
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ निकै लोकप्रिय छ । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए ।
तर, विगत तीन एपिसोड भने नम्बर १ मा आएनन् । यस सन्दर्भमा भद्रगोल टिमले आफ्नो भ्यूज चोरी हुन थालेको दावी गरेको छ ।
टेलिश्रृंखलाका निर्देशक अर्जुन घिमिरेले भद्रगोलको भ्यूज घटेको देखिएपछि केही प्राविधिकहरुसँग बुझ्दा भ्यूज चोरी भएको देखिएको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘अस्तिको एपिसोडको भ्यूज आधा घन्टा अगाडि नौ लाख ६१ हजार थियो । तर आधाघन्टा पछि घटेर ७ लाख ५६ हजार भयो । यस अगाडिको एपिसोड पनि १४ लाख भ्यूजबाट ११ लाखमा झरेको थियो । त्यसैले भ्यूज घटेको विषयमा हामीले सोधखोज ग¥यौं । र, यूट्यूवको सिस्टम बुझेका व्यक्तिहरुबाट अरु कसैले हाम्रो डलर खर्च गरेर हाम्रो भ्यूज चोरेको हुन सक्ने जानकारी पाइयो ।’
भ्यूज घटेपछि ट्रेन्डिङमा पनि असर गरेको उनले बताए । साथै उनले यस सम्वन्धमा यूट्यूमा आफूहरुले पत्राचार पनि गरेको तर कुनै जवाफ नआइसकेको जानकारी दिए ।
‘भ्यूज चोरी भएको पक्का हो, तर कसले चोरेको हो भन्न सकिने अवस्था छैन,’ घिमिरेले भने, ‘यसमा हामी अझै पनि जाँचबुझ गरिरहेका छौं ।’ उनले भ्यूज चोरीको दाबी गरे पनि त्यसको प्रष्ट आधार भने पेश गर्न सकेनन् ।
प्रतिक्रिया 4