Comments Add Comment

मंगलबारबाट बेपत्ता सम्झनाको शव उखुबारीमा 

२४ माघ, विराटनगर । मंगलबारबाट सम्पर्कविहीन भएकी महिलाको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । सुनसरीको दुहबी नगरपालिका– ६ काली मन्दिर नजिकै  घर भएकी  ३२ वर्षीया सम्झना खत्री परियारको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै रहेको उखुबारीमा फेला परेको हो ।

दुई सन्तानकी आमा सम्झना बेपत्ता भएपछि आफन्तले बिहीबार प्रहरी चौकी निमुवामा निवेदन दिएका थिए । शुक्रबार बिहान विराटनगर– १२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

‘घटना स्थलमा हत्या भएका देखिँदैन्,’ उनले भने, ‘ अन्तै हत्या गरी महिलाको शव उखुबारीमा ल्याएर फालेको जस्तो देखिन्छ ।’

निलो आउटर, हरियो कुर्ता लगाएकी महिलाले अनुहारमा मेकअप र आँखामा गाजल लगाएकाे अवस्थामा शव फेला परेकाे प्रहरीले बताएको छ । घाँटी रेटेर सलले बरेको अवस्थामा शव भेटिएको र शव नजिकै सुरुवाल पनि भेटिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । उनका अनुसार महिलाको अन्तै हत्या गरी राति मोटरसाइकलमा राखेर उखुबारीसम्म शव ल्याएको हुनसक्छ ।

मंगलबारदेखि बेपत्ता भएकी महिला दुई दिनसम्म कहाँ थिइन भन्ने खुलेको छैन् । प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको बताउँदै प्रहरी उपरीक्षक अधिकारी केही दिन भित्र हत्यामा संलग्नहरु पक्राउ पर्ने बताउँछन् ।

मृतकमा श्रीमान बसन्त परियार इलाममा टेलरिङको काम गर्दै आएका छन् । दुई हप्ता अघि घर आएर उनी इलाम फर्कीएका थिए । सम्झना छोरीसँग बस्दै आएकी थिइन् । सम्झनाका छोरी कक्षा ७ र कक्षा १० मा अध्ययनरत छन् ।

श्रीमान बसन्तका अनुसार मंगलबार दिउँसो टेलिफोन सम्पर्कमा सम्झनाले टाउको दुखेकाले आराम गरी बसेको बताएकी थिइन्  । तर बेलुका छोरीले आमा घरमा नरहेको जानकारी  गराएपछि बसन्त बुधबार घर फर्केका थिए ।

उनीसँग सम्झनाकी आमा पनि घर आएकी थिइन् । सोधी खोजी गर्दा नभेटेपछि बिहीबार प्रहरी चौकी निमुवामा श्रीमती हराएको सूचना पनि दिएका थिए ।

घटना संकास्पद रहेकाले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले शवको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment