भन्ने ठान्छन्, जुन एक हदसम्म गलत होइन ।
यदि पचास वर्षपछि देखापर्ने पेटको क्यान्सर र महिलामा पाठेघर र स्तन क्यान्सर युवा अवस्थामै देखापर्यो भने त्यसको कारण वंशाणुगत हुनसक्छ । पुरुषहरुमा हुने स्तन क्यान्सर पनि वंशाणुगत हुनसक्छ । किनकी, पुरुषहरुमा वंशाणुगत बाहेक अन्य कारणले स्तन क्यान्सर हुने सम्भावना एक प्रतिशत मात्र हुन्छ ।
कुनै परिवारमा दाजुभाइ दिदीबहिनी वा आमाबाबुमध्ये कुनै दुई वा दुई जनाभन्दा बढीमा क्यान्सर देखिएमा, एक व्यक्तिलाई शरीरको कुनै दुई अंगमा या शरीरका विभिन्न अंगहरुमा मल्टिपल क्यान्सर देखिएमा पनि त्यो वंशाणुगत हुनसक्छ ।
वंशाणुगत क्यान्सर विभिन्न प्रकारका हुन्छन् । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, थाइराइड क्यान्सर, प्रोेस्टेट क्यान्सर, सफ्ट टिस्यू सार्कोमा, मस्तिष्कको ट्यूमर, छाला सम्बन्धी क्यान्सर तथा बच्चाहरुमा आँखाको क्यान्सर इत्यादि पनि वंशाणुगत क्यान्सरमा पर्दछन् ।
वंशाणुगत क्यान्सर वंशजको आधारमा हुने भएकाले प्रारम्भिक अवस्थामै रोग पत्ता लागेमा निश्चित स्वास्थ्य परीक्षणद्वारा पनि निको पार्न सकिन्छ । विशेषगरी, भाइरसको संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर रोक्न सकिन्छ । समयमै खोप लगाएर तथा नियमित रुपमा ‘प्याप स्मेयर टेष्ट’ गरेर पनि पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिन्छ ।
हेपाटाइटिस ‘बी’का कारण कलेजोमा हुने क्यान्सर, घामको विकीरणका कारण हुने छालाको क्यान्सर, फोहर प्रदुषणका कारण हुने क्यान्सर परीक्षणपछि मात्र पत्ता लाग्ने भएकाले यस्ता क्यान्सर सुरुवाती अवस्थामै पत्ता लगाउन सकेेको अवस्थामा निर्मूल पार्न सकिन्छ । त्यसको लागि यस्ता रोगको जोखिममा रहेका मानिसहरुले वर्षमा कम्तीमा एक पटक अनिवार्य स्वास्थ्य जाँच गराउन आवश्यक छ ।
नेपालमा वंशाणुगत क्यान्सर
नेपालमा वंशाणुगत क्यान्सरबाट पीडित हुनेको संख्या उल्लेख्य छ । तर व्यवहारिक कठिनाइका कारण उनीहरुको यकिन तथ्यांक छैन । यसतर्फ परिवार या चिकित्सकले पनि चासो दिएको पनि पाइँदैन ।
यसैलाई हेक्का राख्दै हरिसिद्धिस्थित नेपाल क्यान्सर रिसर्च सेन्टरले डेढ वर्ष यता वंशाणुगत क्यान्सरसम्बन्धी कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत नेपाल क्यान्सर रिसर्च सेन्टरमा आउने कुनै पनि विरामीलाई सुरुमै क्यान्सर भए-नभएको जाँच गरिन्छ । क्यान्सर देखिएको खण्डमा उनीहरुलाई ‘जेनेटिक क्लिनिक’मा पठाइन्छ ।
उक्त क्लिनिकमा विरामीको तीनपुस्ते विवरण संकलन गरिन्छ, जसमा परिवारको संख्या र उनीहरुलाई लागेका रोगबारे जानकारी लिइन्छ । परिवारमा कसलाई के रोग लागेको छ ? कसैको मृत्यु भएको भए के कारणले भएको हो ? कसैलाई क्यान्सर छ भने कुन अंगको क्यान्सर हो ? कुन उमेरमा पत्ता लगाएको ? आदि विस्तृत जानकारी सहितको ‘फेमिली ट्री’ बनाइन्छ । सोही आधारमा परिवारमा कसैलाई वंशाणुगत क्यान्सर लागेको पाइएमा उनीहरुलाई त्यसको जोखिमबारे जानकारी दिइन्छ ।
(यो लेख वरिष्ठ मेडिकल अन्कोलोजीस्ट डा. सुदिप श्रेष्ठसितको कुराकानीमा आधारित छ । उनी हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4