Comments Add Comment

रेडक्रसको रक्तसञ्चार केन्द्रमा पाँच लाख घोटाला !

१९ असार, विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा करिब पाँचलाख घोटाला भएको आरोप लागेको छ ।
सर्बसाधारणले रक्तदान गरेको रगत बिक्रीबाट आम्दानी गरेको रकममध्ये करिब ५ लाख रकम घोटला भएको हो ।

रक्तसञ्चारको आम्दानी घोटाला प्रकरणमा रेडक्रसका जिल्ला तहका पदाधिकारी पनि जोडिएपछि पदाधिकारीलाई जोगाउन रक्तसञ्चार केन्द्रका कर्मचारी राजुकुमार राजवंशीको नाममा वडा कार्यालयमा ४ लाख ८३ हजार ११८ रुपैयाँको तमसुक गराइएको छ ।

रेडक्रस र रक्त सञ्चार केन्द्र मोरङको संयोजक सुबोधकुमार सिंह छन् । सिंह दैनिक रुपमा रक्तसञ्चार केन्द्रमा उपस्थित हुन्छन् । उनको कार्यकाल सुरु भएपछिको अवस्थामा घोटालाको विषय सार्बजनिक भएपछि उनले नै राजवंशीलाई वडा कार्यालय लगेर कागज गराएका हुन् ।

राजवंशी ८ वर्षअघि रक्तसञ्चार केन्द्रमा नियुक्ति पाएका व्यक्ति हुन् । सर्बसाधारणबाट निशुल्क रुपमा प्राप्त रगत बिक्री गर्ने काउन्टरमा बस्ने राजवंशीले बैंकमा रकम जम्मा नगरेको स्वीकार रगेका छन् ।

रक्तसञ्चार केन्द्रको भवनमा राष्ट्रिय वणिज्य वैंकको कार्यालय पनि छ । दैनिक केन्द्रमा उठेको रकम बैंकमा जम्मा गर्नुपर्छ । तर राजवंशीले पछिल्लो दुई वर्षयता संकलन भएको मध्ये थोरै मात्र रकम जम्मा गर्दै आएको स्रोतको दाबी छ ।

उपभोक्तावादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल सर्बसाधारणले दान गरेको रगतमा पनि रेडक्रसले भ्रष्टाचार गरेको गुनासो गर्छन् । भ्रष्टाचारमा पदाधिकारीको संलग्नता देखिए पनि जोगाउन कर्मचारीलाई मात्र कागज गराइएको उनले बताए ।

सभापति भन्छन् : तमसुक गरेको हो

रेडक्रस सोसाइटी मोरङ साखा सभापति एवं रक्तसञ्चार केन्द्रका संयोजक सुबोधकुमार सिंहले कर्मचारीसँग रेडक्रसले कागजी तमसुक गरेको स्वीकार गरे । भ्रष्टाचार प्रकरणको विषयमा आफूलाई जानकारी नभएको बताउँदै उनले सबै विषय कार्यालय प्रमुखलाई थाहा हुने बताए ।

रक्तसञ्चार केन्द्र विराटनगरका प्रमुख कुमार निरौलाले रेडक्रसको रकम हिनामिना भएपछि छानविनका लागि समिति गठन गरिएको बताए । जिल्ला कार्यसमितिले उपसभापति रामानन्द यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको उनले बताए ।

समितिले भ्रष्टाचारका विषयमा पदाधिकारी र कर्मचारीको संलग्नता भए नभएको अध्ययन गर्नेछ । उनी २०७२ सालयता निरन्तर रुपमा आर्थिक हिनामिना हुँदै आएको देखिएको बताउँछन् । सम्पूर्ण विषयको छानबिनका लागि समिति गठन गरेकाले समितिले थप निर्णय लिने उनको भनाई छ ।

अख्तियारमा उजुरी

मानव स्वास्थ्यसँग जोडिएको रक्तसञ्चार केन्द्रमा रकम घोटाला भएको विषय गुपचुप राख्न खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुुरी परेको छ । संवेदनशील संस्थामा भएको घोटालालाई गुपचुप पार्न खोजिएको भन्दै पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले अख्तियारमा छानविनका लागि उजुरी दिएका हुन् ।

बर्तमान कार्य समितिले बनाएको छानविन समितिले काम गर्न नसक्ने बताउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment