१७ भदौ, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठक पटकपटक स्थगित गरेकोमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले असन्तुष्टि जनाएका छन् ।
पछिल्लो पटक नेकपा स्थायी कमिटीको बैठक भदौ १९ र २० गतेका लागि बोलाइएको थियो । तर, तयारीका लागि सचिवालय बैठक नबसेपछि भदौ २७ र २८ गतेका लागि सारिएको छ ।
यसअघि भदौ ८ र ९ गते बोलाइएको बैठक तयारी नपुगेको भन्दै १९-२० लाई सारिएको थियो ।
सरकारको कामकारबाही तथा पार्टीको जिल्ला तथा भ्रातृ संगठन एकताबारे छलफल गर्न नेताहरुले बैठक माग गर्दै आएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक बैठक टारेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
लिखित रुपमा बैठक माग गर्ने तयारी
विभिन्न जिल्ला कमिटीको एकतामा तत्कालीन एमालेको माधवकुमार नेपाल पक्षलाईर् योजनावद्ध रुपमा पाखा लगाइएको भन्दै नेकपामा असन्तुष्टि चुलिएको छ । एमाले मात्र होइन, माओवादीका नेताहरुले पनि जिल्लाबाट आएको सिफारिस अमिल्दो भएको भन्दै पार्टी नेतृत्वले मापदण्ड बनाउनुपर्ने मत राखेका छन् ।
जिल्ला कमिटीहरूको एकताका लागि बनेको एकता कार्यदलको म्याद पनि भदौ पहिलो साता सकिएको छ ।
यसबारे निर्णय गर्न तत्काल नेकपाको सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने हुन्छ । तर, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी बैठकलाई प्राथमिकता दिएका छैनन् । पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सम्वाद पातलिएको नेकपाका नेताहरू बताउँछन् ।
नेकपामा ओली नेतृत्वको सरकारको कामकारबाहीको समिक्षाको माग पनि नेताहरुले गर्दै आएका छन् । पार्टीको प्रष्ट बहुमत र दुई तिहाईको समर्थन प्राप्त सरकारको कामकारबाही प्रभावकारी नभएको नेकपाका धेरै नेताहरुको मत छ ।
तर, प्रधानमन्त्री ओलीले बैठक बोलाउन चासो दिएका छैनन् । ‘भोलि भनिएको स्थायी कमिटी बैठक भदौ अन्तिम साता भनिएको छ । तर, त्यो पनि बस्नेमा शंका छ’ पार्टी अध्यक्ष ओली बैठकबाट भागिरहेको भन्दै स्थायी कमिटीका एक नेताले भने ।
नेताहरु धमाधम विदेश भ्रमणमा
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले अमेरिका भ्रमणमा छन् । उनी फर्किन नपाउँदै अध्यक्ष प्रचण्ड भारत जाने कार्यक्रम छ ।
प्रचण्ड पाँच दिने भ्रमणका लागि भदौ २२ गते नयाँदिल्ली जाने पूर्वनिर्धारित कार्यक्रम छ । उनी फर्किए लगतै नेता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा नेताहरुको टोली चीन जानेछ । यो टोली २९ गते जाने कार्यक्रम छ ।
प्रतिक्रिया 4