Comments Add Comment

प्रहरी समायोजनको तथ्यांक तयार, तह बढुवा गर्न अस्वीकार

१९ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको बताएका छन् । सैद्धान्तिक विषयमा कुरा मिल्नासाथ समायोजनको काम सकिने उनको भनाइ छ ।

बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खनालले भने, ‘अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेका छौं, समायोजनको निम्ति तयारी अवस्थामा छौं । सैद्धान्तिक कुरा मिल्नासाथ सबै मिल्छ ।’

कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भनेर प्रारम्भिक तथ्यांक तयार पारेको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाएको उनले जानकारी दिए ।

बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए । तर, कस्तो खालको अप्ठेरो हो, उनले विस्तृतमा खुलाएनन् ।

समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी उनले दिए । उनले भने, ‘यसमा अझै गृहकार्य गरौं, हामी आज नै ठोस प्रस्ताव तयार पार्छौं र त्यसमा थप छलफल गरेर टुंगो लगाउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment