Comments Add Comment

भ्रमण वर्षमा टानले मात्रै ८ लाख पर्यटक ल्याउने

२५ मंसिर, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) एक्लैले सन् २०२० मा वार्षिक ८ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सचिवालयसँग सम्झौता गरेको छ ।

टानले आफ्ना सदस्य कम्पनीमार्फत उक्त संख्यामा पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेको छ ।

बुधबार टान र भ्रमण वर्ष सचिवालयबीच भएको सम्झौताअनुसार टानले आफ्नो सदस्य कम्पनीले सञ्चालन गर्ने पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छूट दिन आह्वान गर्ने भएको छ । यसको अनुगमन पनि टानले नै गरी जानकारी सचिवालयलाई गराउने भएको छ । यसबाट वार्षिक ८ लाख पर्यटक टानमा आवद्ध कम्पनीले नै भित्र्याउने लक्ष्य पूरा हुने विश्वास लिइएको छ ।

साहसिक पर्वतीय पर्यटन मार्ट आयोजना गरिने

टान र सचिवालयबीच भएको सम्झौता अनुसार सन् २०२० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा शाहसिक पर्यटनका सरोकारवालाको सहकार्यमा नेपालमा शाहसिक पर्वतीय पर्यटन मार्ट आयोजना गरिने भएको छ ।

मार्टमा १ सय भन्दा बढी मुलुकका शाहसिक पर्यटकीय प्याकेज खरिद तथा बिक्रीकर्तालाई सहभागी गराइने भएको छ । यो कार्यक्रम सन् २०२० भित्रै आयोजना गर्ने गरी सम्झौता भएको छ । टानले नेपालका सुदूरपूर्व तथा सुदूरपश्चिममा नयाँ नयाँ पदयात्रा गन्तव्यको खोजी गर्ने र त्यसमा सचिवालय र अन्य सरोकारवालाले सहयोग गर्ने भएका छन् ।

४ हजार व्यक्तिलाई तालिम दिइने

भ्रमण वर्ष अवधिभर नेपाल आउने पर्यटकको सेवा तथा सुविधाका लागि दक्ष जनशक्ति उत्पादनमा पनि सहकार्य गर्ने सहमति दुई पक्षबीच भएको छ । यस अवधिमा ४ हजार जनाले साहसिक पर्वतीय पर्यटनमा आवश्यक जनशक्ति उत्पादनका लागि तालिम प्राप्त गर्ने भएका छन् । पदयात्रा क्षेत्रको प्राकृतिक, सामाजिक र अन्य वातावरणको संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने सहमति पनि गरेका छन् ।

जनवरीमा पर्यटकलाई नेवारी भोज

टानले भ्रमण वर्ष उद्घाटनको अवसर पारेर जनवरी पहिलो साता कुनै एक दिन टानका सदस्यबाट आएका र काठमाडौंमा रहेका विदेशी पर्यटकलाई लक्षित गरी नेवारी भोज कार्यक्रमको आयोजना गर्ने भएको छ । भ्रमण वर्ष सफल बनाउन र नेपालको हिमाली तथा पहाडी भेगको सांस्कृतिक पहिचान स्थापित गर्न टान ल्होसार कार्यक्रम भब्य रुपमा मनाउने गरी दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा भ्रमण वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् । भ्रमण बर्ष २०२० संख्यामा २० लाख संख्यामा मात्र नभई गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्ने अध्यक्ष सुवेदीले बताए ।

नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाल भ्रमण बर्ष २०२० एक अभियान मात्र नभई युवालाई रोजगार सिर्जना गराउने माध्यमसमेत भएको उल्लेख गरे । उनले एक पटक नेपाल भ्रमण गरिसकेका पर्यटकलाई फेरि पनि नेपाल भ्रमण गर्न आउन वातावरण सिर्जना गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment