Comments Add Comment

पोखरालाई मंसिरसम्म पर्यटनको राजधानी घोषणा गरिन्छ: मन्त्री लम्साल

८ असोज, पोखरा । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने घोषणा गरेका छन् ।

पोखराका पर्यटन सम्बन्धी संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको १५ औं अधिवेशन तथा १८ औं साधारणसभाको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको र मंसिर मसान्तसम्ममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने बताए ।

उनले पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै त्यसपछि सातै प्रदेशको सम्मेलन गरेर त्यहाँ गण्डकी प्रदेश सरकारको तर्फबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव गर्ने र सबैको सहमतिमा पारित गर्ने बताए ।

सातै प्रदेशको सहमतिपछि संघीय सरकारको मन्त्री परिषद बैठकबाट निर्णय गराउने तयारी भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेमा होटल संघले तत्काल २ सय होटल खोल्ने प्रस्ताव ल्याएको उनले दाबी गरे ।

यसअघि होटल संघले एक महिनाअघि पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने भन्दै पोखरामा आएर अन्र्तक्रिया गरेको थियो ।

अन्तरकि्रयापछि होटल संघले यस्तो प्रस्ताव गरेको उनको भनाइ छ । यद्यपि पर्यटनको राजधानी सरकारले घोषणा गरेर मात्र नपुग्ने भन्दै उनले पर्यटन व्यवसायीलाई ठग्ने बानी त्याग्न आग्रह गरे ।

उनले भने, ‘एयरपोर्टदेखि सुरु हुने ठगी, ट्याक्सी, होटल, रेष्टुरेण्टलगायत सबै ठाउँमा ठगी हुने गरेको छ, अब त्यस्ता ठगी गर्दैनौं भनेर कसम खानुस् ।’

उनले हिजोको गति, मति र तरिकाले पर्यटक नआउने बताउँदै अब नयाँ सोंचको विकास गरेर पर्यटकलाई अतिथि देवो भवः भन्दै नमस्कार गर्नेदेखि सत्कार गर्नेसम्मको संस्कार बसाल्न जरुरी रहेको औंल्याए ।

उनले बिल बनाउँदा भ्याट दिउँ कि नर्मल भनेर सोध्ने प्रवृत्ति हटाएर स्वस्थ रुपमा सरकारलाई कर बुझाएर मात्र व्यवसाय गर्न सके सरकार पनि बलियो हुने र विकास र समृद्धि पनि आउने बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पर्यटन क्षेत्रमा देखिएका विकृति, विसंगति हटाएर पोखरा सुरक्षित छ भन्ने सन्देश दिन सके पोखरालाई चौविसै घण्टा खोल्न आफूहरु तयार रहेको बताए ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटनमा छलाङ मार्न पोखरालाई अन्र्तराष्ट्रिय सहरको रुपमा परिचित गराउन जरुरी रहेको बताए ।

परिषदका संस्थापक अध्यक्ष अशोक पालिखेले पर्यटनमा सम्भावना भएपनि जोखिम उत्तिकै भएकाले जोखिम कम गर्दै लगानी आकषिर्त गर्न सरकारले भूमिका खेल्नुपर्ने बताए ।

नवनिर्वाचित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारको काम गराइबाट नीजि क्षेत्र असन्तुष्ट रहेको बताए । उनले भने, ‘करका कारण निजी क्षेत्र अहिले आक्रान्त छ, दोहोरो तेहेरो कर तिर्ने झञ्झटका कारण लगानी असुरक्षा महशुष गरिरहेका छौं, त्यसैले जथाभावी रुपमा बढाइएको कर फिर्ता गर्नुपर्छ र एक ठाउँमा कर तिरेपछि तीन वटै सरकारमा पुग्ने मेकानिजम बनाउनुपर्छ ।’

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले हाल लगानी गरिहाल्ने अवस्था नरहेको भन्दै व्यवसायीहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले पोखराको पर्यटन बचाउने हो भने फेवातालको मिचिएको जग्गा तालमै मिसाउने सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने र त्यसले प्राकृतिक सम्पती, सार्वजनिक सम्पत्ति संरक्षण हुन्छ भन्ने सन्देश दिने बताए ।

परिषदका अर्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटनमा ठगी, लुटपाट मच्चाउनेलाई कार्वाही गर्नर् नसक्ने सरकार हुन नसक्ने बताउँदै त्यस्ता व्यक्ति जो सुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे ।

परिषदको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment