Comments Add Comment

पत्रकारहरुलाई अर्थमन्त्रीको आग्रहः प्रतिपक्षी दल जस्तो नबन्नुस्

२१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिपक्षी दलजस्तो नबन्न आर्थिक पत्रकारहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका हुन् ।

सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएको तर, सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी ठीक नभएको उनले बताए । ‘तपाईहरु भनेको पत्रकार हो, प्रतिपक्षी दल होइन । प्रतिपक्षी दलको भूमिका र पत्रकारको भूमिका फरक हुन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘म ढिलोढिलो राजनीति बुझ्दैछु । योभन्छु कि पत्रकारहरुले राम्रो र नराम्रो दुबै भन्नु पर्छ ।’

नराम्रो मात्रै देख्ने र व्यक्ति विशेषलाई ध्यान दिएर मिडिया चलाउनुको कुनै अर्थ नहरेको उनले बताए । प्रेस स्वतन्त्रता र आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अर्थमन्त्रालय र आफू सँधै तयार रहेको समेत बताए ।

सरकारले गरेको गल्ती देखाउने पत्रकार नै भएको तर, पत्रकारले गरेको गल्ती कसैले नदेखाउने भन्दै उनले पत्रकारले गल्ती नै गर्न नहुने धारणा राखे । उनले भने, ‘गल्ती सबैबाट हुन्छ तर, हाम्रो गल्ती तपाईहरु लेख्नुहुन्छ, तपाईहरुको कसले लेख्ने ? यसकारण तपाईहरुले गल्ती नै गर्नु हुँदैन ।’

उनले सबै पत्रकारहको हकहितको सुरक्षणका लागि सधै अग्रसर हुन संघलाई आग्रह समेत गरे । विज्ञापन दातालाई गाली गर्न नसक्ने र निरीहलाई मात्रै गाली गर्ने चलन रहेको भन्दै त्यस्तो बेतिथि तोड्न समेत उनले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment