+
+

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते २१:२४

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले घटनाको गहिरो अन्वेषण गर्ने बताएका हुन् ।

‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन । तर, आमनेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्’ विज्ञप्तिमा भनिएको छ ‘२७ औं मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।’

नेकपाले भण्डारी र आश्रितका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने सङ्कल्प पनि व्यक्त गरेको छ।

नेकपाले आफूहरू संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिष्पर्धाप्रति प्रतिबद्ध रहेको पनि बताएको छ । त्यस्तै, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य-मान्यतामा प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

एकीकरण यताका दुई वर्ष बीचमा पार्टीको संगठनात्मक एकीकरणलाई आधारभूत रूपमा सम्पन्न गरेको भन्दै नेकपाले केन्द्रीय कमिटीको निर्णयअनुसार ‘पार्टी एकता सदृढीकरण र जन-सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड १९ (कोरोना भाइरस) महामारीका कारण प्रभावित भएको उल्लेख गरेको छ ।

नेकपाले कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकटसँगै यसपछि आउने आर्थिक मन्दीले सिर्जना गर्ने संकट निकै जोखिमपूर्ण हुने भन्दै सरकारको प्रभावकारी कदमका कारण नेपालमा हालसम्म कोरोना महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै रहेको दाबी गरेको छ । तर, खुल्ला सिमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र हाम्रा कमजोर स्वास्थ्य पूर्वाधारका कारण हामी उच्च जोखिम रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘तसर्थ, हामी कोरोना महामारीविरुद्धको यस अभियानमा स्वय‌ंसेवी भावनाका साथ अग्रभागमा उभिएर योगदान गर्न समस्त पार्टी पङ्क्तिलाई आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?