Comments Add Comment

सिमानाको क्वारेन्टाइन : दशगजा पारि १९३३, वारि ६५९

कतार एयरबाट आएका १७ जना अझै सम्पर्कविहीन

२१ चैत, काठमाडौं । दुवै देशमा भइरहेको लकडाउनका कारण नेपाल-भारत सीमाक्षेत्रमा आम नागरिकहरु रोकिएको विषयले चर्चा पाइरहेको छ । सरकारले आफ्ना नागरिकहरुलाई स्वदेश भित्रिन नदिएको गुनासो पनि आइरहेकै छ ।

आखिर भारतीय सिमानामा कति नेपालीहरु अलपत्र परिरहेका छन् त ? हामीले यसबारे सरकारी अधिकारीहरुलाई सोध्यौं ।

‘सीमापारि नेपालीहरु मात्र रोकिएका छैनन्, सीमा वारि केही भारतीय नागरिकहरु पनि उसैगरी रोकिएका छन्,’ स्रोतले अनलाइनखबरसँग भन्यो, भारतले पनि आफ्ना नागरिकहरुलाई उसको देशमा र्फकन दिएको छैन ।’

यस्तो छ तथ्यांक

देशभरिका क्वारेन्टाइन स्थलहरु को निरीक्षण र अनुगमनको जिम्मेवारी सम्हालिरहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिले नेपालतर्फ विभिन्न जिल्लामा ६५९ जना भारतीयहरु क्वारेन्टाइनमा बसेका छन् ।

त्यसैगरी सीमा क्षेत्रमा भारतले १९३३ जना नेपालीहरुलाई खानपिनको व्यवस्थासहित क्वारेन्टाइनमा राखिरहेको जानकारी प्राप्त भएको मन्त्री भट्टराईले बताए । उनले भने, ‘उता रहेका नेपालीहरुलाई भारतले व्यवस्थापन गरेको छ, यता रहेका भारतीय नागरिकलाई हामीले व्यवस्थापन गरिरहेका छौं ।

यस्तो बेलामा देशभित्रै जान र परिवारसँगै बस्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक भावनात्मक पक्ष भएता पनि हाललाई सीमाक्षेत्रमै व्यवस्थापन गर्नुपर्ने अवस्था आइपरेको उनले बताए ।

तर, भारतको क्वारेन्टाइनमा बस्न नमानेर बिहीबार नेपालगञ्जको रुपैडिया नाकाबाट १८१ जना नेपालीहरु प्रवेश गर्न खोजेका थिए । उनीहरुलाई त्यहीँको दशगजामा क्वारेन्टाइनस्थल बनाएर व्यवस्थापन गरिएको मन्त्री भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

पछिल्लो अवधिमा भारतलगायतका देशबाट नेपाल आएका ४९ हजार ९६४ जना नेपालीहरु सरकारको फलोअपमा रहेको उनले बताए ।

यो पनि पढ्नुहोस कोरोनाको परीक्षण कम हुँदा संशय व्याप्त

यसैवीच, सरकारका प्रवक्ता एवम्अ र्थमन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा रहेका नागरिकप्रति सरकार सम्वोदनशील रहेको र नेपालमा रहेका विदेशी नागरिकको व्यवस्थापन सरकारले गरिरहेको बताएका छन् ।

कतार एयरका १७ जना सम्पर्कमा आएनन्

यसैवीच कतार एयरबाट नेपाल आएका १५८ जना यात्रुहरुमध्ये तीन जनालाई कोरोना संक्रमण देखिएका कारण आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

बाँकी १३८ यात्रुको पहिचान भइसकेको र ट्रेसिङ गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।
यो हिसाबले अझै १७ जना यात्रुहरु सम्पर्कमा आइसकेका छैनन् । उनीहरुको पनि खोजी भइरहेको सरकारी स्रोतले बताएको छ ।

स्रोतका अनुसार कोरोना संक्रमणको जोखिममा रहेका दिल्लीको धार्मिक सभामा गएका नेपालीमध्ये १० जना १४ दिन पहिले नै नेपाल आएसकेका छन् । ११ जना सम्पर्कमा आएर बाराको क्वारेन्टाइनमा छन् । थप १२ जना दिल्लीतिरै रहेको सूचना आएको छ ।

क्वारेन्टाइनमा कति ?

मन्त्री भट्टराईको सचिवालयले दिएको जानकारी अनुसार विहीबारसम्मको तथ्यांक अनुसार देशभरि २४ हजार ६३९ सीट क्षमताका क्वारेन्टाइनस्थल बनेका छन् ।

तर, तीमध्ये अहिलेसम्म ७ हजार १४ सीटमा मात्रै मानिसहरु क्वारेन्टाइनमा बसेका छन् ।

यो पनि पढ्नुहोस विदेशबाट फर्केका गाउँ डुल्दै, रामेछापका क्वारेन्टाइन खाली

क्वारेन्टाइनमा बसेकाहरुले पछि केन्द्रबाटसमेत शोधभर्ना गर्न सकिने गरी स्थानीय सरकारहरुले खानपिनको व्यवस्थापन गरिरहेका छन् ।

मोरङको टाँडी लगायतका स्थानमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा सेनाले नै खानपिनको प्रवन्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment