१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सोमबार नेता नेपालसँग कुराकानी गरेका थिए ।
लगत्तै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता गरे, तर सहमति हुन सकेन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको कोटेश्वरस्थित भएको वार्तामा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी भएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।
छलफलमा पावर शेयरिङबारे उहाँहरुबाट ठोस प्रस्ताव नै नआएको नेपाल पक्षका एक नेताले बताए । ‘उहाँहरुले मिलेर जानुपर्छ भन्ने निरपेक्ष कुराकानी मात्र गर्नुभयो’ वार्तामा नेपाल समूहबाट सहभागी एक नेताले अनलाइनखबरसँग भने ।
तपाईंहरुले चाहिँ ‘एक व्यक्ति एक पद’ को प्रस्ताव राख्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘यो त हामीले पहिल्यैदेखि भन्दै आएको हो । तर, उहाँहरुले कुनै प्रस्ताव नल्याएका कारण हामीले पनि यसलाई जोडदारसँग राखेका छैनौं ।’
उनका अनुसार नेपाल पक्षका नेताहरुले पार्टीमा अहिले जे जटिलता आएको छ, त्यसको जिम्मेवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली भएको आफ्नो निष्कर्ष सुनाएका थिए । ‘पार्टी पनि विधि पद्दतिअनुसार चलाउन सक्नुभएन’ एक नेता भन्छन्, ‘सरकारले पनि प्रभावकारी ढंले काम गर्न सकेन । अहिले अध्यादेश र सांसद प्रकरणसम्म आउँदा पार्टीलाई नै अप्ठ्यारो पार्ने काम भएको छ ।’
यो सबै समस्याको जड ओली स्वयं भएकाले उनले नै निकास दिनुपर्ने नेपाल पक्षको मत छ । एक नेता भन्छन्, ‘यसका लागि सचिवालय बैठक बोलाउनुस्, त्यहाँबाट पनि निकास आएन भने स्थायी कमिटीको बैठक बोलाउनुस् भनेका छौं ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4