+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फक्रिए पूर्वमन्त्री विष्टका सपना

कुलदीप न्यौपाने कुलदीप न्यौपाने
२०७७ जेठ १० गते १४:४८

१० जेठ, दाङ । लोकेन्द्र विष्ट नाम नसुन्ने कमै होलान् । दश वर्षे जनयुद्धकालमा लडाइँको नेतृत्व गरे । शान्ति प्रक्रियामा आएपछि मन्त्री बने । सक्रिय राजनीति त्यागेर व्यवसायिक कृषि कर्ममा लागे । सुरुमा काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङमा ड्रागन फ्रुट (सिम्थी) खेती सुरु गरे । बन्जर जमिनमा ड्रागन फ्रुट(सिम्थी)का बिरुवा रोप्दा विष्टलाई धेरैले भन्थे धान छाडेर सिउँडी ?

तर, उनले ड्रागन फ्रुट खाँदा हुने फाइदा, स्वदेशमै यसको माग र अन्तर्राष्ट्रिय बजारको समेत सम्भावना देखेका थिए । ड्रागन फ्रुटबाट समृद्धिको सपना देखेरै उनले यसको खेतीमा ८० लाख लगानी गरेका थिए । तर, चिनेजानेका मानिसको नकारात्मक प्रतिक्रियाले भने मनको एउटा कुनामा कता–कता ननिको लाग्थ्यो उनलाई । भाडाको ६६ कठ्ठा जग्गामा अहिले भने उनको सपना फक्रिएको छ । अब परिश्रमको फल प्राप्त हुनेमा विश्वस्त छन्, उनी ।

घोराही–तुलसीपुर सडकअन्तर्गत हेमन्तपुर–बिजौरी खण्डको किनारमा रहेको उनको ड्रागन फ्रुट फार्म अहिले हेर्नलायक भएको छ। लहरै रोपिएका ड्रागन फ्रुटका बोटमा रंगीबिरंगी फूल फूलेका छन् । माहुरीहरू भुनभुनाइरहेका छन् । दिनमा भन्दा रातमा अझ मनमोहक हुन्छ यहाँको सौन्दर्य । किनकि यो फूल रातमा मात्र फूल्छ ।

बिरुवा लगाएको तेह्र महिनामा कोपिला लागेको र जेठको ५ गतेदेखि फूल्न थालेपछि मक्ख छन्, पूर्वमन्त्री विष्ट । अबको ३५/४० दिनमा ड्रागन फ्रुटको फल खान मिल्ने हुने बताउँदै विष्ट भन्छन्, ‘म त हरेक रात सुत्नुअघि यहाँ एक चक्कर लगाएर फूलको आनन्द लिन्छु । यी फूलले दिनभरको दुःख सबै बिर्साइदिन्छन् ।’

‘रातकी रानी’

अनौठो के छ भने यो फूल रातिमा मात्र फूल्छ । ‘रातिको सात-आठ बजेतिर फक्रिन सुरु गर्छ । ठिक १२ बजे यौवनमा आउँछ,’ विष्ट फूलको चरित्र सुनाउँछन्, ‘फेरि बिस्तारै ओइलाउन थाल्छ र बिहानको आठ–नौ बजेसम्म मुर्झाउन थाल्छ । त्यसैले यो फूललाई ‘रातकी रानी’ भनिन्छ ।’ अंग्रेजीमा ‘ड्रागन फ्रुट’ भनिने यसलाई कतिपय ठाउँमा ‘पिताय’ र नेपालीमा ‘सिम्थी’ पनि भनिने विष्टले जानकारी दिए ।

प्रत्येक बिरुवामाथि फूल फूल्ने भएकाले सेता बल्ब बलेजस्तो सुन्दर देखिन्छ । सुकेको फूललाई ‘ग्रिन टी’को रुपमा प्रयोग गर्न सकिन्छ । रङको हिसाबले ‘यल्लो टी’ भन्न सकिने विष्टको भनाइ छ ।

फूल मात्रै होइन, यसको बिरुवा पनि गुणकारी हुन्छ । बिरुवा लगाएदेखि खेर जाँदैन । छिप्पिएको हाँगा नयाँ बिरुवाको रुपमा रोपिन्छ भने भर्खरै निस्किएको टुसालाई तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसको फल त अझ मानव स्वास्थ्यका लागि निकै हितकारी रहेको विष्टको भनाइ छ । ‘ड्रागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्टयुक्त फल हो यो,’ विष्ट थप जानकारी दिँदै भन्छन् ।

बिजौरी नजिक विष्टले स्थानीय वीरबहादुर बुढालगायत केही साझेदारसहित ६६ कठ्ठा जमिन १५ वर्षसम्म भाडामा लिएर ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । अब एक महिनापछि यो फार्मबाट उत्पादन सुरु हुनेछ । त्यसो त विष्टले आफ्नो फार्मले फल दिनुअघि नै स्थानीयवासीलाई भियतनामबाट ल्याएर ड्रागन फ्रुटको स्वाद चखाइसकेका छन् ।

ड्रागन फ्रुटको कोपिला (वायाँ) र फूल

नेपालमा यो फल जति उत्पादन गरे पनि बजारको समस्या नहुने विष्टको बुझाइ छ । नेपालको बजारमा अहिले पनि ९५ प्रतिशत ड्रागन फ्रुट बिदेशबाटै आउने भएकाले आफ्नो उत्पादन स्वदेशमै खपत हुने उनको विश्वास छ ।

काठमाडौंको सुपरमार्केटमा निकै खोजी हुने भएकाले पनि कम्तीमा दश वर्षसम्म बाहिर पठाउनुपर्ने अवस्था नआउने उनले अनुमान गरे । फल नबिकेमा जुस बनाएर बेच्ने उनको योजना छ । ‘१८ वर्षअघि भोजपुरका डा. जगन्नाथ राईले मेक्सिकोबाट एउटा हाँगा लिएर यो खेतीको सुरुवात गर्नुभएको थियो,’ विष्ट सुनाउँछन्, ‘यसअघि नै काभ्रेका भेषमान श्रेष्ठले पनि यस्तो खेती गरिसकेकाले बजारीकरणमा समस्या देखिएको छैन ।’

कृषि क्रान्तिको सपना

पूर्वपर्यटनमन्त्री विष्ट यो खेतीलाई कृषि पर्यटनसँग जोड्न सकिने सम्भावना र लक्ष्य रहेको बताउँछन् । ‘वातावरणीय र मानव स्वास्थ्यका दृष्टिले यो बिरुवा अत्यन्त उपयोगी छ,’ उनी भन्छन्, ‘मैले यसलाई एग्रो टुरिज्म इन्डस्ट्रीको रुपमा विकास गर्ने सोच बनाएको छु, जहाँ फार्म र कृषिको अध्ययन गर्न बाहिरबाट पर्यटक आउने छन् । फार्मकै बीचमा सेल्फी स्पट, फोटो खिच्ने ठाउँ, राम्रो हेर्न लायक गार्डेन, रेस्टुरेन्ट पोखरी र सानो पुस्तकालय बनाइने छ ।’

लोकेन्द्र विष्टलगायतले भाडामा लिएको जग्गा

केही दिनअघि भियतनाबाट आएको फल लिनेको निकै घुइँचो लागेकाले पनि यही उत्पादन हुन थालेपछि स्थानीय पर्यटकको पनि आकर्षण बढ्ने अनुमान उनको छ।

धेरैलाई अनौठो लाग्छ– पूर्वमन्त्रीले यस्तो कृषि कर्म किन गरिरहेका होलान् । राजनीतिक नेतृत्व र राजकीय पदमा पुगिसकेका व्यक्ति श्रममा फर्कदा अनौठो मान्ने नेपाली चलन छ । तर, त्यसमा अपवाद देखिएका छन् विष्ट । त्यसो त विष्टका लागि यो खेती नै नयाँ होइन । यसअघि उनले कालो धान खेतीलाई नेपाललाई स्थापित गरेका थिए । लामो राजनीतिक यात्राबाट विश्राम लिएका विष्ट २०७२ सालदेखि पूर्णरुपमा कृषिकर्ममा होमिएका छन् ।

