Comments Add Comment

पोखराका ११ वटा वडा कार्यालय फोर्ने एक्ला थापा

पोखरामा चोरी, कलंकीमा सामान बिक्री

Photo Credit : Nepal Police

२९ साउन, पोखरा । पोखरा महानगरपालिकाको एकपछि अर्को वडा कार्यालयमा चोरी भइरहेको थियो । चोरीको श्रृंखला चलिरहेको एक वर्ष नाघिसक्दा पनि चोरी गर्ने व्यक्ति पक्राउ गर्न नसक्दा प्रहरीलाई लाज लाग्ने अवस्था आइसकेको थियो ।

बुधबार प्रहरीले राहतको सास फेर्‍यो । श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की भन्छन्, ‘लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । अन्ततः हामी सफल भयौं ।’

वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो । १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको प्रहरीले बताएको छ । ‘हामीसँग भएको प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा संलग्न एउटै व्यक्ति हो भन्ने एकिन गर्‍यौं,’ एसपी कार्कीले भनेका छन् ।

रातको समयमा वडा कार्यालयमा चोरी गर्ने थापाले विद्युतीय उपकरणमात्र उठाउँथे । नजिकै निर्माणाधीन घरमा लुक्थे र विहानै गाडी चढेर काठमाडौंतिर हुइँकिन्थे । ‘राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा वडा कार्यालयमा चोर्ने गरेको खुलेको छ,’ एसपी कार्की भन्छन्, ‘सुरक्षा व्यवस्था कमजोर हुने भएकाले सजिलै चोर्ने र चोरीका सामान नजिकैका निर्माणाधीन भवनमा लुकाउने र उपयुक्त समय हेरेर काठमाडौं लैजाने गरेको पाइयो ।’

काठमाडौंका थापाले पोखरा १० मा डेरा पनि लिएका रहेछन् । उनको कोठामा चोरीका सामान भेटिएनन्, तर चोर्न प्रयोग हुने सामानहरु भेटिएको प्रहरीले जनाएको छ । ‘उनको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषधसमेत फेला पार्‍यौं,’ उनले भने, ‘चोरीका सामान भने काठमाडौं पुर्‍याइसकेकाले डेरामा भेटिएन ।’

चोरीका सामान किन्ने पनि पक्राउ

थापाले चोरी गरेको सामान खरिद बिक्री गरेको आरोपमा काठमाडौं १४ कलंकीमा कम्प्युटर पसल चलाइरहेका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रमुख एसपी कार्कीका अनुसार गोपालीको पसलबाट चोरीका सामानमात्रै बिक्री वितरण हुँदै आएको पाइएको छ ।

थापाले पोखराका विभिन्न वडाबाट चोरी गर्ने र कलंकीमा रहेको गोपालीको पसलमा पुर्‍याउने गरेका थिए । काठमाडौं प्रहरीको सहयोगमा पक्राउ परेका गोपालीको पसलबाट पोखराका वडाबाट चोरी भएका सामानहरु फेला परेका छन् । प्रहरीले १७ थान मनिटर, ९ वटा सीपीयु र ३ वटा ल्यापटप बरामद गरेको छ ।

चोरी डाँका मुद्दामै पटकपटक जेल !

पोखराका वडा कार्यालयमा श्रृंखलावद्ध चोरी गरेको आरोपमा पक्राउ परेका थापा यसअघि पनि पटकपटक चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् । अनुसन्धानका क्रममा उनी पहिलो पटक डाँका चोरी कसुरमा २०४६ देखि २०५१ सम्म केन्द्रीय कारागारमा थुनामा बसेको पाइएको छ ।

दोस्रो पटक २०७१ देखि २०७४ सम्म चोरी मुद्दामा केन्द्रीय कारागारमै जेल जीवन विताएका थिए ।

उनले ग्रामीण भेगमा यातायातको सुविधा नहुने भएकाले सहरी क्षेत्रका वडामा चोरी गर्ने गरेको बयान दिएका छन् । ‘पोखराका वडा कार्यालयमात्रै चोरी गरेको कि अन्यत्र पनि भएको छ, हामी अनुसन्धानकै प्रक्रियामा छौं,’ एसपी कार्कीले भने ।

यो पनि पढ्नुहोस वडा कार्यालय नै असुरक्षित, रोकिएन श्रृङ्खलाबद्ध चोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment