+
+

भारतसँग दरो संवाद गर्न जरुरी छ : प्रचण्ड

रासस रासस
२०७६ भदौ ३ गते १६:०४

३ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधका कारण उत्पन्न समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाद्वारा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नुपर्ने बताए। बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए ।

विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको उनले बताए , प्रदेश नं २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश नं २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी रहेको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी
गराए ।

कार्यक्रममा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पुर्याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराए ।

विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उनले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश नं २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा सङ्घीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताए । चुरे क्षेत्रमा राजमार्ग निर्माण र बस्ती बसाउँदा प्रदेशमा मरुभूमिकरणको समस्या निम्त्याउने भएकाले विनाश हुने भन्दै उनले त्यसलाई  रोक्न माग गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?