१६ कात्तिक, बुटवल । रुपन्देहीको देवदह नरपालिकाले तिहारको मुखैमा नयाँ नियम लागू गरेको छ ।
नगरपालिकाको नगरकार्यपालिकाबाट नै निर्णय गरेर मौलिक देउसी, भैलोलाई प्रोत्साहन गर्ने गरी तिहारको समयमा रेडिमेट (मोवाइल, पेनड्राईभबाट बजाइने ,रेकर्ड भएका ) गीत बजाएर नाच्न नपाउने नियम बनाएको हो ।
नगरपालिका प्रमुख हिराबहादुर खत्रीका अनुसार चर्को स्वरमा ठूलाठूला माईक बजाएर ध्वनी प्रदुषण गरे नियन्त्रणामा लिएर कारवाहीसमेत अगाडि बढाइने जनाए ।
अटेर गरेको पाइए ती सामानहरु नियन्त्रणमा लिइने छ । यो नियम नैपालमा नै पहिलो पटक लागू गरिएको उनको दाबी छ ।
‘पछिल्लो समयमा तिहारको समयमा मौलिक तिहारका गीतहरु भन्दापनि बढी पेन्ड्राईभ, मोवाइलबाट साउण्ड सिष्टममा जोडर जोडजोडका साथ गीत बजाउने नाच्ने गरिएको छ,नगरपालिकाले उक्त कार्य नियन्त्रणको लागि यो योजना बनाएको हो,’उनले भने ।
जसमा स्थानीय राजनीतिक दल, विभिन्न संघसंस्था तथा प्रहरी प्रशासनको समेत साथ दिएका छन् ।
शुक्रबार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरी सबै सरोकारवाला निकायले यस विषयमा प्रतिवद्धतासमेत जनाएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् ।
हिन्दी, अंग्रेजी, तथा नेपाली गीत, आधुनिक, लोक, पप वा चलचित्र कुनै पनि पेन्ड्राईभ, मोवाइलबाट बजाएर देउसी भैलो खेलेको खण्डमा त्यसलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाउने नगरपालिकाको निर्णयाको सबैले स्वागत गरेका छन् ।
विकृती कम गर्नको लागि गरिएको अभियानमा सबैको साथ रहेको रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले बताए ।
यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले प्रहरीले राम्रो कामको जहिले पनि साथ दिने भन्दै विकृती विसंगती नियन्त्रणको लागि आफूले २४ सै घण्टा सेवा दिने जानकारी दिए ।
प्रतिक्रिया 4