८ पुस, विराटनगर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवलाई पत्र लेख्दा एक उपसचिवलाई सरुवाको पूर्जी थमाइएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई पत्र लेखेर विवरण माग गर्ने श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई सरुवा पूर्जी थमाइएको हो ।
मंसिर ८ गते मन्त्रालयका सचिवलाई पत्र लेख्दै सञ्जेलले श्रम स्वीकृति दिन अस्वीकार भएका व्यक्तिले घुस्याहा र भ्रष्ट कर्मचारीलाई प्रभावमा पारेर काठमाडौंबाट झुक्याएर स्वीकृति लिन सक्ने बताउदै अस्वीकृत व्यक्ति पहिचान गर्न सक्ने जानकारी पठाउन आग्रह गरेका थिए ।
कर्मचारीतन्त्रमा ब्यापक भष्टाचार छ भन्ने प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाबाट पुष्टि भएको उल्लेखसहित जिल्लाबाट श्रम स्वीकृति दिदा भष्टाचार हुने भएकाले केन्द्रबाट अस्वीकृत भएका व्यक्तिको विवरण माग सहित पत्र पठाएका थिए । तर पत्रको जवाफ नपाउदै सञ्जेललाई आइतबार सरुवाको पूर्जी थमाइएको हो ।
सञ्जेललाई व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा सरुवा गरिएको छ । सञ्जेललाई पुस ५ गतेको सचिव स्तरको निर्णय अनुसार सरुवा गरिएको हो ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा रहेका सञ्जेलको डेढ महिनाअघि श्रम तथा रोजगार कार्यालय विराटनगर सरुवा भएको थियो । तर काम सुरु गरेको डेढ महिना नपुग्दै सञ्जेलको सरुवा गरिएको हो । ‘भष्ट्र कर्मचारी, ट्रेड युनियन र उद्योगीले मजदुरको हितमा काम गर्न दिएनन्’ सञ्जेलले भने ‘ म कानुनी उपचार खोज्छु ।’
सञ्जेलले आफूलाई सरुवा गर्नुमा घुसिया कर्मचारीकै हात भएको दाबी गरे ।
सञ्जेललाई पठाइएको सरुवा पत्र
सञ्जेलले मन्त्रालयका सचिवलाई लेखेको पत्र
प्रतिक्रिया 4