+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सडकमा हामी कति सभ्य ? (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते ५:३०

१८ पुस, काठमाडौं । बानेश्वर चोक । नजिकै छ, राज्य सञ्चालनका लागि आवश्यक नीति नियम बनाउने र त्यसउपर छलफल गर्ने प्रतिनिधिहरुको थलो संसद भवन । तर, त्यसैको छेउ सडकमा भने सामान्य नीति नियममा ‘नागरिक मजाक’ भेटिन्छ ।

चारपाङ्ग्रे, दुईपाङ्ग्रे गाडीहरु हुइँकिरहेका छन् । जेब्रा क्रसिङमा पैदल यात्रुले ट्राफिक बत्ती हेरेकै छ नि भन्नेमा ढुक्क छ चालक । तर, पैदल यात्रुलाई त्यत्रो फुर्सद कहाँ ? उनीहरु जहिल्यै हतारमा छन् ।

रातो बत्ति बल्दा रोकिनुपर्ने र हरियो बत्ती बल्दा बाटो काट्नुपर्ने सामान्य नियम उनीहरुलाई थाहा नभएको होइन । तर, कतिपय पैदल यात्रु त्यसको पालना गर्नु आवश्यक ठान्दैनन् ।

रातो बत्तीले रोकिने संकेत गरिरहँदा पनि हतारिँदै बाटो काटिदिन्छन् । त्यसैले धेरै भिड हुने समयमा त नियम पालना गराउन प्रहरीले हातमा लौरो लिएर नै बसेको देखिन्छ ।

ट्राफिक बत्ती नभएको कतिपय जेब्रा कसिङमा त पैदल यात्रुलाई प्राथमिकता नदिने र मिलेसम्म पेलेरै जाने सवारी चालकहरु ट्राफिक बत्ती भएका ठाउँमा त रोकिने आशै नगरौँ । मोटरसाइकल चालकमा त अझ कतिपय नियम पालनाको आश गर्नु आफ्नै मूर्खता हुनेछ ।

यहाँ जरुरी कामले हतारिएकाहरु त छँदैछन् । चोकमा बसेर चिया र चुरोट खान, क्यारेमबोर्ड खेलेको हेर्न, सुन्तला र बदाम छोडाएर घाम ताप्न पनि हतारो हुन्छ ।

त्यसैले त चालक हुन् या ट्राफिक ढुक्क हुन कहाँ पाउनु ? पैदल यात्रुलाई लिएर न त चालक ढुक्क छन् न त ट्राफिक प्रहरीको हम्य कम भएको छ । ट्राफिक प्रहरीलाई त आधा मिनेट कुरा गर्ने फुर्सदसम्म छैन ।

आकाशे पुल उक्लिन जाँगर मरेका पैदल यात्रु हुन् वा हरियो बत्ती र ट्राफिक इशारा पर्खने धैर्य नभएका यात्रु हुन्, आफैं ट्राफिकझैँ बनेर एक हात ठडाएर खराखर हिँडिरहेको देखिनु काठमाडौंमा नौलो छैन ।

व्यस्त सडकका पैदल यात्रुहरु कसैको चाल आँगनमा बिस्कुन सुकाउन गएजस्तो छ । कोही भने एक सेकेण्ड ढिलो हुँदा चिठ्ठाको रकम गुम्ने डरमा कुदेजस्ता देखिन्छन् ।

दुर्घटनामा प्रायः गाडी र चालकलाई दोष दिने कतिपय पैदल यात्रुहरु त आफ्नो दुवैतिर केही पाइतालाको दूरीमा रहेका जेब्राक्रससम्म पुग्न पनि जाँगर निकाल्दैनन् । दुईतिरका जेब्राक्रसलाई दायाँबायाँ छाडेर उभिएकै ठाउँबाट बाटो काटिदिन्छन् ।

कतिपय बेला ट्राफिक बत्ती बिग्रिएका देखिन्छन्, त्यसले जेब्राक्रस भएका ठाउँमा पनि व्यवस्थापन वा प्रयोग राम्रोसँग भएको देखिँदैन । यसमा ट्राफिकलाई दोष लगाइएला, दुर्घटना भए गाडी र चालकलाई । तर, पैदलयात्रुलाई आफ्नै सुरक्षाका लागि भनेर बनाइएको जेब्राक्रसमा आफ्नै ख्याल भने छैन ।

अरुले ख्याल गर्लान् नगर्लान्, आफ्नो जिउज्यान जोगाउने बढी हेक्का आफैले राख्ने हो । अरुले त बस् सचेत गराउने मात्रै हुन् । लामो समय भयो, पैदल यात्रुलाई ट्राफिकले सचेत गराउन थालेको पनि । तर, परिवर्तन देखिएको छैन । सभ्यता देखिएको छैन ।

बानेश्वरकै मुख्य सडकमा हिँड्दा पनि त्यस्तो लाग्दैन । हेर्दा चिरिच्याट्ट परेका छन्, वय युवा नै छ, तर सडक सँस्कार भने धेरैको टिठलाग्दो देखिन्छ । अझ क्याम्पस पोशाकमा भएका विद्यार्थीसमेतले सडक अनुशासन वेवास्ता गरेको देख्दा भने उदेक नै लाग्छ ।

बानेश्वर चोकमा केही मिनेट ट्राफिक बत्ती पर्खिएर बाटो काट्ने र नियम पालना गर्नेहरुको भिडमा केही अटेरीहरुले नियम बिगारिरहेका हुन्छन् । पर्खिएर बाटो काट्नेहरुको पनि सास्ती भने कम छैन । सडकको दुवैतिर जम्मा भएका सयौँ पैदल यात्रु वारपार गर्दा युद्ध भूमिमा लड्न तयार सेना जस्ता लाग्छन् । कोही अलमलिन्छन्, कोही बीचैमा धकेलिन्छन् ।

अर्घाखाँचीका मीननाथ भट्टराई बानेश्वरमा आकाशे पुल नभएकैले दुःख परेको बताउँछन् । कतिपय पैदल यात्रुले गाडी आइरहँदा पनि हात बढाएर अटेरी गर्दै बाटो काट्ने गरेको भने राम्रो नभएको उनले सुनाए ।

कोटेश्वरका बिम्ब कुमार लिम्बु पनि बानेश्वरमा गाडीको चाप हुने हुँदा बाटो काट्न मुस्किल हुने सुनाउँछन् । ‘बाटो काट्नेलाई त छँदैछ । यहाँ त ट्राफिकलाई पनि धौ धौ नै हुन्छ । हुन त हामी आफैमा पनि अबुझ छौँ । हतार गरिहाल्छौँ । हामीले ट्राफिक लाइट र ट्राफिकको इशारा हेरेर नै बाटो काट्नुपर्छ’ उनले भने ।

चोकमै खटिएका प्रहरी भने मानिसहरुको लापरबाही नै धेरै भएको सुनाउँछन् ।

‘लापरवाही नै हो । त्यस्तोमा धेरै त अझ विद्यार्थी नै छन् । बुढोपाका त बुढोपाका भइ हाले । उनीहरुलाई त बुबा आमा, दिदी दाइ भनेर सम्झाउँदा पनि मान्छन् । कतिपय विद्यार्थी त हतार हतार गाडी पनि नहेरी हिँड्छन्’ बानेश्वर चोकमै खटिएका उनको भनाइबाट पनि पैदल यात्रुको प्रवृत्ति थाहा हुन्छ,

‘कतिपटक त सडकमै लडेका पनि छन् । हिजो मात्रै स्कुटरमा ठोक्किएर एक जना लडे, अब कसको गल्ती भन्नु ? के गर्नु ? पहिले जथाभावी बाटो काट्नेलाई जरिवाना तिराएर, कक्षा लिएर मात्र छाडिने गरिएको थियो । त्यो सही थियो जस्तो लाग्छ । सुधार पनि देखिएको थियो’ उनले भने ।

जथाभावी बाटो काट्नेलाई दुई सय रुपैयाँ जरिवाना गराउने प्रावधान अहिले हटिसकेको छ । सडकमा त पैसा नै नभएको मान्छे पनि त हिँड्छन् नि भन्ने भएपछि प्रहरीले त्यसलाई निरन्तरता दिएन ।

‘सडकमा कतिपय जरिवाना तिर्न नसक्ने मान्छेहरु पनि नियम मिच्दा भेटिएका थिए । त्यही कारणले जरिवानको नियम हटाइयो’ महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त पन्तले भने, ‘सडकमा केही व्यक्ति जानाजान, केही व्यक्ति अन्जानमा जथाभावी बाटो काटिरहेका हुन्छन् । जथाभावी गर्नेमा धेरैजसो विद्यार्थी देखिएकाले पनि उनीहरुले अन्जानमा गरेका हुन् भन्न त सकिँदै सकिँदैन ।’

सडक सवारीका लागि हो । हामीले सडक पार गर्दा सचेत हुनुको विकल्प छैन । सडक पार गर्दा ट्राफिक संकेत पालना गर्ने र सडकमा हिँड्दा पनि सडक किनारको प्रयोग गर्नुपर्ने कुरा बुझ्नै नसकिने पाठ पनि होइन । उपत्यकामा तीन वर्षमा १ सय १८ पैदल यात्रुको मृत्यु भएको तथ्यांकले पनि हामीलाई अनुशासित हुन झस्काउनुपर्ने हो ।

‘हामीले दुई महिना अघि झण्डै ४४ हजार मानिसलाई सडकमा सचेतना कक्षा पनि दिएका थियौँ । त्यसलाई निरन्तर गरिराख्न पनि सम्भव नहुने हुँदा अहिले फेरि उस्तै भइसकेको छ । सडकअनुशासन पालन गरिदिने हो भने दुर्घटना कम गर्न सकिन्छ’ ट्राफिक महाशाखा प्रमुख पन्तले भने ।

‘सडकमा वेवास्ता गर्दा ठूलो मानवीय क्षति भएको छ । तर अझै पनि मानिसहरु तीब्र गतिमा चलिरहेको सवारी साधनलाई समेत हात दिएर रोकेर जथाभावी बाटो काट्ने गरिरहेका हुन्छन्’ उनले भने, ‘यसैले धेरै व्यक्तिहरु बाटो काट्ने स्थानमा जथाभावी बाटो काट्ने जोखिम नहोस् भनेर बाटो कटाउनकै लागि ट्राफिक प्रहरी खटाउने पनि गरेका छौँ ।’

हामीले लगातार तीन दिनसम्म बानेश्वर चोकमा सडक वारपार गर्ने पैदल यात्रुलाई भिडियो क्यामराबाट पनि नियाल्यौँ । ट्राफिक बत्तीको पालना नगर्ने कतिपय पैदल यात्रु क्यामरा देखेपछि भने सचेत बने । रातो बत्ती बलेका बेला बाटो काट्न लागेका उनीहरु क्यामरा देखेपछि हच्किन्थे र पछाडि फर्किन्थे ।

त्यो सबै देख्दा बुझिन्छ, मान्छेको सभ्यता देखावटी भएको छ । नियम पालना देखावटी भएको छ । सानो कुराको वेवास्ताले ठूलो दुर्घटना हुन सक्नेतर्फ ध्यान छैन । ट्राफिकले नहेरेको बेलामा कसले नियम पालना गरोस्, फ्याट्ट पारि पुगेपछि त सक्किहाल्यो नि ! तर, फ्याट्ट पारि पुग्नुपर्नेमा झ्वाट्ट माथि पुगियो भने नि ?

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?