+

पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थीमा के कारणले समस्या आउँछ (भिडियो)

२०८० असोज  १६ गते १७:१३ २०८० असोज १६ गते १७:१३
पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थीमा के कारणले समस्या आउँछ (भिडियो)

पुरुषहरुमा मात्र हुने ग्रन्थी हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ ।

ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।

उमेर बढ्दै जाँदा अरु ग्रन्थी झै यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्छ ।

के गर्छ यसले ?

प्रोस्टेट ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ । खासगरी यौन सम्पर्कको समयमा शुक्रकिटसँग मिसिएर यौन सम्पर्कलाई सहज बनाउँछ। साथै, यसले शुक्रकिटलाई पोषण प्रदान गर्छ ।

यसमा के कस्तो समस्या देखिन सक्छ ?

प्रोसटेट ग्रन्थिको समस्या भनेको यसको आकार बढ्नु हो । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल बढ्दै जान्छ ।

यससँगै मूत्रनलीको भागको छेउछाउमा रहेका ग्रन्थि पनि बढ्ने गर्छ । प्रोस्टेट ग्रन्थिको आवरण अर्थात खोल त्यती लचकदार हुँदैन । सीमित लचकता हुने भएकाले यो ग्रन्थीको बृद्धि हुँदा पिसाबले सहज बाटो पाउँदैन । त्यसैले पिसाब रोकिने समस्या हुनसक्छ ।

मूत्र थैलीका मांसपेशी मोटो हुने र मांसपेशीबीच खाल्टो पर्न सुरु गर्छ । यस्तो खाल्टो भएमा मूत्र थैली सामान्यभन्दा निकै कमजोर हुन्छन् ।

समय बित्दै जाँदा यी मांसपेशीलाई रेसायुक्त तन्तुले प्रतिस्थापन गर्दै जान्छ । थैली अझ बढी शक्तिहीन भई मूत्र सञ्चालन गर्न अक्षम बन्छ । यस्तो अवस्थामा बिरामी कमजोर वेगले पिसाब फेर्ने, लामो समय लगाउने र थैलीमा भएको सबै पिसाब निखार्न नसक्ने हुन्छ ।

त्यसका साथै मिर्गौलाबाट पिसाब थैलीमा मूत्र सञ्चालन गर्न मूत्रवाहिनी नलीहरू पनि फुल्ने गर्छन् र यो क्रम अगाडि बढे मिर्गौला पनि फुल्न सक्छ । ग्रन्थी जति जति बढ्यो, मुत्रनली साँघुरिने र लम्बिने हुन्छ ।

प्रोस्टेट बढ्ने समस्या ५० बर्षमा प्राय ४० प्रतिशत पुरुष पिसाब फेर्ने क्रममा विभिन्न लक्षण अनुभव गर्छन् । कतिपयमा भने उमेर बढेपनि यस्तो समस्या नदेखिन सक्छ ।

किन यस्तो हुन्छ ? 

शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थि विस्तारै बढ्छ ।

उमेर अनुसार ग्रन्थी बढ्छ 

यो ग्रन्थी ७–१२ ग्रामको हुन्छ  । शिशु अवस्थामा प्रोस्टेट ग्रन्थी ज्यादै सानो हुन्छ र वयस्क सुरु भएपछि प्रत्येक ३ वर्षमा २ गुणाले वृद्धि हुन्छ ।

२० वर्षमा यो ग्रन्थी १५–२० ग्रामसम्मको हुन्छ । तर, ३०–५५ वर्षको उमेरमा लगभग साढे ४ वर्षमा दोब्बर बृद्धि हुन्छ । त्यसपछि ५५–७० वर्षसम्म ग्रन्थीको वृद्धि भए पनि रफ्तार केही कम भएर दुई गुणा वृद्धि हुन १० वर्ष लाग्ने हुन्छ । ७० वर्षपछि पनि ग्रन्थिको वृद्धि हुने प्रक्रिया कम रफ्तारमा भए पनि जारी नै रहन्छ ।

कसरी थाहा हुन्छ ?

प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ

–पिसाबको धारा  कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने

–पिसाब फेर्दा ढिलो पिसाब आउनु-सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु

– पिसाब चुहिनु, थोपाथोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु

– पिसाब फेरीसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको महसुष हुनु

— रातीमा धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु.,

— कसैमा भने आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षण देखिन सक्छन ।

पहिचान तथा उपचार

पहिचानका लागिअल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट पत्ता लगाउन रक्त तथा पिसाबको परीक्षण र बायोप्सी पनि गरिन्छ। अल्ट्रासाउन्डद्वारा प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ भने सिस्टोस्कोपीद्वारा के कारणले अवरुद्ध भएको पत्ता लाग्छ । साथै, यी परीक्षणबाट पिसाब फेरसिकेपछि मूत्रथैलीमा रहने मूत्रको मात्रा पनि पत्ता लाग्छ।

चिकित्सकको सल्लाहमा लक्षण अनुसार उपचार, औषधिको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधिको प्रयोग निकै प्रभावकारी छ। लामो समय कटेको रऔषधीले काम नगरेमा र आकार अत्यन्त ठुलो भएमा शल्यक्रिया आवश्यक हुन्छ । शल्यक्रिया अहिले दुरविन र लेजर प्रविधिको माध्यमबाट पनि सम्भव छ । जसले गर्दा जटिलता कम गर्छ ।

समयमा उपचार नहुँदा

पिसाबको समस्या हुने बितिकै प्रोस्टेट ग्रन्थिको समस्या हो भनेर किटान गर्न नसक्दा समस्या बढ्दै जान्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाब निखरिन नसक्दा संक्रमण हुने, पत्थरी हुने, पिसाब मिर्गौलामा पुग्ने र सुनिने, पिसाबमा रगत मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने समस्या उत्पन्न हुन्छन्।

रोकथाम

पिसाब थैलीमा लामो समय पिसाब नराख्ने, पिसाब लागेमा तुरुन्त पिसाब फेर्ने, चुरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने, संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने र एलर्जी तथा रुघाखोकीका औषधि अनावश्यक प्रयोग नगर्ने गर्दा केही हदसम्म यो समस्याबाट बच्न सकिन्छ ।

त्यस्तै, पिसाबको संक्रमणलाई समयमै उपचार गर्ने, यस सम्बन्धी लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने, प्रणायाम गर्ने, एउटै आसनमा लामो समयसम्म नबस्ने-उठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने,  हरियो सागपात, फलफूल प्रशस्त सेवन गर्दा यो समस्याबाट मात्र होइन अन्य स्वास्थ समस्याबाट बच्न सकिन्छ ।

(डा. साह मूत्ररोग विशेषज्ञ हुन् । उनी वीरगञ्जस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : शंकर गिरी 

प्रोस्टेट ग्रन्थी
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय