नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिदै नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा काम गर्ने भएकी छिन् । यसअघि आफै चलचित्र निर्माण गर्दै आएकी पूजाले यसपटक भने यो चलचित्रमा अभिनय मात्र गर्नेछिन् । एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । एक जना नायकको खोजी भैरहेको निर्माणपक्षले बताइएको छ । नायिका पूजा शर्माले यो चलचित्रका लागि १५ लाख पारिश्रमिक लिएकी छिन् । आफ्नो ब्यानर भन्दा बाहिरको चलचित्रमा पूजाले ‘म यस्तो गीत गाउँछु र रामकहानी’पछि काम गर्न लागेकी हुन् ।
यसअघि निर्मात्री पूनम गौतमको चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि १५ लाख पारिश्रमिक लिएकी थिइन् । नायिका पूजा शर्माले कथावस्तु राम्रो रहेकाले चलचित्रमा काम गर्न लागेको बताइन् । पूजाले भनिन्–‘मैले सधै आफ्नो ब्यानरको चलचित्र मात्र गर्छु भनेकी थिइनँ । कथावस्तु राम्रो आएको खण्डमा बाहिरी ब्यानरको चलचित्रमा पनि काम गर्ने योजना थियो । यसपटक कथावस्तुका कारण यो चलचित्रमा काम गर्न लागेकी हुँ ।’
चलचित्रको छायांकन माघबाट सुरु हुनेछ । म्यूजिकल लभ स्टोरी चलचित्रका लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सुगम पोखरेलले संगीत दिएका छन् ।
प्रतिक्रिया 4