
१७ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा छोरीकै संलग्नता रहेको देखाउँदै प्रहरीले प्रारम्भिक प्रगति विवरण सार्वजनिक गरिसकेको छ । तर, घटनासँग जोडिएको एउटा रहस्यबारे अहिलेसम्म न प्रहरीले मुख खोलेको छ न त पक्राउ परेका चार आरोपितले नै ।
सप्तरीका मोहम्मद नौसादसँग विवाहेत्तर सम्बन्धका कारण ईश्वरी भट्टराईले दुई जना ‘कन्ट्याक्ट किलर’ प्रयोग गरेर आमाको हत्या गराएकी थिइन् । घटनापछि प्रहरीको सहयोगी बनेर किटानी जोहरी दिने कार्यमा सरिक हुँदा उनले दराजमाथि रहेको २२ लाख रुपैयाँ लुटिएको दाबी गरेकी थिइन् ।
उनका श्रीमान सोनाम थापा मगर र परिवारका अन्य सदस्यले पनि रकम लुटपाट भएको जिकिर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा दिइएको किटानी जोहरीमा पनि भनिएको छ, ‘दराजमाथि राखिएको २२ लाख रुपैयाँ घटनापछि गायब छ ।’
सावित्रीका भाइ विष्णुप्रसाद गौतमले जाहेरीमा हस्ताक्षर गरेका छन् । तर, रकम कसले लग्यो भन्ने खुलेको छैन ।
कन्ट्याक्ट किलर पैसा नपाउँदा अलपत्र ?
नौसाद यूएईमा रहँदा बनेको योजना अनुसार आक्रमणकारीहरु घरमा कोही नभएको मौका छोपेर सावित्रीको घरमा छिरेका थिए । ‘कन्ट्याक्ट किलर’ अर्जुन कुमार भनिने भोला कुमारले हात समाते र मोहमद रइसले चक्कु प्रयोग गरेर घाँटी रेटेको प्रहरी अनुसन्धानले देखाएको छ । यो कामका लागि भोला र रइसलाई १२ लाख रुपैयाँ दिने मौखिक सहमति भएको थियो । तर, काम फत्ते भइसक्दा पनि पैसा पाएका थिएनन् ।
सावित्रीको हत्याअघि नै पैसा पाउने छाँटकाँट नदेखेपछि उनीहरुले २२ लाख पनि लुकाए ?
तर, दुई जना घर फर्किने पैसा नभएकै कारण मकवानपुरमा बसेको अनुसन्धान अधिकृतको दाबी छ । प्रहरीले नौसादलाई पक्राउ गरेपछि घटनामा भोला र रइसको संलग्नताबारे खुलेको थियो ।
उनीहरुलाई भने नौसाद पक्राउ परेको थाहा थिएन, जुन कुराको फाइदा उठाउँदै प्रहरीले भोला र रइससम्म पुग्ने जाल बिच्छ्यायो । प्रहरीले नौसादमार्फत सम्पर्क गरेर पैसा दिने बहानामा भेट्न बोलाएर उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसन्धान अधिकृतका अनुसार उनीहरुले घटनामा प्रयोग गरिएको चक्कु पनि साथमै राखेका थिए ।
डेढ लाखको जस्ताको तस्तै !
अनुसन्धान अधिकृतकाअनुसार दराजभित्र रहेको बाकसमा राखिएको डेढ लाख रुपैयाँ भने जस्तातस्तै छ । उनीहरुले किन २२ लाख मात्र लगे ? फेरि डेढ लाख रुपैयाँ चाबी लगाएर दराजभित्र राख्ने सावित्रीले ठूलो परिणामको रकम चाहिँ किन बाहिरै राखिन् ? यो प्रश्नको जवाफ खोजीमा अहिले अनुसन्धान अधिकृत जुटेका छन् ।
स्रोतका अनुसार डेढ लाख राखिएको बाकसको चाबी मृतकको कम्मरबाट बरामद भएको थियो । त्यसैले घरमा २२ लाख रुपैयाँ थियो/थिएन भन्ने प्रश्न पनि उब्जिएको छ ।
तर, परिवारले ठूल्दिदीका लागि जग्गा किन्न त्यो रकम जम्मा गरिएको दाबी गरेको छ । ‘केही रकम सहकारीबाट ऋण र केही घरमा भएका सुनको गरगहना बेचेर जम्मा गरिएको परिवारका सदस्यको बयान थियो’, अनुसन्धान अधिकृत स्रोत भन्छ ।
प्रहरीले सहकारीबाट रकम निकालेकोबारे विस्तृत विवरण खोज्न थालेको छ तर, हालसम्म प्रमाणित भइसकेको छैन ।
ईश्वरीमाथि पनि शंका !
कतै सावित्रीकी छोरी ईश्वरीले हत्यामा प्रयोग गरिएका भाडाका अपराधीलाई तिर्ने उद्देश्यले २२ लाख लुकाइनन् ? अनुसन्धानको एउटा पक्ष यो पनि हो । तर, उनले इन्कारी बयान दिएकी छन् ।
अनुसन्धान अधिकृतहरु भने घरबाट निस्किनु अघि नै उनले रकम लागेको हुनसक्ने आशंका गर्छन् । ‘प्रेमी र दुई जना मिलेर अथवा ईश्वरीले रकम लुकाएर कतै गाडेको हुनसक्छ’, अनुसन्धान अधिकृत अनुमान गर्छन् ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख सविन प्रधान भने २२ लाख रुपैयाँको पाटोबाट पनि अनुसन्धान भइरहेको बताउँछन् । ‘हामी अनुसन्धान गरिरहेका छाैं’, प्रहरी उपरीक्षक (एसपी) प्रधानले अनलाइनखबरसँग भने, ‘तर, अहिल्यै केही भनिहाल्ने अवस्था छैन ।’
कर्तव्य ज्यान मुद्दामा म्याद थप
घटनामा पक्राउ परेका ४ जनालाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय, भक्तपुर बुझाइएको महाशाखाले जनाएको छ । भक्तपुरका एसपी प्रधानका अनुसार घटनामा संलग्न मोहम्मद र ईश्वरीलाई कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरिएको छ ।
तर, भोला र रइसलाई भने ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, भक्तपुरले अनुमति दिएको छ ।
प्रतिक्रिया 4