Comments Add Comment

कोरोना संकट व्यवस्थापनमा सहयोग गर्न कर्णालीका मुख्यमन्त्रीको अपिल

२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड-१९)को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरू फिर्ता भएसँगै कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमण बढेको बताउँदै सहयोगको लागि अपिल गरेका हुन् ।

भारतबाट फर्किनेहरूको संख्या ३५ हजार पुगेको बताउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताए ।

कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरूमा रोजगारीको लागि गएको बताउँदै मुख्यमन्त्री शाहीले अझै पनि एक लाखभन्दा बढी नागरिक कर्णाली फर्किने अनुमान रहेको बताए ।

ठूलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरूबाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परीक्षण गर्न सकिने बताउँदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरूलाई कोभिड-१९को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिन र आइसोलेसन व्यवस्था, पीसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गरे ।

कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड-१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्किनु परेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अतिगरिबीको रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टिनमा रहनुपर्ने १४ दिनसम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी दिइन् ।

विकास साझेदार संस्थाहरूसँगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू र संयुक्त राष्ट्र संघीय निकायका नेपाल प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment