Comments Add Comment

मुस्लिम बस्तीमा झाडापखालाबाट २ सय जना प्रभावित

७ असोज, महोत्तरी । जलेश्वर नगरपालिका १२ नैन्हीस्थित मुस्लिम बस्तीमा दुई सातादेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन ।

झाडापखालाबाट २ सय जना भन्दा बढी प्रभावित भएका छन् । ५० भन्दा बढीलाई स्थानीय मदरसा र स्वास्थ्य चौकीमा राखेर उपचार गरिएको छ ।

झाडापखाला फैलिएको सूचना पाएलगतै जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरले शिविर सञ्चालन गरे पनि अझै रोग नियन्त्रणमा आउन नसकेको जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए ।

मुस्लिम बस्तीका प्राय सबै घरधुरीमा झाडापखलाका बिरामी रहेका छन् । ‘बस्तीमा स्वास्थ्य शिविर राखेर उपचार गर्दै आएका छौं’ ठाकुरले भने ‘विरामीमा कमी हुन सकेको छैन ।’

बस्ती निकै फोहोर र सरसफाइमा ध्यान नदिएको कारण झाडापखलाको संक्रमण भएको स्वास्थ्यकर्मी ठाकुर बताउँछन् । प्रभावित हुनेहरुमा अधिकाश १५ बर्ष मुनिका बालबालिका र महिलाहरु रहेका छन् । बस्तीका गर्भवती, सुत्केरी महिलाहरु समेत झाडापखलाबाट बढी प्रभावित बनेका छन् ।

स्वास्थ्यकर्मीको टोलीले झडापखालाको कारण पत्ता लगाउन बिरामीको दिसाको र पानीको नमुना संकलन गरी लगेको छ । त्यसको रिपोर्ट आएपछि झाडापखालाको कारण खुल्ने निरीक्षक ठाकुरले बताए ।

झाडापखालाको संक्रमण सोही वडाको अर्को बस्तीमा समेत फैलिएको छ । झाडापखाला महामारी फैलिएपछि जलेश्वरको मुस्लिम बस्तीका बासिन्दा त्रसित बनेका छन् ।

झाडापखालाको कारण चार वषर्ीय बालिकाको समेत मृत्यु भइसकेको छ । जिल्ला अस्पताल जलेश्वरले स्वास्थ्य शिविर संगसंगै स्वास्थ्यकर्मी र खानेपानी तथा सरसफाइका सबै कामहरु आवश्यक रहेको जनाएको छ ।

ठाकुरका अनुसार घना बस्ती भएकोले रोग छिटो फैलिएको र रोकथाम असहज बनेको छ । धान खेतको प्रदुषित भुरा माछा खानाले महामारी फैलिएको हो ।

अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भइरहेको जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए । झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment