
९ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिका थानकोटको त्रिभुवन पार्कमा मजदुरलाई राख्ने निर्णय जनप्रतिनिधिले फिर्ता गरेका छन् ।
मंगलबार दिउँसो प्रतिनिधिसभा सांसद अन्जना विशंखेले प्रेस विज्ञिप्त जारी गर्दै श्रमिक तथा असहायलाई त्रिभुवन पार्कमा राख्ने निर्णय स्थगित भएको जानकारी दिएकी हुन् ।
उनले यसको व्यवस्थापनमा खटिएकालाई पनि धन्यवाद दिएकी छन् । साथै, पार्कमा राखिएका १ सय ७६ जनालाई जान चाहेको स्थानमा पुर्याउने व्यवस्था पनि गरिएको उनले बताएकी छन् ।
‘आज पाँचौं दिनसम्म आइपुग्दा लामो जे जस्तो कठिनाइका साथ पहिलो चरणको यो कार्यक्रमलाई समझदारीपूर्वक समीक्षा गर्दै थप कार्य गर्नुपर्ने हुन सक्दछ’, विशुंखेले भनेकी छन्, ‘सञ्चार क्षेत्र, सामाजिक सञ्जाल आदिमा आएको दुःख पीडाले गर्दा पहिलो चरणको कार्यक्रम स्थगित गरिएता पनि आवश्यकता अनुरुप फेरि सञ्चालनमा ल्याइनेछ ।’
उनले यसबाट दुःख, पीडा पाउनेसँग माफी पनि मागेकी छन् । उनले भनेकी छन्, ‘आशा गरौं, फेरिफेरि यो खालको दुःख व्यहोर्न नपरोस् ।’ विशुंखेले हरेक नागरिकको स्वस्थ हुने र बाँच्न पाउने अधिकारको सुरक्षितता पहिलो प्राथमिकता भएका पनि जनाएकी छन् ।
प्रतिक्रिया 4