पाँचखाल, काभ्रे । काभ्रे पाँचखालका सुरेश भेटुवालले आलु, काउली र अरु विभिन्न तरकारीहरु उत्पादन गर्न थालेको धेरै वर्ष भयो । पछिल्ला केही वर्षदेखि उनको काउलीको पातमा कालो रंग पोतिएको जस्तो आकृति देखिन थालेको छ । त्यस्तो आकृति देखिएसँगै उनको काउली आलु आदिको उत्पादनमा समेत कमी आएको उनी बताउँछन् ।
यद्यपि उनले त्यहाँ के कारणले त्यस्तो भएको हो ? भन्ने परीक्षण गरेका त छैनन् । तर, गाउँमा नै अव्यवस्थित रुपमा इट्टाभट्टाहरु सञ्चालनमा आउन थालेपछि यस्तो भएकोले पक्कै सोही कारणले हो कि ? भन्ने लागेको उनी बताउँछन । उनी गाउँमा धेरै इट्टाभट्टाहरु खुलेपछि नै आफ्नो उत्पादनमा समेत कमी आएको उनी बताउँछन् ।
त्यस्तै, त्यहाँकै स्थानीय चेतनाथ दंगाल यही इट्टाभट्टाकै कारण पछिल्लो समय गाउँबासीहरुमा छाला र अरु विभिन्न किसिमका समस्याहरु समेत धेरै देखिन थालेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीको क्रममा उनी भन्छन् ‘इट्टा भट्टा सञ्चालन गर्नेहरुले पनि व्यवसाय गर्नुपर्छ । तर, गाउँको बीचमा चलाइएको यो भट्टाका कारण स्थानीयहरु समस्यामा छन् । त्यसलाई नगरपालिका र प्रशासनले चासो देओस् भन्ने हाम्रो माग हो ।’
गाउँबासीको स्वास्थ्यमा समस्या आएको भन्दै पाँचखाल नगरपालिकाले गत महिना सबै इट्टाभट्टा सञ्चालकहरुलाई पत्र लेख्दै तत्कालको लागि इट्टाभट्टा सञ्चालन रोक्नको लागि आग्रह गरेको थियो । तर, भट्टा सञ्चालन रोकिएको छैन ।
जसका कारण स्थानीयहरु रुष्ट बनिरहेका छन् । गत मंसिर १० गते नगरपालिकाले श्रीवीर हनुमान बि्रक फ्याक्ट्री, सुवर्णेश्वरी इट्टा उद्योग, नवदुर्गा भवानी इट्टा, उपकार चिम्नी इट्टा उद्योग, पलाञ्चोक भगवती बिक्री फ्याक्ट्री, पलान्चोक भगवती फिक्स चिम्नी इट्टा उद्योग र जय भीमसेन इट्टा उद्योगको नाममा पत्र लेखी इट्टाहरु सञ्चालन कसरी गर्न सकिन्छ ? कस्तो मापदण्ड पूरा हुनुपर्छ ? भन्ने यकीन नभएको भन्दै त्यो यकीन नभएसम्म इट्टा उत्पादन बन्द गर्न सो पत्रमा आग्रह गरिएको थियो ।
सो पत्रमा वातावरण ऐन र नियमावली २०७५ तथा वातावरण विभागले असार ३ गते उपलब्ध गराएको वातावरण प्रतिवेदन अध्ययन गरी राय सल्लाह सुझाव सहितको लिखित प्रतिवेदनको आधारमा कुनैपनि सुझावहरु प्राप्त नभइसकेको र काँचो इट्टा बनाउने कार्यका कारण त्यसले जनमानसमा प्रत्यक्ष प्रभाव पारेकोले नगरपालिका ठोस निर्णयमा नपुगेसम्मको लागि ईट्टा बनाउने सम्पूर्ण गतिविधिहरु स्थगित गर्नको लागि अनुरोध गरेको थियो । अटेरी गरे कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको भएपछि इट्टाभट्टाले आफ्नो काम रोकेनन् ।
नगरपालिकाका प्रमुख महेश खरेलले वातावरण प्रतिवेदन तयार भइसकेको भन्दै अब इट्टा भट्टाहरु सबै नगरपालिकाले तयार पारेको वातावरणीय प्रभाव सम्बन्धी मापदण्ड भित्रै रहेको दाबी गरे । उनले सो क्षेत्रमा रहेको कुनैपनि इट्टाभट्टा बन्द गर्नुपर्ने अवस्थामा नरहेको जानकारी दिए । त्यहाँ केही स्थानीयहरु मिलेर इट्टाभट्टा बन्द गराउनको लागि अनावश्यक लविईङ गरिरहेको भन्दै यो व्यवयासीहरुलाई हतोत्साहित गराउने प्रयास भएको आरोप समेत उनले लगाएका छन् ।
उनले सम्पदा क्षेत्रमा भएको इट्टाभट्टा हटाउन भएको मागप्रति लक्षित गर्दै भने ‘भक्तपुर जस्तो विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा क्षेत्र भएको ठाउँमा कतिवटा छ, इट्टाभट्टा ? त्यसैले उत्खनन् भएको क्षेत्र बाहेक रानीपोखरीको इट्टाभट्टा हटाउनको लागि भने पुरातत्व विभागले समेत निर्देशन नदिएको उनले जानकारी दिए ।
सम्पदा क्षेत्रमा इट्टाभट्टा
काभ्रेको मालाटारमा रहेको रानीपोखरीमा र त्यसको आसपासमा रहेका विभिन्न ८ वटा इट्टाभट्टाहरुलाई व्यवस्थित गर्न र सम्पदा क्षेत्रबाट त्यस्ता इट्टाभट्टाहरु हटाउन स्थानीयले माग गरेका छन् । काभ्रेको धुलिखेलबाट ओरालो लागेपछि तामाघाट भन्दा १०० मिटर अघि लागेर २ किलोमिटर जति दायाँ भित्र जाँदा पुगिने श्रीराम पाटी, माल्टार र रानीपोखरी ऐतिहासिक क्षेत्र भएको भन्दै सो क्षेत्रमा डोजर प्रयोग गर्ने र कुनैपनि संरचनाहरु पुरातत्व विभागको स्वीकृति बिना सञ्चालन नगर्नको लागि विभागले निर्देशन दिएको भएपनि अहिले सम्पदा क्षेत्र भनिएको रानीपोखरी क्षेत्रमा नै इट्टाभट्टा सञ्चालित छ ।
अहिले सो बस्ती केही दुरीमा नै कूल ८ वटा इट्टाभट्टाहरु सञ्चालनमा छन् । गाउँको बस्तीको बीचमा भएका ती भट्टाहरु एकातर्फ त्यहाँको स्थानीयको स्वास्थ्यको लागि चुनौती थपिरहेको छ भने अर्काे तर्फ सम्पदा क्षेत्र भनेर पुरातत्व विभागले तोकेको ठाउँमा चलिरहेको संरचनाका कारण ऐतिहासिक क्षेत्रमा हुनसक्ने विनासको बारेमा समेत स्थानीयहरु चिन्तित छन् । पछिल्लो ३ वर्षदेखि ८ वटा इट्टा भट्टाहरु नियमित सञ्चालनमा आउँदा आफूहरुको स्वास्थ्यमा चुनौती थपिन थालेको स्थानीयले गुनासो गरेका छन् ।
पाँचखाल नगरपालिकाले सम्पदा संरक्षणको लागि भनेर सल्लाहकारको रुपमा नियुक्त गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं इतिहासविद् दिनेशराज पन्तले आफू उत्खनन्मा संलग्न नभएकोले त्यो क्षेत्र कति पुरानो हो ? भनेर यकीन रुपमा भन्न नसक्ने बताए । यद्यपि त्यो क्षेत्र ऐतिहासिक रुपले अति महत्वपूर्ण क्षेत्र रहेको उनले बताए ।
आफूलाई सल्लाहकार नियुक्त गरिएको भनेर नगरपालिकाको लेटरहेडमा पत्र आएको भएपनि त्यसपछि कुनैपनि गतिविधिमा नगरपालिकाले आफूलाई नबोलाएको उनले बताए । ‘मलाई सल्लाहकार नियुक्त गरिएको भनेर पत्र आयो । सो क्षेत्र ऐतिहासिक रुपमा महत्वपूर्ण रहेकोले सो क्षेत्रमा नगरपालिकाकै पहलमा उत्खनन्मा सहभागी हुन पाइने भयो भनेको अहिलेसम्म बोलाएका छैनन् । ७ महिना जति भयो ।’ पन्तले अनलाइनखबरसँग भने ।
पुरातत्व विभागको पटक पटकको पत्र
गत मंसिर ५ गते पुरातत्व विभागले पाँचखाल नगरपालिकाको नाममा पत्र लेख्दै रानीपोखरी, माल्टार र श्रीरामपाटी क्षेत्रको संवेदनशील मानिएको क्षेत्रमा संरचनाहरु तयार पार्नुपूर्व पुरातत्वको स्वीकृति लिन आग्रह गरेको थियो । त्यस्तै मंसिरकै २७ गते विभागकी पुरातत्व अधिकृत मुनासिंह भण्डारीले जिल्ला प्रशासन कार्यालय काभ्रेको नाममा पत्र लेख्दै श्रीरामपाटी, रानीपोखरी र माल्टार क्षेत्र ऐतिहासिक महत्वको क्षेत्र रहेको भन्दै सो क्षेत्रको सुरक्षा गर्नको लागि आग्रह गरिएको थियो ।
तर, ती क्षेत्रमा प्रशासनको तर्फबाट सुरक्षाको कुनैपनि गतिविधि भएको छैन । जिल्ला प्रशासन कार्यालयले पनि पुरातत्वको पत्र आएको पर्सीपल्ट नै ऐतिहासिक भनिएको ती तीनवटै क्षेत्रमा कुनैपनि उत्खनन् र अरु कार्य समेत नहुने वातावरण गराउनको लागि पाँचखाल नगरपालिकाको नाममा पत्र लेखेको थियो ।
पुरातत्व विभागले नै गत साउन २१ गते सो तीनवटै क्षेत्रमा हुने कुनैपनि कार्य गर्नुपूर्व पुरातत्वको स्वीकृति लिनुपर्ने उल्लेख भन्दै नगरपालिकाको नाममा पत्र लेखेको थियो । नगरपालिकाले पनि गत मंसिर १० गते एउटा सूचना जारी गर्दै सबै ईट्टा भट्टाको नाममा पत्र लेख्दै ईट्टा भट्टाले गर्दा स्थानीयहरुको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयलाई कस्तो प्रभाव पार्छ ? भन्ने विषयमा अध्ययन गरेर यकीन विवरण जारी गर्नुपूर्व इट्टाभट्टा सञ्चालन स्थगन गर्न पत्र लेखेको थियो । यद्यपि अहिलेसम्म सो क्षेत्रमा इट्टाभट्टा सञ्चालनमा आउने गरेको छैन ।
कति महत्वपूर्ण हो यो क्षेत्र ?
यो क्षेत्र यही समयको भनेर दाबी गर्ने अवस्था नभएको भएपनि तत्कालीन समयमा पलाञ्चोक, बनेपा, पनौती, तिमालजस्ता छुट्टै राज्यको अस्तित्वबारे इतिहासकार सूर्यमणि ज्ञवालीको पुस्तक उपत्यकाका मल्लकालीन इतिहासमा उल्लेख भए अनुसार त्यो ऐतिहासिक क्षेत्र हो भन्ने आशंका गर्न सकिन्छ । सोही क्षेत्रमा उत्खनन् गर्दा मल्लाकालीन र केही लिच्छविकालीन इट्टाहरु समेत भेटिएको पुरातत्व विभागको प्रतिवेदनमा उल्लेख छ ।
ऐतिहासिक दस्तावेजका अनुसार पलाञ्चोक चौधौं शताब्दीमा छुट्टै राज्यको रुपमा अस्तित्वमा थियो । स्थानीयबासी त्यो क्षेत्रको महत्व निकै पुरानो रहेको बताउँछन् । रञ्जनालिपीमा उल्लेखित एक दस्तावेजमा अनुसार शक्ति सिंहलाई विसं. १४७२ मा चीनका बादशाहले पलाञ्चोकका राजालाई सम्बोधन गरेर लेखेका थिए । यसले यो क्षेत्र त्यतिबेला स्वतन्त्र शासकको रुपमा रहेको मान्न सकिन्छ । सम्भवतः त्यो क्षेत्र तिनै राजाको दरबार हुनसक्ने आशंका गर्ने गरिन्छ ।
केही महिना अघि पुरातत्व विभागले सो क्षेत्रमा विभिन्न ठाउँमा सामान्य किसिमले उत्खनन् गरेको थियो । सो क्रममा अध्ययन पछिको प्रतिवेदन निकाल्ने क्रममा केही ईट्टाहरु लिच्छविकालीन जस्तो देखिने र अन्य इट्टाहरु १४ औं र १५ औं शताब्दीमा प्रयोग भएको जस्तो देखिने उल्लेख गरेका छन् । अहिले त्यहाँ भेटिएका सामग्रीहरुको वैज्ञानिक परीक्षण गरिएको छैन । सो रिपोर्टमा ती क्षेत्रहरु ऐतिहासिक महत्वको क्षेत्र रहेको भन्दै सो क्षेत्रमा रहेका इट्टाभट्टाहरु बन्द गर्न र एक्साभेटर चलाउन बन्द गर्न भनिएको छ ।