+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

किताब पारखी बढाउँदै रिडर्स कर्नर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १३:३०

२२ असोज, पोखरा । पोखराका रेशम योगी अचेल कसैलाई उपहार दिनुपरे आफूलाई मन परेको किताब दिन्छन् ।

कामबाट फुर्सद मिल्नेबित्तिकै उनी पोखराको किताब कुनो हिमालयन रिडर्स कर्नर पुगिहाल्छन् । कर्नरमा यतिबेला किताब मेला लागिरहेको छ ।

योगीले मेलामा पाउलो कोहेलोको हिप्पी, सुशीला कार्कीको न्याय, प्रख्यात लेखक हरारीको ट्वान्टी वान लेसन फर ट्वान्टी वान सेन्चुरीलगायत पुस्तक खरिद गरेर दसैं बिदामा पढ्ने योजना बनाएका छन् ।

मेलाकै अवसरमा बैंकर वुद्धि मल्लले दसैं बिदामा पढ्ने पुस्तक खरिद गरे । लेखक मीरा ढकालले पनि दसैं बिदाका लागि दर्जन किताब रोजेकी छन् ।

न्युरोडमा रहेको कर्नरमा लागेको किताब मेला यस्ता पाठकको आकर्षण बढेको छ । किताब पढ्नेहरुको जमघट हुने थलो हिमालयन रिडर्स कर्नरमा पाठकको भीड बढिरहेको छ । पोखरामा हुने साहित्यिक कार्यक्रमदेखि वौद्धिक बहस गर्ने साझा थलो कर्नरमा लागेको मेला यतिबेला किताबका पारखीको गन्तव्य बनिरहेको छ ।

दसैंतिहारको पूर्वसन्ध्यामा कर्नरमा विशेष छुटसहित किताब मेला लागेको छ । पारखीलाई ‘रिडर्स अपच्र्युनिटी मेला’ यतिबेला किताब किन्ने अवसर बनेको अर्का पाठक सौगात पोखरेलले बताए । किताब पढेर यसपालिको दसैं मनाउने योजना पोखरेलले बनाएका छन् । गुरुङ चलचित्रकी निर्देशक जसु गुरुङले यसपालीको दसैं छुट्टी किताब पढेरै मनाउने योजना सुनाइन् ।

पठन संस्कृतिको विकास हुनुपर्छ भन्ने मान्यताका साथ रिडर्स अपच्र्युनिटी मेला आयोजना गरिएको कर्नरका सञ्चालक विजय भण्डारीले बताए । ‘बिदा मनाउने मान्छेका अनेक तरिका हुन्छन्, पछिल्लो समय किताब पढेर बिदा मनाउनेको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ,’ कर्नरका सञ्चालक विजय भण्डारीले भने, ‘पाठकको चाहनाअनुसार हामीले विशेष छुटमा किताब उपलब्ध गराइरहेका छौं ।’

लेखक गनेस पौडेल र तीर्थ गुरुङले पुस्तक पढ्नेका लागि मेला एउटा अवसर भएको बताए । ‘पोखरामा किताब पढाउन रिडर्स कर्नरले ठूलो भूमिका खेलेको छ,’ लेखक गनेस भन्छन् । पोखरामा पठन संस्कृतिको विकास र वौद्धिक बहस चलाउँदै आएको र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष केशवशरण लामिछानेले कर्नरले पोखरामा साहित्यिक किताबमात्रै पाइने पसलको अभावको खाल्डो पुर्ने काम गरेको बताए ।

मेलामा किताब र खरिदअनुसार १० देखि ५० प्रतिशतसम्म छुट दिइएको सञ्चालक भण्डारीले बताए । विद्यार्थीदेखि सांसदसम्म नयाँ तथा पुराना किताब खरिद गर्न मेलामा आइरहेको भण्डारीले जानकारी दिए । कर्नरका नियमित पाठक विष्णु सुवेदीले अन्य कुरामा फजुल खर्ज गर्नुभन्दा किताबमा खर्च गर्दा धेरै कुरामा फाइदा पुग्ने अनुभव सुनाए ।

‘दसैंतिहारको अवसरमा निरन्तर पुस्तक मेला गर्दै आइरहेका छौं,’ सञ्चालक भण्डारीले भने, ‘पाठकको चाहना र रोजाइअनुसार विशेष छुटमा किताब उपलब्ध गराउँदै आएका छौं ।’ असोज १६ गतेदेखि सुरु भएको मेला ३० गतेसम्म चल्ने छ । मेलामा स्वदेशी तथा विदेशी लेखकका चर्चित किताब उपलब्ध छन् ।

बिपीका किताबदेखि भर्खरै बजारमा आएका राजेन्द्र पराजलीको अघोरी, रमेश सायनको छुटेको अनुहार, मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीको सखीसम्म पाठकले खरिद गरिरहेको सञ्चालक भण्डारीले बताए ।

पालिखेचोकमा साहित्यिक पुस्तकमात्र बिक्री थालेको रिडर्स कर्नरले कफीको चुस्कीमा किताब पढ्ने र बिक्री गर्ने गरी न्युरोडमा शाखा विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?