Comments Add Comment

आईकाओका प्रमुख नेपालमा, हवाई नियामकहरुको सम्मेलन भोलिदेखि

१ भदौ, काठमाडौं । एसिया प्यासिफिक क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औं सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू नेपाल आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उनले सोमबारदेखि काठमाडौंमा शुरु हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

आईकाओ स्थापनाको ७५ औं वर्ष पुगेको अवसर पारी वसन्त ऋतुमा आईकाओको झण्डा सगरमाथा चुचुरोमा पुर्‍याइएको थियो । २३ मे २०१९ मा झण्डा सगरमाथा चुचुरोमा पुगेको थियो । सम्मेलनकै अवसर पारी उक्त झण्डा आईकाओ अध्यक्षलाई हस्तान्तरण गर्न लागिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

५ दिनसम्म सञ्चालन हुने एसिया प्यासिफिक क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औं सम्मेलन नेपालमा आयोजना भएको तेस्रो सम्मेलन हो । यसअघि १९७८ र १९९८ मा समेत नेपालले यस्तो प्रकारको सम्मेलन आयोजना गरेको थियो ।

महानिर्देशक पोखरेलका अनुसार यो सम्मेलन आईकाओकै एजेण्डामा सञ्चालन हुन्छ । आयोजक मुलुकले व्यवस्थापनको काम गर्छन् । यसवर्ष हवाई क्षेत्रका ४ सय प्रतिनिधि सम्मेलनमा भाग लिन काठमाडौंमा भेला हुँदैछन् ।

को–को सहभागी हुँदैछन् ?

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशक, युरोपियन युनियनको नियामक निकायका प्रमुख, अमेरिका, ब्रिटेन, फ्रान्सका नियामक निकायका प्रतिनिधि, जहाज निर्माता कम्पनी बोइङका प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ । सम्मेलनमा ४३ देशमा प्रतिनिधि सहभागी हुने निश्चित भएको हो ।

२६ वटा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् । कार्यक्रमको उद्घाटनमा आइआकोका काउन्सिल अध्यक्ष सहभागी हुने र समापनमा महासचिव सहभागी हुने प्राधिकरणले जानकारी दिएको छ ।

आईकाओले हरेक वर्ष विभिन्न क्षेत्रमा महानिर्देशकहरुको सम्मेलन आयोजना गरी उक्त भेगका लागि एजेण्डा तय गरिन्छ । ती एजेण्डा आईकाओको वार्षिक सम्मेलनमा लैजाने गरिन्छ । आगामी आईकाओ सम्मेलनका लागि एसिया प्रशान्त क्षेत्रबाट उठान गरिने एजेण्डा तय गर्न यो सम्मेलन आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment