Comments Add Comment

वेलकम विन्टरः प्रकृतिसँग लय मिलाउने कि ?

जाडो यामसँग जोडिएका केही उदेगलाग्दो तथ्य छन् ।

भनिन्छ, जाडो यामले शारीरिक समस्या पनि बोकेर आउँछ । दम, रुँघा-खोकी, उच्च रक्तचाप आदि ।

भनिन्छ, जाडो सिजनमा चिन्ता, वेचैनी र डिप्रेसनको भय बढी रहन्छ ।

भनिन्छ, जाडो याममा मौसम उदास रहन्छ । यसले मान्छेको मनोविज्ञानमा गहिरो असर पार्छ ।

भनिन्छ, यतिबेला वायुमण्डलमा सुख्खा हावा वहन्छ । जताततै रुखो हुन्छ ।

भनिन्छ, जाडो याम कष्टकर हुन्छ ।

यी भनाईंलाई पुष्टि गर्ने केही आधार छन् । जाडो याम सकिए लगत्तै मनाइने रंगहरुको पर्व अर्थात होली लगायतका पर्व मनाइन्छ, जसले संकेत गर्छ ‘अब सुखका याम सुरु भए ।’ अर्थात धर्तीमा न्यानो छाउनेछ । वातावरण हरियाली हुनेछ । बोट बिरुवाले नयाँ पालुवा फेर्नेछ । रंगविरंगी फूलहरु फुल्नेछन् । सर्वत्र हराभरा छाउनेछ ।

अनि सुरु हुनेछ, उत्सवहरुको मेला । फागु, ल्होसार, साकेवा, तीज, इन्द्रजात्रा, गाईजात्रा, दशैं, तिहार इत्यादि । यी पर्वहरु खानपान, पहिरन, भेटघाट एवं मनोरञ्जनसँग जोडिएका छन् ।

जबकी जाडो यामलाई अन्न उत्पादनको हिसाबले पनि प्रतिकुल मानिन्छ । यतिबेला कन्दमुल जस्ता खानेकुरा भण्डारण गर्ने र खाने यामको रुपमा बुझिन्छ । भलै, आजको दिनमा त्यस्तो परिस्थिती छैन ।

ईस्कुसको जरा, तरुल, पिँडालु जस्ता कन्दमुल खानका लागि पनि पूर्खाहरुले निश्चित समायवधी राखेका रहेछन् । गाउँघरतिर अझैपनि भनिन्छ, पुस-माघ सुरु नभई फलानो खानेकुरा खान हुँदैन । संभवत खानेकुराको अभाव टार्न वा जतन गर्नका लागि यस्तो प्रचलन चलाएको हुनुपर्छ । साथसाथै मौसमी खानेकुराले स्वास्थ्यमा पार्ने प्रभावबारे पनि उनीहरुले संकेत गरेको हुनुपर्छ ।

अब जिज्ञासा उठ्छ, के जाडो यामसँग वास्तवमै दुःखका दिनहरु सुरु हुन्छ ? जाडो याम कष्टकर हुन्छ ? जाडो यामले उदासी ल्याउँछ ?

निश्चय पनि मौसमी परिवर्तनले हाम्रो जनजीवन प्रधावित बनाउँछ । त्यसो भन्दैमा जाडो यामले दुःख, कष्ट, समस्या, निरासा निम्त्याउँछ भन्ने होइन । किनभने यो मौसमी चक्र हो । ३ सय ६५ दिन नै हाम्रो लागि परिवर्तन हो । चक्र हो । र, यही चक्रसँग हामी एकाकार हुनुपर्छ ।

प्रकृतिसँग लय मिलाउने कि ?

जब हामी प्रकृतिसँग लय मिलउँछौं, तब हामीमा सुख र खुसी रित्तिदैन । सधै कायम रहन्छ । चाहे कठ्यांगि्रने जाडोमा होस् । चाहे रापिलो गर्मीमा होस् । चाहे दर्के झरीमा होस् । चाहे वेगवान हावाहुरीमा होस् ।

यी त प्रकृतिका स्वभाविक प्रक्रिया हुन् । चलिरहने । निरन्तर-निरन्तर ।

कुनैपनि मौसममा कसरी रमाउने ? मौसमी परिवर्तनलाई कसरी आत्मसात गर्ने ? मौसममा आउने फेरवदलसँगै कसरी आफ्नो लय मिलाउने ?

यी कुरा जान्ने हो भने हामीले हरेक प्रतिकुलतामा पनि खुसी कायम राख्न सक्छौं । जस्तोसुकै मौसमी परिवर्तनमा पनि आफुलाई फिट एन्ड फाइन राख्न सक्छौं ।

त, जाडोको कुरा गरौं ।

पुस महिना सुरु भइसकेको छ । चिसो वायु चल्न थालेको छ । घामको राप मलिन हुँदै गएको छ । चिसो रात लम्बिदै गएको छ । यस किसिमको मौसमी परिवर्तनमा तालमेल मिलाउन हामीले आफ्नो जीवनशैली अझ भनौं दिनचर्याको लय बदल्नुपर्छ । खानपानको मेनु बदल्नुपर्छ । पहिरनको शैली बदलनुपर्छ ।

ओछ्यान छाड्नुअघि तात्तातो पानी

निश्चय पनि यतिबेला बिहान ओछ्यान छाड्न गाह्रो हुन्छ । न्यानो ओछ्यान कसरी छाड्ने ?

जाडोमा अल्छी होइन, बरु जाँगर गरौं । बिहान साविककै समयमा उठ्ने तालिका तय गरौं । ओछ्यान छाड्नुअघि शरीरलाई चलाउने, तन्काउने, खुम्चाउने गरौं । तातो पानी पिउने गरौं । अरुबेला मनतातो वा चिसो पानी पिउने बानी छ भने त्यसमा थोरै परिवर्तन गर्न सकिन्छ । जाडोमा तात्तातो पानी पिउनुको मज्जा बेग्लै छ नि ।

तातो पानी पिएर शरीर तंग्राइसकेपछि ओछ्यान छाड्न गाह्रो हुन्न । त्यसपछि नियमित दिनचर्या सुरु गर्न सकिन्छ । वाथरुम जाने । शौच क्रिया सक्ने । प|mेस हुने । यतिबेलासम्म चिसो अनुभव हुनसक्छ । शरीर कठ्यागि्रदै गएको पनि हुनसक्छ ।

शारीरिक क्रियाः भित्रैबाट न्यानो

ज्यान तताउने के गर्ने ?

यसको सबैभन्दा सरल र प्रभावकारी काइदा हो, व्यायाम । उपि|mनुपर्छ, तन्कनुपर्छ, दौडनुपर्छ । यावत् क्रियाले शरीरलाई भित्रैबाट न्यानो दिलाउँछ । आगो वा हिटर तापेर, सिरकभित्र डल्ला परेर त क्षणिक रुपमा न्यानो प्राप्त गर्न सकिन्छ । यी न्यानोका वाहिरी स्रोत हुन् । भित्री स्रोत शरीरभित्रै छ ।

यतिबेला के पनि बुझ्नुपर्छ भने, हाम्रो शरीर-संरचना आफैमा अनमोल छ । न्यानो शरीरभित्र छ । सितल पनि शरीरभित्रै छ । यद्यपी हामी आफैसँग भएका यी स्रोतको उपयोग गर्दैनौं । नजानेर मात्र होइन, नचाहेर पनि ।

जब वाहिरी वातावरण चिसो हुँदै जान्छ, शरीरले भित्रैबाट स्वतस्फूर्त तापमान कायम राख्न खोज्छ । त्यही कारण त चिसो बढ्दै जाँदा छालामा काडा उम्रन्छ । कम्पन छुट्छ । कम्पन छुट्नु भनेको शरीर चलायमान बनाउनु हो । जब हामी थरथर काम्न थाल्छौं, त्यसले पनि तापमान पैदा गर्छ । यो शरीरले स्वतस्फूर्त गर्ने क्रिया हो ।

त्यसैगरी जब गर्मी हुन्छ । शरीरले स्वतः पसिना पैदा गर्छ । पसिना आउनु भनेको शरीरलाई शितलता कायम गर्नु हो ।

मौसमी तापमानसँग यसरी तालमेल मिलाउनका लागि शरीरभित्र नै यस्तो प्रणाली छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । चाहे जतिसुकै जाडो होस् । मौसम धुम्मिएको होस् । हिउँ परेको होस् । शारीरिक क्रिया गर्नुपर्छ, श्रम गर्नुपर्छ शरीर आफै न्यानो हुन्छ । शरीरलाई सक्रिय वा चलयामान बनाएर न्यानो पैदा गर्नका लागि व्यायाम सर्वोत्तम विकल्प हो ।

व्यायाम गरेपछि रक्तप्रवाह सहि ढंगले हुन्छ । श्वासप्रश्वास प्रक्रिया चुस्त हुन्छ । शरीरका अंग-प्रत्यंग सक्रिय हुन्छ । शरीरमा बेग्लै फूर्ति अनुभूत हुन्छ ।

जाडो याममा शरीरलाई न्यानो राख्ने काइदा भनेको दिनभर शारीरिक रुपमा सक्रिय रहने हो । खेती किसानी गर्ने वा शारीरिक काम गर्नेलाई त यस्तो जाडोले खासै असर गर्दैन । घरभित्र बसेर वा एकै स्थानमा बसेर काम गर्नेहरुले भने शरीरलाई सक्रिय राख्नुपर्छ ।

कार्यलयमा वा आफ्नो कार्यथलोमा रहँदा पनि हिँडडुल गर्ने, यताउता गर्ने गरौं ।

तात्तातो सुप र मौसमी खाना

जाडो यामलाई स्वागत गर्ने अर्को काइदा हो, खानपान । यतिबेला तात्तातो अझ झोलिलो खानेकुरा राम्रो हुन्छ । झोलयुक्त खानेकुरा सुपाच्य हुन्छ । यसले शरीरमा पानीको मात्रा पनि पुरा गर्छ । अक्सर जाडोमा हामी कम पानी पिउने गर्छौं । जबकी यही मौसममा शरीरलाई पानीको अभाव बढी हुन्छ ।

वातावरण सुख्खा र रुखो हुँदा त्यसको प्रभाव पनि शरीरमा पर्छ । त्यसैले हातखुट्टा फुट्ने, फुस्रो हुने, चाया पर्ने, ओंठ फुट्ने जस्ता समस्या देखापर्छ । यस्ता समस्याबाट छुटकारा पाउन क्रिम दलेर मात्र हुँदैन । क्रिम त बाहिरी उपचार हुन् । भित्रैबाट वा प्राकृतिक रुपमा त्यसका निदान खोज्ने हो भने पर्याप्त झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।

त्यसैगरी मौसमी फलफूल, सागसब्जीको सेवन गर्नुपर्छ । प्रकृतिले कुनैपनि फलफूल, अन्न, सागसब्जी त्यहीबेला उत्पादन गर्छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यदि मौसमसँग तालमेल मिलाएर उपयुक्त खानेकुरा सेवन गर्ने हो भने हामी निरोगी र तन्दुरुस्त पनि हुन सक्छौं ।

न्यानो पहिरनको कम्बिनेसन

जाडोमा न्यानो लुगा लगाउनुपर्छ । पुरा शरीर ढाक्ने । यतिबेला फेसनेवल पुस्ताहरु अलि असहज मान्छन् । उनीहरु जाडोको पहिरनमा फेसनेवल लुक्स पस्कन सकिदैन भन्ने ठान्छन् । जबकी फेसन विज्ञहरुको धारणा फरक छ । उनीहरु भन्छन्, मौसम अनुकुल पहिरनले नै फेसनेवल देखाउने हो ।

यतिबेला उलन स्विटर, लङ कोट, टोपी, मफलर, लङ बुट, फिटिङ्स पाइन्ट वा लेगिङ्सको कम्बिनेसन कति सुहाउँछ ?

यी त भए जाडोमा कस्तो दिनचर्या, खानपान र फेसनशैली अपनाउने भन्ने कुरा । अब जाडोको आनन्द चाहि कसरी उठाउने त ?

वेलकम विन्टरः जाडोमा इन्जोए गर्ने काइदा

जसरी दर्के झरीमा रुझेर आनन्द लिइन्छ, शरदिय मौसममा घुमघाम गरेर मज्जा लिइन्छ, त्यसरी जाडो याममा पनि इन्जोए गर्न सकिन्छ ।

जाडो उत्कर्षमा पुग्दै गर्दा कतिपय भेगमा हिँउ फुस्फुसाउन थाल्छ । यदि पायक पर्ने स्थानमा हिँउ पर्छ भने वेपर्वाह हिँउमा खेल्न सकिन्छ । यस्तो आनन्द अन्य मौसममा कहाँ लुट्न पाइन्छ ?

मानौं, मौसम धुम्मिएको छ । वेस्सरी चिसो बढेको छ । यतिबेला तपाईं घरमै हुनुहुन्छ । हिटर वा आगोले कोठालाई न्यानो बनाउनुहोस् । कफी तयार गर्नुहोस् । कुनै रोमान्टिक धुन बजाउनुहोस् । कफीको चुस्की लिँदै मनपर्ने पुस्तक/उपन्यास पढ्नुहोस् । के यस्तो आनन्द अरुबेला उठाउन सकिन्छ ?

यस्ता थुप्रै काइदा हुनसक्छ । जाडोलाई स्वागत गर्ने । पारिलो घाममा बसेर बदाम र सुन्तला खानुहोस्, पारिवारिक जमघट गर्नुहोस्, हिँउ खेल्न जानुहोस्, तात्तातो सुप वा कफी बनाएर पिउनुहोस् । जाडोलाई यसरी हार्दिकतापूर्वक स्वागत गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment