+
+

चितवनमा रगतको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १५:४७

२ मंसिर, चितवन । मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनमा रगतको अभाव हुन थालेको छ । जिल्लामा भएका ठूला अस्पतालहरुमा रगतको खपत बढेपछि रगतको अभाव हुन थालेको हो ।

जिल्ला रेडक्रस सोसाइटी चितवनका अनुसार जिल्लामा फैलिएको डेंगु, धान काट्ने सिजन र कलेजहरु विदा भएका कारणले रगत अभाव भएको हो । साथै रक्तदान कार्यक्रम समेत विगतको तुलनामा निकै कम भइरहेको रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

चितवनमा दैनिक औसत डेढसय युनिट रगतको आवश्यकता पर्दछ । माग अनुसारको आपूर्ती गर्न निकै कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्र भरतपुरमा प्रमुख रमेशकान्त पौडेलले बताए । ‘बल्लतल्ल गाह्रो गरी व्यवस्थापन गरेका छौं’ प्रमुख पौडेलले भने, ‘गत वर्ष यो सिजनमा यस्तो अभाव थिएन, यसपटक निकै समस्या झेल्यौं ।’ दशैं अगाडि महामारीको रुपमा फैलिएको डेंगुका बिरामीलाई रक्तदान गर्नेहरुको तीन महिनाको अवधि नपुगेका कारणले पनि समस्या भएको केन्द्रका प्रमुख पौडेलले बताए ।

बिरामीका आफन्तहरु रगतको अभावमा यत्रतत्र भौंतारिने गरेको पाइन्छ । रगत उपलब्ध गराउन पहुँच हुनेहरुलाई सजिलो र अन्यलाई समस्या हुने गरेको गुनासो आउन थालेको छ ।

जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पताल जस्ता ठूला सरकारी अस्पताल र झण्डै दुई दर्जन निजी अस्पताल छन् । यहाँका अस्पतालहरुको सेवा पछिल्लो समयमा विशिष्टीकृत हुँदै गएकोले रगतको माग पनि बढ्दै गएको उनले बताए । जिल्लामा दैनिक जसो हुने सवारी दुर्घटना, पूर्वपश्चिम राजमार्गको बारा, पर्सा रौतहट, सर्लाहीदेखि बुटवल कपिलवस्तुसम्मको लामो खण्डमा हुने दुर्घटनाका घाइतेहरु उपचार भरतपुरमा नै उपचार हुँदै आएको छ । साथै पृथ्वी राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइते, क्यान्सरको बिरामीहरु एवम् सुत्केरी महिलाहरुका लागि बढि मात्रामा रगतको आवश्यकता पर्दछ ।

निजी अस्पताल र मेडिकल कलेजहरुले रगत मात्रै माग गर्ने तर रक्तदानका लागि जनचेतना अभिवृद्धिका काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ । रेडक्रसले भरतपुर अस्पताल, क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा रगत वितरण गर्ने यूनिटहरु स्थापना गरेको छ ।

जिल्ला रेडक्रस सोसाइटी चितवनले तनहुँ, लमजुङ, नवलपरासी, गोरखा, मकवानपुर, बारा, रौतहट, सर्लाही लगायतका १० जिल्लामा गएर रगत संकलन गर्ने गरेको रेडक्रस चितवनका शाखा सभापति ज्ञानशाली न्यौपानले जानकारी दिए । उनले अब रगतको अभाव विस्तारै कम हट्दै जाने विश्वास व्यक्त गरे ।

उनले रगत दिन सक्ने युवाहरुको संख्या कम हुँदै जानु पनि रगतको अभावका प्रमुख कारण भएको बताए । शाखा सभापति न्यौपानेले भने, ‘युवाजति खाडीमा छन्, गाउँघरमा वृद्धवृद्धा र महिलाहरु मात्रैं छन् । रगत दिने समुह छैन ।’

‘रगतको आपूर्ती गराउने दायित्व त रेडक्रसको हो तर हामीले मात्रैं गर्न सक्दैनौं सवैको सकारात्मक सहयोग र साथ विना सम्भव छैन’ सभापति न्यौपानले भने, ‘रक्तदान गर्ने कार्यक्रममा अभिप्रेरीत गर्ने दायित्व संघसंस्था र नागरिक समाजको हो ।’

पछिल्लो समयमा रगतमा भएको तत्वहरुलाई छुट्टाएर जे तत्व आवश्यक परेको हो सो मात्रै उपलब्ध गराउने प्रविधिसमेत ल्याइएकोले मल्टिपल यूजेजका लागि एक पोका रगतको पनि धेरै अर्थ हुने गरेको सभापति न्यौपानले बताए ।

जिल्लामा पछिल्लो समयमा ताजा रगतको माग बढ्दै गएकोले रक्तदाताहरुको सूचीसमेत तयार गर्न थालिएको छ ।

रक्तदान गरेको ६ घण्टासम्मको रगतलाई ताजा रगत भन्ने गरिन्छ । २४ घण्टासम्म ताजा राख्न सक्ने प्रविधिसमेत ल्याइएको छ । जिल्लामा ३३ वटा उपशाखा, ५ वटा सहयोग समिति, २३० जुनियर सर्कल छन् । यसैगरी ३२ युवा रेडक्रस सर्कल, ४९ जना यशस्कर सदस्य, २१७ जना विशिष्ट सदस्य, १० हजार ७ सय ८१ आजीबन सदस्य, १४२ साधारण सदस्य, २२९ जुनियर सदस्य र ४० जना कर्मचारी यसका छन् । चितवनमा २०२७ साउन ६ मा रेडक्रस स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?