
८ वैशाख, काठमाडौं । इटहरी बस्ने चर्चित कवि मनु मञ्जिलले शनिबार ‘हेल्लो सरकार’ कविता लेखे । लकडाउनको पूर्वाद्ध एक महिना गुपचुप बसेका कवि मञ्जिल एकाएक कविता लिएर देखा परे । कवि मञ्जिलको ‘हेल्लो सरकार’मा सरकारको उदासीनताप्रति कठोर व्यंग्य गरिएको छ ।
लकडाउन सुरु भएको एक महिना बित्न लाग्दा महामारी, सन्त्रास र सरकारको निरीहतामाथि केन्द्रित सिर्जनाहरु जन्मिइरहेका छन् ।
पहिले मनु मञ्जिलको हेल्लो सरकार कविता सुनौं–
हेल्लो सरकार !
यौटा कुरो सुनाऊँ ?
यी मजदुरहरूले तिम्रो लकडाउन
मानेकै छैनन् ।
महलका मालिकहरूले त माने ।
ऊनीहरू पनि सरकार नै हुन्
सरकारको कुरा सरकारले मान्नैपर्छ ।
सेठ, साहु–महाजनले पनि माने
सरकार नभए त ऊनीहरू मर्छन् ।
सहरको मल्टिप्लेक्स भवन होस्
वा, सुदूर गाउँको भिल्ला
ऊनीहरूले त ढोका पनि खोलेका छैनन् ।
शिक्षक, वकिल, पत्रकार, कवि
किसान, व्यापारी, सहरका
स–स्याना घरका घरबेटी, डेरावाल ।
पुलिसको लठ्ठीको लामो अनुभव छ
उनीहरूसँग
डरले मानेको पनि मानेकै हो
एक छाक खाना, एक छाक प्रार्थना गरेर
उनीहरू लकडाउन मानिरहेका छन् ।
तर यी मजदुर के भएका हुन् ?
घर नभए पनि यसरी
घर बाहिर निस्कन हुन्न नि हौ
डेरा नभए पनि
डेरामै बस्नु पर्छ ।
सरकारले आदेश दिइसकेपछि
जति भोको भएपनि छट्पटाउन हुन्न नि
हैन सरकार ?
तर यिनीहरू त झन्
लामो–लामो बाटो हिँडिरहेका छन्
ठुल्ठुला नदी तरिरहेछन्
अग्लाअग्ला पर्खाल नाघिरहेछन्
चोकचोकमा चोर औँला उठाएर
हावासित, आकाससित झोंक्किरहेछन् ।
हेल्लो सरकार !
यौटा कुरो सुनाऊँ ?
यिनीहरूले लकडाउन नमानेका हैनन्
यिनीहरू राम्रा मानिस हुन् ।
यस्तो पनि हुन सक्छ कि
खासमा देशमा सरकार पनि छ भन्ने कुरा
यिनीहरूलाई थाहै छैन ।
लकडाउनको दोस्रो हप्तातिर कवि विनोदविक्रम केसीको ‘लालबहादुर घरभित्रै छ’ भन्ने कविता बजारमा आयो । मजदुरी गरेर पेट पाल्ने लालबहादुर र लालबहादुरहरू घरभित्रै छन् तर उनीहरू जस्तोसुकै लकडाउनमा पनि विद्रोहले बाहिर आउन सक्छन् भन्ने अभिप्रायः बोकेको उक्त कविताले सरकारमाथि तीक्ष्ण प्रहार गरेको बताउँछन् समीक्षक गुरुङ सुशान्त ।
लकडाउनकै अवधिमा राजु स्याङ्तानको ‘दाइ हराएको सूचना’, युवाकवि रेहान खानको ‘ओ साहब !’, श्रवण मुकारुङको ‘एउटा मानिसको मृत्यु’, राजवको ‘कोरोनालयको दुःखगान’ दिनेश अधिकारीको ‘अहिले हामी तपस्यामा छौं’लगायत कविताहरु प्रकाशित भए ।
यस्तै सुरेश किरणको व्यंग्य ‘प्रहरी लगाऊ, कोरोना भगाऊ’, गुरुङ सुशान्तको ‘भाइरसको वर्ग’ पनि लकडाउनकै समयमा सिर्जित भए । अरुणदेव जोशीको सुदुर पश्चिमेली लवजमा लेखिएको ‘दार्चुला दुखिरहेको छ’ भन्ने कविता पनि यसवीचमा सामाजिक सञ्जालमा छायो ।
पहिचान र भुईँमान्छेको स्वर कवितामा उतार्ने ‘सिग्नेचर’ बनाएका कवि तथा गीतकार भूपाल राईको ‘म आफ्नो घर फर्किरहेछु’ भन्ने कविता पनि सरकारको चरित्रमाथि नै व्यंग्य गरेर प्रकाशित भयो ।
इतिहासकार महेशराज पन्तले माहामारीमाथि लेखेका ‘तीन सय वर्षअघिको त्यो महामारी’ र चिन्तक एवं राजनीतिज्ञ प्रदीप गिरीको ‘महामारी चिन्तन’ पनि पाठकमाझ आए । किताब जात्राले सुरु गरेको ‘भर्चुअल साहित्य सम्मेलन’मा पनि लकडाउनकै चर्चा भयो ।
साहित्यकार खगेन्द्र सङ्ग्रौला, नयनराज पाण्डे, सीमा आभाष, सरिता तिवारी, राजन मुकारुङ लगायतले पनि आम नागरिकको पक्षमा नियमितजसो लेखिरहेकै छन् ।
संग्रौला सामाजिक सञ्जालमा लेख्छन्– ‘इन्स्पेक्टर औषधि किन्ने महिलालाई निर्घात कुट्ने, डीआइजी प्रहरीलाई उत्तेजित नगरूँ भन्दै कुट्नेको बचाउ गर्ने ! प्रहरी प्रमुख मूकदर्शक, गृहमन्त्री बादल सत्ताको नशामा लठ्ठ, प्रम ओली नीति उपदेशमा मग्न ! नागरिक कुटिऊन्, कसैलाई मतलब नाइँ ! निरङ्कुश ओलीतन्त्र झनै निरङ्कुशतातिर, हैट् !’
सरकारप्रति भत्सर्नामात्र होइन, समर्थनमा पनि सिर्जनाहरु आइरहेका छन् । कवि विप्लव प्रतीकका छोटा कविता, डा. देवी नेपालको ‘निस्कनँ भो बाहिर’जस्ता कविताले त्यस्तो भाव देखाएका छन् ।
साहित्यकार डा. हेमनाथ पौडेल भन्छन्, ‘महामारीको पीडा, भोकमरी र बेरोजगारीको समस्यामा परेका जनतालाई साथ दिन र मनोबल बढाउन स्रष्टाहरूले सकारात्मक पाटोबाट सिर्जना गर्नुपर्छ ।’
यद्यपि राज्यको असंवेदनशील व्यवहारप्रति साहित्य प्रतिपक्ष बन्यो भनेमात्र त्यो आम मानिसको साहित्य बन्ने बताउँछन् समीक्षक गुरुङ सुशान्त ।
‘जब सिर्जनामा मानिसको यथार्थ लेखिन्छ, त्यसले मात्र आजको समय बोल्न सक्छ’, सुशान्त भन्छन्, ‘आजका धारिला सिर्जनामा व्यंग्य र प्रहारमात्र होइन, ठूलो नागरिक शक्ति लुकेको छ ।’
‘हेल्लो सरकार’ लेख्ने कवि मनु मञ्जिल स्वयं पनि लकडाउनको समय बढ्दै जाँदा सर्जक चुप लागेर बस्न नसकेको बताउँछन् । उनका अनुसार राज्य आफ्ना नागरिकको जीवनरक्षाको सवालमा उदासीन भएको देखेर उनी कविता लेख्न बाध्य भएका हुन् ।
मञ्जिलले भने, ‘खानेकुरा र पानीसमेत नखाई हजारौं किलोमिटर हिँडेका नागरिकको दुःखले मलाई सोचनीय बनायो, त्यसपछि यो कविता लेखेँ ।’
प्रतिक्रिया 4