+

बंगवन्धु गोल्डकप : उपाधि रक्षा गर्न सजिलो छैन नेपाललाई

२०७५ असोज  १५ गते १९:०६ २०७५ असोज १५ गते १९:०६
बंगवन्धु गोल्डकप : उपाधि रक्षा गर्न सजिलो छैन नेपाललाई

१५ असोज, काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलमा ‘घाइते’ बनेको नेपाल १५ दिनको अन्तरालमा अर्को मिसनका लागि बंगलादेश पुगेको छ । यसपाली दाउमा छ बंगबन्धु गोल्ड कप ।

डिफेन्डिङ च्याम्पियन भएको नाताले यो प्रतियोगिता नेपालका लागि प्रतिष्ठाको विषय हुने नै भयो ।

तर, उपाधि जोगाउन नेपाललाई सजिलो छैन । यो पटक बंगबन्धु गोल्डकपमा सहभागी आयोजक बंगलादेश र नेपालबाहेक अन्य ४ टिम नयाँ हुन् । प्यालेस्टाइन, लाओस, ताजिकिस्तान र फिलिपिन्सले पहिलोपटक यो प्रतियोगिता खेल्दैछन् । सहभागी टिममध्ये फिफाको वरियतामा नेपाल चौंथो स्थानमा छ ।

नेपाल फिफा वरियतामा १६० औं स्थानमा छ भने प्यालेस्टाइन १००, फिलिपिन्स ११४ र ताजिकिस्तान १२० औं स्थानमा छ । नेृपालभन्दा पछि लाओस १७८ औं र बंगलादेश १९३ औं स्थानमा छन् ।

बंगबन्धु गोल्डकपकै लागि भनेर नेपालले तयारी गरेको धेरै दिन भएको छैन तर, विगत लामो समयदेखि नेपाली टिम अभ्यास र प्रतियोगितामा ब्यस्त नै छ ।

साफ च्याम्पियनसिपमा गरेको गल्ति सुधारेर बगवन्धुको उपाधि रक्षा गर्ने लक्ष्य लिएको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । उनले भने, ‘एट्याकिङ र मिड्फिल्डमा सुधार्दै डिफेन्स लाईनलाई बलियो बनाउँछौं । साफ च्याम्पियनसिपमा हाम्रो डिफेन्स कमजोर थियो । अब त्यस्तो हुने छैन ।’

मिडफिल्डर निराजन खड्का नेपालका सबै प्रतिद्वन्द्वी निकै बलियो भएको बताउँछन् । जितका लागि हरेक टिमसँग् आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्ने उनको विचार छ ।

समूह चरणमा बलियो प्रतिद्वन्द्वी पाएको नेपालले अहिलेसम्म प्यालेस्टाइन र ताजिकिस्तानलाई पराजित गर्न सकेको छैन । सेमिफाइनल प्रवेशका लागि दुई मध्ये एकलाई पन्छाउनुपर्ने हुन्छ । ‘हो, समुहमा हामीभन्दा राम्रा टिम पनि छन् । तर, हामी पनि कमजोर भने छैनौं’ प्रशिक्षक महर्जनले भने ।

कप्तान विराज महर्जन थप्छन्, ‘सबै टिम बलिया छन् । तर, हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो ।’

नेपालको पहिलो खेल मंगलबार ताजिकिस्तानसँग बंगलादेशको सिलहेट जिल्ला रंगशालामा स्थानीय समयअनुसार बेलुकी ६ः३० बजे सुरु हुनेछ । नेपाल र ताजिकिस्तान पछिल्लो पटक एसियन कप छनोटमा भेट भएका थिए । पहिलो लेगमा ३-० गोलले पराजित भएको नेपाल दोस्रो लेगमा २-१ ले पराजित भएको थियो ।

किरण र रोहितको अभाव खटि्कन सक्छ

गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द नेपाली फुटबल टिमका महत्वपूर्ण सदस्य हुन् । तर उनीहरु यो पटकको बंगबन्धु गोल्डकपमा देखिने छैनन् । एन्फाले कमजोरीले यो अवस्था आएको हो । किरण माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आएका छन् । एन्फाले उनीहरुलाई समयमै बोलाउन चुक्यो । त्यसैले उनीहरु आउन भ्याएनन् ।

किरणको स्थानमा विशाल श्रेष्ठ आएका छन् भने रोहितको स्थानमा तेज तामाङले मौका पाएका छन् । उनीहरुले किरण र रोहितलाई बिर्साउन सजिलो छैन । त्यसो त किरणपछि नेपाली टिमको गोलकिपिङ विकेश कुथुले सम्हाल्दै आएका छन् । त्यसकारण विकेशले बंगबन्धुमा पहिलो रोजाईमै खेल्ने प्रवल सम्भावना छ । साफ च्याम्यिनसिपमा भने उनी बेञ्चमा बसेका थिए ।

साफ च्याम्पियनसिपमा नेपालको मुख्य कमजोरी डिफेन्समा देखिएको थियो । यो प्रतियोगितामा नेपालको डिफेन्समै प्रशिक्षकले फोकस गर्नेछन् ।

डिफेन्समा कप्तान विराज महर्जनसहित अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी र सुमन अर्याल छन् । पेपरमा यो पंति बलियो लाग्छ तर, मैदानमा कस्तो खेल्छ यसै भन्न सकिन्न ।

साफ च्याम्पियनसिपमा अनन्त र आदित्यले सबै खेलमा पूरै समयसम्म खेलेका थिए र राम्रो प्रदर्शन पनि गरेका थिए । मिड्फिल्डमा सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई, निराजन खड्का, तेज तामाङ, हेमन गुरुङ छन् । यसैगरी फरवार्ड लाइनमा ४ जना स्टार खेलाडी छन्ः भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर र अन्जन विष्ट । उनीहरु चारै जना राम्रै लयमा छन् ।

नेपाली फुटबल टिम

गोलकिपरः विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डरः विराज महजर्जन (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, सुमन अर्याल

मिड्फिल्डरः सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ, सुनिल बल, हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई,

फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय