+
+
माधव नेपाल पक्षको भेला :

प्रचण्ड–माधवलाई साक्षी राखेर दोस्रो तहका नेताले भने– कोही भाग्न पाइँदैन !

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते ६:००
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन स्थायी कमिटी सदस्यहरु शुक्रबार दिउँसो माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । नेता नेपालले त्यहीँबाट फोन गरेर कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बोलाए ।

बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकको वास्तविकता बुझ्न भन्दै नेपाल निवासमा स्थायी कमिटी सदस्यहरु भेला भएका थिए । उनीहरुले त्यहाँ कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपालसँग करिब तीन घण्टा बिताए ।

अनौपचारिक भनिएको सो जमघटमा माधव नेपालनिकट स्थायी कमिटीका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम रावल, रघुजी पन्त, मुकुन्द न्यौपाने, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतको उपस्थिति थियो ।

‘हामीले माधव कामरेडलाई भेट्न खोजेका थियौं, त्यहाँ प्रचण्ड कामरेड पनि आउनुभयो’ स्थायी कमिटी सदस्य रघुजी पन्तले अनलाइनखबरसँग भने, ‘बुधबारको सचिवालय बैठकबारे बाहिर मिडियामा धेरै कुराहरु आएका थिए, वास्तविकता के हो, सचिवालयमा भएको खास कुरा के हो ? हामीले सोध्यौं, उहाँहरुले बताउनुभयो ।’

सचिवालय बैठकको वास्तविकताबारे प्रचण्ड र माधव नेपालसँग जानकारी लिइनुका साथै वर्तमान परिस्थितिको समीक्षा र पार्टी एकतालाई सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको पन्तले बताए ।

पार्टी एकतामा जोड

प्रधानमन्त्री केपी ओलीको पक्षमा बालुवाटारमा हस्ताक्षर अभियान चलाइको विषयमा समेत त्यहाँ चर्चा भएको थियो ।

‘पार्टीको एकतालाई कायम गर्नुपर्‍यो । पार्टीको एकताका लागि ह्विप जारी गर्नुपर्‍यो, संसदीय दलको नेता उहाँ (ओली) नै हुनुहुन्छ, पार्टी फोर्नका लागि हो कि केका लागि हस्ताक्षर संकलन गरेको ?’ नेताहरुले प्रचण्ड र माधव नेपालसँग सोधे, ‘मान्छेलाई फकाउँदै, धम्क्याउँदै गाडीमा हालेर बालुवाटारमा केका लागि हस्ताक्षर गराइराखेको ?’

स्थायी कमिटीको बैठकबाट कोही पनि भाग्न पाइन्न

नेपाल निकट स्थायी कमिटी सदस्यहरुले बैठकको माग गर्दै २० जनाले अध्यक्षद्वयलाई बुझाएको हस्ताक्षरको पनि स्मरण गराएका थिए । उनीहरुले भोलिको सचिवालय बैठकले चाँडो भन्दा चाँडो स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने र बैठकबाट कोही पनि भाग नपाउने माग गरेका छन् ।

स्थायी कमिटी सदस्य पन्तले अनलाइनखबरसँग भने, ‘प्रचण्ड कमरेड र माधव कमरेड दुबैलाई हामीले भन्यौं, स्थायी कमिटीको बैठक नराख्न पाइँदैन । जुन २० जनाले हस्ताक्षर गरेर दिएका छौं, त्यो अनुसार भोलिको सचिवालयको बैठकले बैठक यथाशीघ्र राखोस् ।’

पन्तले कोटेश्वर भेलाको निश्कर्ष सुनाउँदै अगाडि भने, ‘स्थायी कमिटीको बैठक टार्न पाइँदैन । र, स्थायी कमिटीको बैठकबाट गरिएको निर्णयबाट कोही पनि नेता भाग्न पाउँदैन । स्थायी कमिटीको बैठकमा आउदिनँ भन्न पनि पाइँदैन । स्थायी कमिटीको बैठकबाट कोही पनि नेता भाग्न पाउँदैन ।’

पछिल्लो समय नेकपामा दुई लाइन संघर्ष चर्किंदै जाँदा प्रचण्ड र माधव नेपाल एकापसमा नजिक बनेका छन् । प्रधानमन्त्री ओलीले भने वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेका कारण गौतम कतातिर लाग्छन् भन्ने स्पष्ट छैन ।

यही क्रममा शनिबार सचिवालय बैठक बस्ने कार्यसूची छ । सो बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गरिनुपर्ने प्रचण्ड–माधव पक्षका २० जना स्थायी कमिटी सदस्यहरुले लिखित माग गरेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?