+

राखेप सदस्य सचिव पदमा २७ जनाको आवेदन

२०७७ साउन  १ गते १८:१४ २०७७ साउन १ गते १८:१४
राखेप सदस्य सचिव पदमा २७ जनाको आवेदन

१ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा २७ जनाले आवेदन दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले बनाएको सदस्य सचिव सिफारिस समितिले तोकेको म्याद बिहीबारसम्म २७ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालदेखि खेल क्षेत्रका विभिन्न व्यक्तिहरु रहेका छन् ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालिन सदस्य सचिव सिलवाल र अरु पदाधिकारीहरु स्वतः पदमुक्त भएका थिए । त्यसपछि नयाँ सदस्य सचिव चयनका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनेको थियो ।

गत वर्ष चार कार्यकालका लागि राखेप सदस्य सचिव बनेका रमेश सिलवाल नयाँ ऐन लागु भएपछि एक वर्ष कार्यकाल पूरा हुन नपाउदै पदमुक्त भएका थिए । खेलकुद क्षेत्रमा अब उनले उक्त पदमा दोहोरिनको लागि दरखास्त दिन्छन् कि दिँदैनन् भन्ने चासो थियो । तर उनले एक दिनअघि मात्र १० नम्बरमा आफ्नो नाम दर्ता गराएका थिए ।

गत वर्ष राजनीतिक नियुक्तिका रुपमा सदस्य सचिव बनेका सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनी फेरि दोहोरिने सम्भावना रहेको खेलकुद क्षेत्रका जानकारहरु बताउँछन् ।

सुरुमा सिलवालले दरखास्त हालेर जागिर खान नजाने अभिव्यक्ति दिए पनि अन्तत: उनले सदस्य सचिव पदका लागि आवेदन दिएका हुन् ।

यसैगरी नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका कास्कीका तेजबहादुर गुरुङले पनि बिहीवार आवेदन दिएका छन् ।

यस्तै महिलातर्फ पहिलो पुस्ताका भलिबल खेलाडी निलम बज्राचार्य, राष्ट्रिय टिमका पूर्व कप्तान अन्जु श्रेष्ठ र सुनसरीकी मिना श्रेष्ठले आवेदन दिएका छन् । तत्कालिन नेकपा एमालेको युवा तथा खेलकुद विभागकी सदस्य उनी हाल नेकपाको खेलकुद महासंघको सदस्य छिन् ।

नयाँ ऐन अनुसार महिलाहरुको लागि अवसर आएको र आगामी दिनमा नयाँ आउने महिला खेलकर्मीलाई पनि प्रोत्साहन हुने र उदाहरण हुने भन्दै दाबेदारी दिएको निलम र अन्जुले बताइन् ।

यस्तै खेलकुद विज्ञानमा विज्ञता हासिल गरेका अत्युतम लामिछानेले पनि सदस्य सचिव पदमा उमेदवारी दिएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको अध्यक्ष अत्युत खनालले पनि दाबेदारी दिएका छन् । राजनीतिशास्त्र तथा समाजशास्त्रमा स्नात्तोकर गरेका खनाल हाल फ्रान्सस्थित एसीएमए फ्रान्सका लागि नेपालका आवासीय राष्ट्रिय निर्देशक रहेका छन् भने झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको केन्द्रीय सचिवका रुपमा समेत छन् ।

यसैगरी शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय स्तरमा निर्णायक भूमिका निर्वाह गरिसकेका रोशन महर्जनले पनि आवेदन दिएका छन् ।महर्जन सूचना प्रविधि क्षेत्रमा पनि दख्खल राख्ने व्यक्ति हुन् ।

केही समयअघि मात्र राष्ट्रिय टेबल टेनिस केन्द्र लैनचौउरको जिम्मेवारी पाएका सुदिल शाहीले पनि सदस्य सचिवमा दाबेदार दिएका छन् । सुदिल यसअघि सिलवाल सदस्य सचिव हुँदा पनि सदस्य सचिव बन्ने दौडमा थिए । उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका टेबलटेनिस प्रशिक्षक समेत हुन् ।

यसैगरी राखेपका कर्मचारी शिवराज भट्टले पनि सदस्य सचिव पदमा दाबेदारी दिएका छन् । भट्टले खुल्ला प्रतिस्पर्धा भएकोले आफ्नो योग्यता अनुसार सदस्य सचिवमा दाबेदारी दिएको बताए । उनले त्रिभुवन विश्वविद्यालयका फिजिकल साइन्समा स्नातकोत्तर गरेका छन् भने पञ्जाव युनिभर्सिटीबाट पिएचडी गरेको र त्यसको प्रमाणपत्र मात्र आउन बाँकी रहेको बताए । आफूले राखेपभित्रको सबै विषयको बारेमा थाहा भएको र उक्त पदमा आए खेलकुद रिसर्च र परतिभा पहिचानको क्षेत्रमा काम गर्ने बताए ।

नेपाली पुलिसका पूर्व एआईजी तथा नेपाल सुटिङ स्पोर्ट्स एसोसिएसनका महासचिव रणबहादुर चन्दले पनि सदस्य सचिव पदमा दाबेदारी दिएका छन् । खुल्ला प्रतिस्पर्धा र योग्यताका आधार रहेकोले निवदेन दिएको चन्दले बताए ।

यसबाहेक अनिल अधिकारी, हर्क बहादुर राई, लिल बहादुर थापा मगर, रवि राजकर्णिकार, मेघराज पौडेल, रामेश्वर श्रेष्ठ, मनबहादुर गुरुङ, विजय कुमार राई, सानुराज केसी, किशोर शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, दिपेन्द्र ढकालले पनि सदस्य सचिवमा आवेदन दिएका छन्।

आवेदन दिएकामध्येबाट सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद बैठकले सदस्य सचिव नियुक्त गर्नेछ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय