Comments Add Comment

नदी फोहोर नगर्न उद्योगहरुलाई आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी

२० कात्तिक, वीरगञ्ज । तरल, ठोस वा धुवाँ धुलोको रुपमा निस्कने फोहोरको उचित व्यवस्थापन गर्न वीरगञ्जका उद्योगी व्यवसायीलाई आग्रह गरिएको छ ।

वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्साले बारा-पर्सा औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्ने उद्योगी व्यवसायीलाई बोलाएर त्यस्तो आग्रह गरेको हो । वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा उद्योगी व्यवसायी र उनीहरुका प्रतिनीधिको सहभागित भने न्यून थियो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले प्रदुषण कुनैपनि हालतमा स्वीकार्य नहुने बताए ।

सिर्सिया नदीमा सँधै सफा पानी बग्ने वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने दुबैले बताए । उद्योग सञ्चालन गर्दा वातावरण प्रदुषण नगर्ने प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे । नभए कानुन बमोजिम कारबाही गर्ने चेतावनी छ ।
नगर प्रमुख सरावगीले कुनैपनि खालको प्रदुषण मान्य नहुने र कानुन बमोजिम कारबाही गरिने बताए । ‘हामीले गएर विभिन्न उद्योगको स्थलगत अनुगमन गरेका छौं, कुहिने फोहोर समेत नदीमा खसालिएको छ । धुलो मानिसको खेतमा गइरहेको छ’ उनले भने,’अहिलेसम्म कारबाही भएको थिएन, अब हुन्छ ।’

वडा अध्यक्षहरुलाई आ-आफ्नो क्षेत्राधिकार भित्रका उद्योगको अनुगमन गर्न महानगरले पत्राचार गरिसकेको उनले बताए । ‘प्राकृतिक होस वा प्राविधि विधि अपनाउनुस् तर उद्योगको कम्पाउण्डभन्दा बाहिर सफा पानी आउनुपर्छ’ उनले भने, ‘ फोहोर पानी निकाल्ने उद्योगले अस्थायी रुपमा तीन वटा खाल्डो खनेरै भएपनि पानी शुद्धिकरण गर्नुस्, धुलो जम्मा गरेर व्यवस्थापन गर्नुस् ।’

प्रदुषण नियन्त्रणका लागि योजना ल्याउने उद्योगीलाई महानगरपालिकाले सकेको सहयोग गर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदस् ताल तलैया स्वच्छ सफा राख्न महानगर र जिल्ला प्रशासन कार्यलयले सहकार्य गरिरहेको बताए । ‘टि्रटमेन्ट प्लान्ट बनाएकाले चलाएका छैनन्, कतिले त बनाएकै छैनन्’, उनले भने, सबैले फोहोर पानी नदीमा फालेका छन् । अब फाल्न पाईदैन ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले विगतमा भएका गल्तीलाई उद्योगी व्यवसायीले सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘विगतमा त्रुटी भएकै हो । अब यसको स्थायी समाधान खोज्नुपर्छ, कति समय लाग्छ माग्नुस्, त्यसमा उद्योग वाणिज्य संघ सहयोग गर्न तयार छ’ अध्यक्ष केडियाले भने, ‘तोकेको समयमा वाचा पुरा गर्नुभएन भने कारबाहीमा हामीले वकालत गर्ने छैनौं ।’

उनले सबै उद्योगमा पत्राचार गरेर प्रदुषण नियन्त्रण गर्न आग्रह गर्ने प्रतिबद्धता समेत जनाए । संघका बरिष्ठ उपाध्यक्ष एवं उद्योग समिति संयोजक सुवोध गुप्ताले प्रदुषण नियन्त्रणका लागि अल्पकालीन र दिर्घकालस्न योजना बनाएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘पाँच दिन उद्योग कलकारखाना बन्द हुँदा सिर्सियामा पानी सफा आउँदोरहेछ, उद्योग एक्लैले वा सामूहिक रुपमा प्रदुषण नियन्त्रण गर्नुपर्छ’ गुप्ताले भने ‘ छठको आसपासमा मात्रै होइन, यो विषय अन्य समयमा उत्तिकै महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment