
२९ फागुन, काठमाडौं । पछिल्लो समय हकप्रद सेयर बिक्नै मुश्किल हुन थालेको छ । दोस्रो बजारमा महंगो सेयर पनि लगानीकर्ताहरुले नकिन्दा कम्पनीहरुले लिलामीको माध्यमबाट यस्तो सेयर बिक्री गर्ने गरेका छन् ।
आजको मितिमा पनि २ वटा कम्पनीहरुको हकप्रद सेयर लिलामीमा रहेको छ । दुई वटा फाइनान्स कम्पनी र एउटा निर्जिवन बीमा कम्पनीले हकप्रद सेयर बिक्री नभए पछि लिलामीमा निकालेका छन् ।
हकप्रद सेयर जो सेयरधनी छ उसले बजार मूल्य जतिधेरै भए पनि एक सय रुपैयाँ प्रतिकित्तामै आवेदन दिएर किन्न पाउँछन् ।
यहाँ अचम्मको कुरा त ४ सय रुपैयाँ भन्दा बढी दोस्रो बजारको मूल्य रहेको सेयर समेत लगानीकर्ताहरुले एक सय रुपैयाँमा नकिने पछि लिलामीमा आएको छ ।
आइएमई जनरलको मंगलबारसम्म दोस्रो बजारमा ४ सय १६ रुपैयाँ रहेको छ । लगानीकर्ताहरुले हकप्रद किनेका भए एक सय रुपैयाँमै किन्न पाउँथे ।
लिलामीमा निकाले दुई फाइनान्स कम्पनीहरु जेविल्स र रिलायन्सको दोस्रो बजारमा क्रमशः १ सय ४६ रुपैयाँ र १ सय १६ रुपैयाँमा कारोबार भइरहेको छ ।
हकप्रद सेयर बिक्री नभए पछि आइएमई जनरलले १ हजार ५ सय ९८ कित्ता संस्थापकतर्फको र १ लाख ७ सय ६६ कित्ता सर्वसाधारण समूहतर्फको सेयर फागुन २२ गतेदेखि लिलामीमा निकालेको छ ।
भोलि अर्थात फागुन ३० गतेसम्म यसको सेयरका लागि न्युनतम् एक सय रुपैयाँ नघटाई लिलामीमा सहभागी हुन सकिन्छ ।
उता जेविल्सको नबिकेको ३ हजार ४० हजार ९ सय ५५ दशमलव ५० कित्ता संस्थापक समूहतर्फको सेयरका लागि चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सकिनेछ भने रिलायन्सको १ लाख ८८ हजार ८ सय ७४ दशमलव ५२ कित्ता सेयरका लागि चैत १ गतेसम्म आवेदन दिन सकिनेछ ।
किन बिक्दैन हकप्रद सेयर ?
हकप्रद सेयर नबिक्नुको मुख्य कारण भनेको सूचनाको पहुँच नै हो । हकप्रद सेयर खुला भएको समयमा सूचना नपाउँदा लगानीकर्ताहरुले चाहेर पनि किन्न पाउदैनन् ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल जानकारी नै नपाएका कारण हकप्रद सेयर बिक्रि नहुने गरेको बताउँछिन् । स्वदेशमा रहेका भन्दा पनि धेरै विदेशमा रहेका लगानीकर्ताहरुका कारण हकप्रद सेयर बिक्रि नहुने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।
‘जो एक्टिभ हुनुहुन्छ उहाँहरुलाई त हकप्रद खुल्नु भन्दा पहिले देखि नै जानकारी हुन्छ, विशेष गरेर विदेशमा भएका लगानीकर्ताहरु हकप्रद भर्नबाट बञ्चित हुनुहुन्छ’, उनले भनिन्, ‘स्वदेशम भएका पनि त्यति सक्रिय नभएका लगानीकर्ताहरु यसबाट छुट्नुहुन्छ ।’
प्रतिक्रिया 4