‘२०७२ मा दाङ आएँ, छ महिना बसें । आत्मनिर्भर भएर राजनीति गर्ने सोच थियो,’ उनी पाँच वर्षअघि फर्किए, ‘दाङमा ४० बिघा जमिन खोजेको थिएँ । तर कतै भेटिनँ, त्यतिबेलै मैले २४ वटा ड्रागन फ्रुटको बिरुवा वीरबहादुर बुढालाई दिएर गएको थिएँ, उहाँले फल फलाएर बिक्री पनि गर्नुभयो । कतै जग्गा नपाएपछि काभ्रेको भकुण्डेबेंसीमा गएर ५३ रोपनी जग्गामा कालो धान खेती गरें, काठमाडौंको साँखुमा पनि धान खेती गरेँ । ८४ कठ्ठा भाडामा लिएर यतै पनि गर्यौं, केही वर्ष गर्न सकिएन तर फेरि हामी यसको खेती पनि गर्ने सोच्दैछौं ।’

विष्टको सन्देश

चार दशक राजनीतिमा बिताएका विष्टले राजनीतिमा रहँदा पनि निकै लगानी र संघर्ष गरे । तीनपटक गरी देशभित्र र बाहिरका चारवटा जेलमा उनले दश वर्ष बिताए । जनयुद्धअघि नै गृहजिल्ला रुकुममा कांग्रेस कार्यकर्ताको आक्रमणमा झण्डै मारिएका विष्टले जनयुद्धकालमा सैन्य कमिसारको भूमिकामा कयौं आक्रमणको नेतृत्वमात्र गरेनन्, शान्ति प्रक्रियापछि पार्टीको स्थायी समिति सदस्य र मन्त्रीसमेत बने । यति ठूलो लगानीपछि राजनीतिबाट विश्राम लिएका विष्ट राजनीति सेवा होइन व्यवसायको रुपमा मौलाउन थालेपछि आफू स्वेच्छिक अवकाश लिएर कृषिकर्ममा लागेको बताउँछन् ।

ड्रागन फ्रुटका बिरुवालाई सपोर्ट चाहिने भएकाले सिमेन्टका पिलर र त्यसमाथि मोटरसाइकलका टायर राखिएको छ

‘राजनीति जटिल भयो, महंगो भयो, फोहरी भयो, यसमा भ्रष्टाचार र अपराधीकरण बढ्यो,’ आफू सकृय राजनीति त्याग्नुको कारण सुनाउँदै विष्ट भन्छन्, ‘‘आफ्नै सहयोद्धाको रगतमा टेकेर राजनीति गरिहन मन लागेन र राजनीतिबाट स्वेच्छिक अवकाश लिएँ ।’

त्यसो त पार्टी राजनीतिमा नभए पनि आफू क्रान्तिभन्दा बाहिर नरहेको विष्टको बुझाइ छ । ‘अर्थतन्त्र जग हो, राजनीति धुरी हो,’ उनी भन्छन्, ‘आवश्यकताअनुसार जग र धुरी जहाँ पनि जान तयार हुनुपर्छ, म क्रान्तिको जगमा छु, विष्टले ठिक गरेको रहेछ भन्ने नै गराउने छु ।’

मन्त्री भइसकेपछि जनतामा आउनुहुँदैन, राजनीति गरेकाहरूले श्रम गर्नुहुँदैन भन्ने गलत मान्यतामाथि धावा बोल्दै हरेक व्यक्ति श्रमसँग र त्यो पनि अझ कृषि कर्मसँग जोडिनुपर्छ भन्ने सन्देश दिने पनि आफ्नो उद्देश्य रहेको विष्ट बताउँछन्।

लेखक
कुलदीप न्यौपाने

न्यौपाने नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?