
२६ माघ, बुटवल । स्वास्थ्य अधिकारीहरुले दादुरा-रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।
राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो सञ्चालन हुँदैछ । यी प्रदेश दादुरा-रुबेलाबाट बढी प्रभावित छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग गरेको अन्तरक्रियामा कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भइ आफ्ना सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे ।
दादुरा-रुबेला विरुद्धको खोपले बालबालिकालाई नकारात्मक असर पुर्याउँछ भन्ने सर्वसाधारण नागरिकमा भ्रम रहेकाले सञ्चारमाध्यमले भ्रम हटाउन भूमिका खेल्न डा. गिरीले आग्रह गरे ।
साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् ।
यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने उनले जानकारी दिए । कोही नछुटून् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिहृनसमेत लगाइनेछ ।
यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै छ ।
बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् ।
रुपन्देही जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । प्रथम चरणमा बुटवल उप-महानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ ।
पहिलो चरणको अभियान फागुन १ देखि ९ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । फागुन १६ देखि बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ ।
यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् । रुपन्देहीको सन्दर्भमा १५ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ ।
तिलोत्तमा नगरपालिका उप-प्रमुख जागेश्वरी चौधरीले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ-आफ्नो ठाउँबाट खटिने बताइन् ।
प्रतिक्रिया 4