८ असार, दाङ । दाङमा एक जना जनप्रतिनिधिसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २८५ र घोराही उपमहानगरपालिकामा १ सय ४७ पुगेको छ ।
सोमबार देखिएका नयाँ संक्रमितहरु सबै घोराही उपमहानगरपालिकाका हुन् । जनप्रतिनिधि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष हुन् भने अन्य १२ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ वर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० वर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ वर्षका एक महिलासहित ५ पुरुष र वडा नम्बर ५ का ३१ वर्षका एक पुरुषमा कोरोना देखिएको हो ।
उनीहरुको गत २४ जेठमा स्वाब संकलन गरिएको थियो । घोराही उपमहानगरको मावि बुका र आधारभूत विद्यालय भैंसकुरबाट उनीहरुको स्वाबको नमूना संकलन गरिएको थियो ।