१५ कात्तिक, काठमाडाैं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स भिडिरहेका छन् । टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले हरिशंकर शाहको अर्धशतकको मद्दतमा काठमाडौंलाई १ सय ५० रनको लक्ष्य पेश गरेको छ ।
शाहले अर्का ओपनर अनिल शाहसँग पहिलो विकेटका लागि गतिलो साझेदारी गरेका थिए । सातौं ओभरमा ५४ रन बनाएको अवस्थामा अनिल २७ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले २७ बलकै सामना गरेका थिए । हरिशंकरले ४९ बलमा ६० रन बनाए । उनको इनिङमा ३ छक्का र ५ चौका समावेश थिए ।
तेस्रो नम्बरमा आएका पारस खड्काले १४ बलमा एक छक्काको सहयोगले १४ रन मात्रै जोड्न सके । तर, भारतीय ब्याट्सम्यान स्मित पटेलले आक्रामक ब्याटिङ गर्दै चितवनको इनिङ उकासे । उनले एक छक्का र तीन चौकासहित २४ बलमा ३१ रनको योगदान दिएर रनआउट भएका थिए । त्यस्तै, सन्नी पटेलले एक छक्काको सहयोगमा ७ बलमा १३ रन बनाएर आउट भए ।
बलिङतर्फ काठमाडोंका वसन्त रेग्मी सर्वाधिक सफल सावित भए । उनले ३ ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । यसैगरी पवन सर्राफ, नन्दन यादवले एक–एक विकेट बाँडेका छन् ।
ब्याटिङ पिच भएकाले एक सय ४९ रनको स्कोर रक्षा गर्नु चितवनका लागि चुनौतीपूर्ण हुनेछ । यद्यपि, उसँग करण केसी, शक्ति, गौचनजस्ता अनुभवी बलरहरु छन् ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी एचडीले गरिरहेको छ ।
हेर्नुहोस् चितवन राइनोज र काठमाडौं रोयलबीच भइरहेको खेलको प्रत्यक्ष प्रसारणः
प्रतिक्रिया 4